आइची–नागोया एसियाडमा नेपालको प्रतिस्पर्धा जारी । "चीन र जापान शीर्षमा "
"चीन र जापान शीर्षमा "

भवानी भट्ट, टोकियो ।
नागोया । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपाली टोलीको प्रतिस्पर्धा जारी छ। २१ खेलमा १३५ खेलाडीसहित सहभागी नेपालले आइतबार भलिबल, टेबल टेनिस, कराँते र उसूमा प्रतिस्पर्धा गरे पनि पदक जित्न सकेन।
महिला भलिबलमा नेपालले वर्गीकरण चरणमा किर्गिस्तानलाई ३–० ले पराजित गर्यो। नेपालले २५–२०, २५–१६ र २५–२० को सोझो सेटमा जित निकाल्यो। अब नेपालले सोमबार हङकङसँग ९ देखि १४औँ स्थानका लागि खेल्नेछ।
टेबल टेनिसको महिला टोली स्पर्धामा नेपाल चीनसँग ३–० ले पराजित भयो। नेपालका नबिता श्रेष्ठ, इभाना थापा र बियान्का राईले प्रतिस्पर्धा गरेका थिए।
कराँतेमा नेपालको पदक आशा पनि पूरा हुन सकेन। महिला ६८ केजीमाथि कुमितेमा एरिका गुरुङ सेमिफाइनलमा काजाकिस्तानकी साफिया बेरुल्त्सेभासँग २–१ ले पराजित भइन्। कांस्य पदकका लागि भएको खेलमा उनी साउदी अरेबियाकी दिना अहमदसँग ८–७ ले पराजित भइन्।
पुरुष ५५ केजीमुनि कुमितेमा राकेश मानन्धर सेमिफाइनलमा उज्बेकिस्तानका खेलाडीसँग ७–० ले पराजित भए। कांस्यका लागि भएको खेलमा उनी मलेसियाका कालियाना सुन्दरमसँग ९–१ ले पराजित भए। पुरुष ६० केजीमुनि मीनबहादुर तामाङ सेमिफाइनलमा कुवेतका अब्दुल्लाह साबानसँग १०–० ले रोकिए भने कांस्य पदकको खेलमा साउदी अरेबियाका अल्बाशेर साउद अब्दुलअजिजसँग २–० ले पराजित भए।
कराँतेकै महिला व्यक्तिगत कातामा सानुमाया थिङ दक्षिण कोरियाकी हायउन चोइसँग ५–० ले पराजित हुँदै अन्तिम १६ बाट बाहिरिइन्।उसूको पुरुष छाङछ्वानमा विजय सिञ्जाली पनि पहिलो चरणबाटै बाहिरिए। उनी २१ खेलाडीमध्ये १९औँ स्थानमा रहे।
पहिलो दुई दिन पदकविहीन रहे पनि नेपालको एसियाड यात्रा जारी छ। आगामी दिनमा बक्सिङ, तेक्वान्दो, कबड्डी, जुडो र क्रिकेटलगायत खेलमा नेपालको प्रतिस्पर्धा हुनेछ।

पुरुष क्रिकेटमा नेपालले सेप्टेम्बर २५ मा अफगानिस्तान र सेप्टेम्बर २६ मा आयोजक जापानसँग समूह चरणमा खेल्नेछ। उता एसियाडको पदक प्रतिस्पर्धामा चीन अग्रस्थानमा छ भने आयोजक जापान दोस्रो स्थानमा छ।
समग्र पदक तालिका
१. चीन — स्वर्ण ११, रजत ६, कांस्य ३ — जम्मा २०
२. जापान — स्वर्ण ६, रजत ६, कांस्य ७ — जम्मा १९
३. दक्षिण कोरिया — स्वर्ण ३, रजत ३, कांस्य ७ — जम्मा १३
४. काजाकिस्तान — स्वर्ण ३, रजत ०, कांस्य २ — जम्मा ५
५. थाइल्यान्ड — स्वर्ण ३, रजत ०, कांस्य ० — जम्मा ३
६. म्यानमार — स्वर्ण १, रजत १, कांस्य १ — जम्मा ३
७. मकाउ — स्वर्ण १, रजत १, कांस्य ० — जम्मा २
८. कुवेत — स्वर्ण १, रजत ०, कांस्य १ — जम्मा २
९. चिनियाँ ताइपेई — स्वर्ण ०, रजत २, कांस्य १ — जम्मा ३
१०. भारत — स्वर्ण ०, रजत २, कांस्य ० — जम्मा २ नेपाल — स्वर्ण ०, रजत ०, कांस्य ० — जम्मा ०
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया