हल्दिबारीमा हावाहुरी : पाँच घर तथा विद्यालयमा क्षति
खेम राज खनाल, झारा १४ चैत । गएराति आएको हावाहुरी र वर्षासहितको मौसमले हल्दिबारी गाउँपालिका–१ गोलधापस्थित रामजानकी टोलमा व्यापक क्षति पुर्याएको छ।
स्थानीयका अनुसार हावाहुरीले पाँचवटा घर तथा एक विद्यालय भवनमा क्षति पुर्याउँदा करिब ५ लाख ७० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।
५० वर्षीय यामबहादुर भुजेलको टिनको छानो र बासको बेराले बनेको भुइँ घर पूर्णरूपमा ढलेर करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, राजकुमार सुहाङ लिम्बूको समान प्रकृतिको घर पूर्णरूपमा क्षति हुँदा १ लाख ५० हजार रुपैयाँ बराबरको नोक्सानी भएको जनाइएको छ।
यसैगरी, श्री गरमकाली आधारभूत विद्यालयको दुईतले पक्की भवनको टिनको छानो उडाउँदा करिब १ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।
जीवन राईको बासको बेराले बनेको टिन छानो भएको भुइँ घर पूर्णरूपमा क्षति हुँदा ७० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ भने कमला कुमारी लिम्बूको घर पनि पूर्णरूपमा क्षति भई १ लाख ५० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।
हावाहुरीबाट प्रभावित परिवारहरू अहिले अस्थायी बसोबासको खोजीमा रहेका छन्। स्थानीय निकाय तथा सम्बन्धित निकायबाट क्षतिको विवरण संकलन तथा राहत व्यवस्थापनको पहल भइरहेको जनाइएको छ।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया