सञ्चार विधेयकविरुद्ध आन्दोलनरत पत्रकारद्वारा विराटनगरमा प्रदर्शन
विराटनगर १२ भाद्र । विधायक समितिबाट पास गरी कोशी प्रदेशसभामा पेश भएको आमसञ्चार विधेयकविरुद्ध कोशी प्रदेशका पत्रकारहरु आन्दोलित भएका छन् ।

नेपाल पत्रकार महासंघ कोशीको आह्वानमा पत्रकारहरुले आज बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएका छन् । पत्रकारहरुले विभिन्न नारा लेखेको प्लेकार्डसहित मुख्यमन्त्री कार्यालय अगाडिबाट प्रदर्शन गर्दै रोडशेष चोकमा एक घण्टा धर्ना दिए ।

प्रदर्शनकारी पत्रकारहरूले स्वतन्त्र पत्रकारिता माथि अंकुश लगाउने गरी ल्याइएको संचार विधेयक फिर्ता लिन माग गरेका छन् । उनीहरूले मुख्यमन्त्री कार्यालय अगाडि नारा जुलुस सहित विरोध जनाएपछि विराटनगरको प्रमुख चोक रोडशेषमा धर्ना दिएका थिए ।

महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले उक्त विधेयकले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर चोट पु¥याउने खतरा औंल्याए । ‘हामीले यसअघि नै विधेयकमा रहेका प्रेसविरोधी प्रावधान संशोधन गर्न स्पष्ट सुझाव दिएका थियौं,’ अध्यक्ष खड्काले भने, ‘तर ती सुझाव बेवास्ता गर्दै सरकारले विधेयकलाई अघि बढाएको छ ।’ उनले विधेयकमा पत्रकारमाथि फौजदारी कारबाही गर्ने प्रावधान राखेर सरकार प्रतिगमनको बाटोमा लागेको आरोप लगाए।
विवादास्पद संचार विधेयक कोशी प्रदेश सभाको न्याय, प्रशासन तथा विधायन समितिबाट दफावार छलफलपछि पारित भई अब संसदमा पेस हुने चरणमा पुगेको छ । समितिले पत्रकारलाई लक्षित गर्दै फौजदारी कारबाही गर्न सकिने प्रावधानसहितको प्रतिवेदन संसदमा पेस गरेपछि पत्रकार समुदाय आक्रोशित बनेको हो ।
महासंघका अनुसार उक्त विधेयकले समाचार प्रकाशन वा प्रशारणको आधारमा पत्रकारलाई सजायको भागीदार बनाउने कानुनी व्यवस्था गरेको छ । यस्तो कानुनी व्यवस्था प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संविधान र सर्वोच्च अदालतका निर्णयहरूसँग समेत बाझिने भन्दै महासंघले विरोध जनाएको छ ।
नेपाल पत्रकार महासंघले संचार विधेयकविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको छ । यही सन्दर्भमा बुधबार कोशी प्रदेश सभाका सम्पूर्ण सदस्यहरूलाई एसएमएसमार्फत विधेयक संशोधन गर्न माग गरिएको थियो ।
महासंघले प्रदेश सरकार र सांसदहरूलाई विधेयकको खतरनाक असरबारे सचेत गराउँदै पटकपटक पत्राचार र संवादको पहल गरेको भए पनि प्रभावकारी सुनुवाइ नभएको गुनासो गरेको छ ।
नेपाल पत्रकार महासंघले यो विधेयकलाई प्रेस स्वतन्त्रताको आधारभूत मूल्यहरूमाथिको हस्तक्षेपको रुपमा लिएको छ । महासंघको केन्द्रीय नेतृत्वले समेत उक्त विधेयकको खारेजीको माग गर्दै राष्ट्रव्यापी आन्दोलनको संकेत गरिसकेको छ । ‘यदि यो विधेयक यस्तै रूपमै पारित भयो भने पत्रकारिता अपराध ठहरिनेछ, र त्यो संविधान र लोकतन्त्र दुबैको घोर अपमान हुनेछ,’ अध्यक्ष खड्काले भने ।
प्रदर्शनमा प्रेस युनियका पूर्वकेन्द्रीय उपाध्यक्ष शेखर रेग्मी, पत्रकार महासंघ कोशीका सल्लाहकार लीलावल्लभ घिमिरे, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, मोरङ अध्यक्ष वेदराज पौडेल, प्रेस चौतारी कोशी अध्यक्ष सुमन पुरी, समाजवादी प्रेस संगठनका अध्यक्ष बन्धु पोखरेल, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम कोशीका महासचिव गोकुल पराजुली, संसदीय पत्रकार मञ्चका अध्यक्ष कुमार लुइँटेल, फोनिजका उपाध्यक्ष अर्जुन कुलुङलगायत महासंघसहित विभिन्न संगठनका जिल्ला, प्रदेश र केन्द्रीयस्तरका नेताहरुको सहभागिता रहेको थियो ।
महासंघकी महासचिव हिमा चेम्जोङका अनुसार बिहीबार कोशी प्रदेशका १४ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया