सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पुरिएको मलेसियामै सुनेँ, होस आउँदा अस्पतालमा थिएँ

जाजरकोट, कार्तिक १८ । भेरी नगरपालिका–१ कोलचौर जाजरकोटका ४० वर्षीय उदय कामी भन्छन्, ‘जिन्दगीदेखि नै निराश छु।’ उनको शरीर थकित देखिन्छ। न भोक छ, न निन्द्रा नै। गत कात्तिक १७ गते मध्यरातमा आएको भूकम्पले उनको परिवार तहसनहस बनाइदियो। तीन छोराछोरी र श्रीमती गुमाउन पुगे। वैदेशिक रोजगारीमा आफू मलेसिला रहेकाले भूकम्पको झट्कामा परेनन्। तर, भूकम्पमा परी मृत्यु भएकी प्राणप्यारी श्रीमती र छोराछोरीको मुख हेर्न पनि तीन दिनपछि मात्र पाएँ। उनकै आग्रहअनुसार बचेका परिवारका सदस्य शव राखेर कुरेर बसे। उनी आएपछि सोमबार मात्रै अन्त्येष्टि गरियो। उदयसँग जाजरकोटस्थित अन्नपूर्णकर्मी राजेन्द्र कार्कीले गरेको कुराकानी :

विदेशमा हुनुहुन्थ्यो घटनाबारे कतिबेला थाहा पाउनुभयो ?

हामी गाउँका ७ जना एउटै कम्पनीमा काम गर्छौं। सबै एउटै कोठामा सुतेका थियौं। बिहान पौने ३ बजे एक्कासि छिमेकी भाइ वीरबहादुरको फोनमा घण्टी बज्यो। उसको श्रीमतीले गरेको रहेछ। म उसको नजिकै सुतेकाले पनि आवाजबाटै चिनिहालेँ। पूरै आत्तिएको स्वरमा उनले एकोहोरो भनिरहेकी थिइन्। ‘ठूलो भूकम्प गयो। हाम्रो घर केही भएको छैन। हामी सबै परिवार सकुशल छौं। अहिले बाहिर खुला ठाउँमा बसेका छौं। तर, माथिल्लो घरका उदय दाइको घर भत्कियो। के–के भयो केही थाहा हुन सकेको छैन। कराइरहेको आवाज सुनेकी छु। के हुन्छ पछि खबर गरौंला’ भनिन्। भाइ वीरबहादुरले सुरक्षित भएर बस्नु। दाइको घरमा के भएको रहेछ खबर गर्नु भनेर फोन राखिदिए।

उनीहरूको फोन संवादपछि मेरो मन चिसो भयो। केही सोच्नै सकिन निकै आत्तिएँ। श्रीमतीको मोबाइलमा फोन गरे फोन लागेन। झन् मन आत्तियो। एकछिन पछि फेरि वीरबहादुरले श्रीमतीलाई फोन गरे। हल्लाखल्ला फोनमै सुन्निएको थियो। ती बहिनीले उदय दाइको घरमा सुतेका ९ जनामध्ये आमा, बहिनीको छोरा र भाइको छोरीलाई जीवितै उद्धार गरेको सुनाइन्। झन् मन आत्तियो। त्यतिबेलै मेरी आमाले नानी उदयबाबुलाई अहिले केही नभन, उता केही नसुनाउ, आत्तिएला भन्नुभएको कुरा मेरो कानमा परी हाल्यो त्यसपछि त म छाँगाबाट खसे झै भएँ। पक्का मेरो सबै परिवार पुरियो भन्ने लाग्यो। ती बहिनीले उद्धार हुँदैछ भनेपछि घर भत्किए पनि कहिले काठको मुनि परे जीवितै पो छन् कि भनेर अलिअली आशा पनि पलायो।

केही समयपछि मानिसहरू मृत्यु भएका र घरहरू भत्किएका क्षतविक्षत भएका भिडियो, फोटाहरू सामाजिक सञ्जालमा आउन थाल्यो। समय उज्यालो हुनै थालेको थियो। तर, मन भने अँध्यारिँदै गएको थियो। मलेसियाको बिहान करिब ७ बजे नेपालको राति ३ बजेतिर ती बहिनीले ‘उदय दाइको सबै परिवारसहित ६ जनाकै ज्यान गयो। आर्मीले सबै शव भर्खर निकाल्यो यहाँ त बिजोग छ’ भनेर भनेको याद छ त्यसपछि म बेहोस भए छु। होस खुलेपछि अस्पतालको बेडमा पाएँ। निकै पीडाबोध भयो। तत्काल घर जान पाए हुन्थ्यो भन्ने लाग्यो। तत्काल म काम गर्ने कम्पनीमा घटनाबारे जानकारी गराउँदै नेपाल फर्किन चाहेको अवगत गराए। घरमा पनि म नआउँदासम्म अन्येष्टि नगर्नु र नबुझ्नु भने।

नेपाल आउने प्रक्रिया कसरी थाल्नुभयो ?

कम्पनीको सुपरभाइजरलाई घटनामा आफ्नो परिवारमा भएको क्षति, फोटा र नेपाल फर्किने व्यवस्था मिलाई दिन भनेर ह्वाटसप (ह्वाट्सएप) गरिदिए। तर, शनिबार र आइतबार कम्पनीको कार्यालय बन्द हुने भएकाले खासै वास्ता गरेन्। मलाई भने छटपटी भइरह्यो। मरेकै भए पनि मेरो परिवारको मुख कतिबेला हेरौं भन्ने भइरहयो। मेरो भोक र निन्द्रा सबै हरायो।

भौतिक शरीर मलेसिया भएपछि मनमस्तिष्क सबै घरतिरै थियो। एकै चिहान भएका ती मेरा कलिला मुना सामाजिक सञ्जालमा छरप्रष्ट भएका थिए। म पहिलोपटक यति धेरै रोएँ। मेरो मनका बह केही हदसम्म ती आँसु भएर बगिरहे। दुई दिनसम्म केही नखाएर नसुतेरै बिते।

श्रीमतीसहित ४ लालाबाला गुमाएपछि पारलौकिक कर्ममा बसेका भेरी नगरपालिका–१ कोलचौर जाजरकोटका ४० वर्षीय उदय कामी। तस्बिर : राजेन्द्र कार्की

 

धेरै अनुनय विनय गरेपछि आइतबार बेलुकाको टिकटको व्यवस्था कम्पनीले मिलाई दियो। काठमाडौं आएँ। काठमाडौंबाट नेपालगञ्जको टिकट एक जना धादिङबेँसी निवासी लेकबहादुर श्रेष्ठले काटिदिनुभयो। मलेसियामा रहेका केही साथीभाइले थोरै रकम संकलन गरेर घर पुग्ने व्यवस्था मिलाई दिए। सोमबार बिहान नेपालगञ्ज आएर त्यही दिन घर पुगेँ। त्यही दिन म घर पुग्नुभन्दा अलि अगाडि नै माइलो भाइले अस्पतालबाट ५ वटा लास बुझेर ल्याएछ।

घरमा पुग्दा कस्तो वातावरण थियो ?

अरू बेला घर फर्कँदा ब्यग्लै खुसी हुन्थ्यो मेरो मन। तर, यसपटक त घर पुग्नु मेरो बाध्यता थियो। रुँदारुँदा थकित थिए मेरा आँखाहरू। मेरो ऊर्जाविहीन शरीर थियो। म भत्किएको घरमा पुग्दा आँगनमा सबै गाउँलेहरू जम्मा भएका थिए। आँगनमा ५ वटा शव लाइन लगाएर राखिएको थियो। सेतो कपडाले बेरेर राखेको श्रीमतीको अनुहार हेरेँ टाउकोमा गहिरो चोट लागेको रहेछ। ‘जानुका मलाई एक्लै छोडेर किन गयौ’ भने रोएँ…(गला अवरुद्ध हुन्छ)।

भर्खर लाउँलाउँ खाउँ खाउँ भन्ने उमेरका कलिला मेरा मुनाको बीभत्स लास देखे। मन निकै दुखित भयो। भविश्य शून्य छ। मेलै केही सोच्नै सकिरहेको छैन। गाउँलेले सम्झाए। त्यसै दिन दाह संस्कार गर्‍यांै। श्रीमती र जेठी छोरीलाई अलग–अलग दागबत्ती दिएर अन्तिम संस्कार गर्‍यौं। अरू साना तीन जना बच्चालाई माटोमा गाडेर आयौं। के गर्ने दैवको लिला यस्तै रहेछ। जस्तोसुकै पीडा भए पनि सहनुको विकल्प नहँुदो रहेछ। मलाई कति पीडा छ म शब्दमा कसरी भनूँ….  (उनको गलाअवरुद्ध भयो। आँखाबाट आँसु झर्न थाले।)

श्रीमतीसँगको अन्तिम कुराकानी कहिले भएको थियो ?

मेरो जहान (परिवार) सँग शुक्रबार घटना भएकै दिन दिउँसो कुरा भएको थियो। घरमा डाटाले काम नगरेर नेट नचलेपछि छिमेकी बहिनीको मोबाइलमा सिम हालेर तल्लो घरमा गएर भिडियो कल गरेकी थिइन् दिउँसो १२ बजेतिर। सुख, दुःखका कुरा सञ्चो बिसन्चोका कुरा भए। नजिकै आउँदै गरेको तिहारका कुरा भए।

यसपालि दसैंमा पनि आउन नपाएको र मन हुँदाहुँदै पनि तिहारमा पनि आउन नपाइने बताएँ। श्रीमतीले भनिन्, ‘जाँदाखेरी लिएको साहूको ऋण तिर्न सकेका छैनौं। ठीकै छ म केटाकेटी सम्हाली हाल्छु केही चिन्ता नमान्नु बरु तिहार खर्च पठाइदिनु।’

मैले अर्कोदिन पठाइदिउँला भनेर आवश्वस्त पारेँ। बीचको कोठा कच्ची छ त्यहाँ नसुत्नु बरु छेउकै कोठामा सुत्नु भने। त्यो कोठामा धान छन् चोरी हुनसक्छ त्यही सुत्छु केही हुँदैन उनले भनिन्। मैले कसरी त्यो कुरा भने मलाई नै थाहा छैन। त्यही रात त त्यो घटना भइहाल्यो।

 

कहिले विदेश जानुभएको हो ? 

पढ्न सकिनँ। पढाइ, लेखाइ नभएपछि १२ वर्षकै उमेरदेखि म कालापार (भारत) जान थालेका हुँ। बुवा जानुहुन्थ्यो। उहाँ सँगै गएँ। जम्मु कस्मिर, कारगिल क्षेत्रमा ४ वर्ष जति बसे। तीन वर्ष काम गरेर ठेकेदारले पैसा नदिएर ठगिदियो। एक वर्ष जति युद्ध क्षेत्रमा सेनाको रासन र गोलावारुद बोक्ने काम गर्‍यौं राम्रो कमाई भयो।

घर फर्केर विवाह गरे २०६५ सालमा। केही वर्ष घरमै बसे २०६७ सालमा जेठी छोरीको जन्म भयो। एक वर्षपछि मलेसिया गए। ३ वर्ष जति बसे। केमिकल मेडिकल स्टोरमा काम गर्नुपर्थ्यो। ८ लाख जति कमाएर ल्याए। घर थिएन। त्यही ८ लाखले घर बनाए। तर, अहिले त्यही घर काल बन्यो मेरो परिवारको। परिवारै उजाडियो।

एक वर्ष जति घरमा बसेर फेरि साउदी अरब गए। भनेअनुसार तलब नदिँदा कमाउन सकिन। कम्पनीले ठग्यो। २७ महिनामै नेपाल फर्किएँ। आउने जाने खर्च तिर्न ठिक्क भो। अब गाउँमै बस्छु। विदेश जान्न भनेर ५ वर्ष जति बसे तर आयस्रोत केही भएन्। तीन छोराछोरी भए। पढ्न थाले। खाने पेट बढे। मन नहुँदा–नहुँदै पनि बाध्यताले फेरि गत वर्ष तिहार मानेर मलेसिया गए।

अहिले मलेसियाको बसाइँ र कमाइ कस्तो छ ?

यसपटक पनि त्यति राम्रो छैन। तर, पनि साहूको ऋण काडेर गएकाले छिट्टै फर्कन सकिन बाध्यताले बसिरहेको थिए। फ्रि भिसा फ्रि टिकट भने पनि जाँदा नै ४ लाख जति खर्च भयो। फेमस मेनपावरका लक्ष्मण पोखरेलमार्फत गएको हुँ। २२ सय रिङ्गेट दिने भनेर लिएको कम्पनीले १२९५ रिङ्गेट मात्र दियो डिफेन्स इन्टरप्राइजेज बीएचडी नामक कम्पनीमा काम गथ्र्यौं। यो कम्पनीमा कार्गोमा समान लोड अनलोडको काम गर्नुपर्थ्यो। खर्च कटाएर ८ सय रिङ्गेट मात्र बचत हुन्थ्यो।

बढी तलब भनेर कम तलब दिएको भन्दै हामी नेपालीले चार दिनसम्म आन्दोलन पनि गर्‍यौ। तर, पुराना नेपालीले सहयोग गरेनन्। त्यही भएको जागिरबाट पनि निकालिदेला भन्ने डरले सबैले उनीहरूले दिएकै तलब स्वीकार्न बाध्य भयौं। हामी मजदुरका कुरा दूतावासले पनि सुन्दैन। उनीहरूकै राज चल्ने गर्छ।

नेपाली कामदारलाई कस्तो व्यवहार गर्छन् कम्पनीहरूले ?

हामीलाई मान्छे नै गन्दैनन्। कुल्लीको रूपमा मात्र हेर्ने गर्छ। बहुत हेला र अपमान जनक व्यवहार गर्छन् तर पनि सहेर बस्नुपर्छ। १५/२० हजारको जागिर नेपालमै पाइने भए म विदेश जाँदैन्थे होला। म घरमै भएको भए जहान केटाकेटी जोगाउन पनि सक्थँे कि भन्ने पनि लाग्छ। यदि मरेकै भए पनि सबै परिवार सँगै मथ्र्याैं। अहिले म एक्लै बाँचेर पनि मरेतुल्य नै भएको छु … (फेर उनी भक्कानिए)

घटना त भयो अब तपाईं जस्ता भूकम्पपीडित परिवारलाई कस्तो किसिमको सहयोग आवश्यक छ ?

भूकम्पले म जस्तै धेरै परिवारलाई घरवारविहीन बनाइ दिएको छ। धेरैले आफन्त गुमाएका छन्। मानिसहरू घरमा बस्न सकिरहेका छैनन्। चिसो मौसम छ। धेरै परिवार त्रिपालमुनि बस्न बाध्य छन्। भत्किएका र चर्किएका घर फेरि बनाउनुपर्छ। कति दिन पालमुनि नै बस्ने ? पैसा हुनेले त घर बनाउलान्।

म जस्ता गरिब विदेश जाँदाकै ४ लाख रुपैयाँ ऋण तिर्न छ। त्यो कसरी तिरुँ ? कसरी घर बनाऊँ ? मर्न सकिँदैन। बाँच्नलाई पनि गाँस बास र कपासकै अभाव छ।

सरकारले भूकम्प प्रतिरोधी घर बनाएर पुनर्स्थापित गरे हामी जस्ता परिवार जो आफन्त गुमाएको वियोगमा छटपटाइरहेकाहरूको घाउमा मलहम पट्टी हुन्थ्यो कि भन्ने लाग्छ।

अन्रपुर्ण पाेस्ट बाट

  • २२ कार्तिक २०८०, बुधबार ०७:४८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    भक्तपुर औद्योगिक मेलामा तीन दिनमै २० हजार दर्शक
    अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ता प्रक्रिया जारी
    एक सय दिनमा मन्त्रालयले शतप्रतिशत कार्यसम्पादन गरेको छ : सञ्चारमन्त्री गुरुङ

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU