शारीरिक आकर्षण र जीवनशैलीभन्दा शान्ति र सन्तुलन महत्वपूर्ण

म बिहारको सानो जिल्ला सिवानको बासिन्दा हुँ भने मेरी श्रीमती उत्तर प्रदेशको राजधानी लखनउकी हुन्। म आफ्ना बुबाआमाको एक्लो छोरा हुँ। हाम्रो विवाह हुँदा सबै कुरा राम्रो थियो। विवाहअघि नै मैले श्रीमतीलाई मेरो जागिर प्रायः ठूला सहरहरूमा मात्र हुने कुरा स्पष्ट रूपमा बताएको थिएँ। उनले पनि यो कुरा स्वीकार गरेपछि हाम्रो विवाह धुमधामका साथ सम्पन्न भयो।
विवाह भएको केही महिनामै कोभिड–१९ लकडाउन लाग्यो र जीवनले नयाँ मोड लियो। सुरुका केही महिनासम्म कम्पनीले पूरा तलब दियो, तर पछि तलब आधा गरियो। बैंगलोरजस्तो महँगो सहरमा आधा तलबमा गुजारा गर्न कठिन हुन थाल्यो। केही समयपछि कम्पनीले सबै कर्मचारीलाई जागिरबाट निकालिदियो।
केही महिना बचतको भरमा जीवन चलायौँ, तर बचत पनि सकिएपछि हामी बाध्य भएर सिवानस्थित गाउँ फर्कियौँ। गाउँ फर्किएपछि मैले अनलाइन काम खोज्न थालेँ र एक राम्रो कम्पनीबाट वर्क फ्रम होम गर्ने अवसर पाएँ। यसले जीवनमा केही राहत ल्यायो। गाउँमा खर्च कम थियो र आम्दानी पनि सहज रूपमा भइरहेको थियो।
तर, जहाँ मलाई यो नयाँ परिस्थितिले सन्तुष्टि दिइरहेको थियो, त्यहीँ मेरी श्रीमतीलाई भने सानो सहरको जीवन मन पर्न छाड्यो। उनी बारम्बार भन्थिन्, “जब अहिले राम्रो कमाइ भइरहेको छ भने फेरि बैंगलोर किन नजाने ?”
मैले उनलाई सम्झाउने प्रयास गरेँ कि गाउँमा बस्दा हरेक महिना करिब ८० हजार रुपैयाँ बचत भइरहेको छ, जबकि बैंगलोरमा बस्दा हामी ऋणमा डुबिरहेका थियौँ। तर सुरुमा उनले यो कुरा बुझ्न सकिनन्।
यसैबीच उनकी कान्छी बहिनीको विवाह सम्पन्न भयो। बहिनीको विवाह सम्पन्न र सुविधासम्पन्न परिवारमा भएको थियो, जहाँ गाडी, नोकरचाकर र ठूलो सहरको आकर्षक जीवनशैली थियो। त्यसपछि श्रीमतीमा पनि त्यस्तै जीवनशैलीको चाहना बढ्न थाल्यो। यस विषयलाई लिएर हामीबीच दैनिकजसो विवाद हुन थाल्यो।
एक दिन मैले उनलाई शान्त रूपमा बसालेर सानो सहरमा बस्नुका फाइदाहरू सम्झाएँ।
१. बैंगलोरमा हुँदा बचत हुन सकेको थिएन, तर गाउँमा बस्दा एक वर्षमै ९ लाख रुपैयाँ बचत गर्न सफल भएका थियौँ।
२. बैंगलोरमा हुँदा उनी पटक–पटक स्वास्थ्य समस्याका कारण डाक्टरकहाँ जान्थिन्, तर गाउँमा आएपछि एक वर्षदेखि उनको स्वास्थ्य राम्रो रह्यो।
३. पहिले हामी प्रायः जंक फुड खान्थ्यौँ, अहिले भने घरको शुद्ध खाना खान थालेकाले स्वास्थ्यमा सुधार आएको थियो।
४. सहरका मलबाट किनिने तरकारीहरू प्रायः पुराना र रसायन प्रयोग गरिएका हुन्थे, तर गाउँमा हरेक दिन ताजा र सस्ता तरकारी सहजै पाइन्थे।
५. चाहियो भने गाडी नगदमा किन्ने क्षमता भए पनि अनावश्यक खर्च गर्नु उचित नहुने निर्णय गरेका थियौँ।
६. ठूलो सहरको आकर्षक जीवनशैलीले बाहिरबाट राम्रो देखिए पनि त्यसले मानसिक शान्ति र स्वास्थ्यमा असर पारिरहेको थियो। गाउँमा भने कम तनाव र स्वस्थ वातावरणमा जीवन बिताइरहेका थियौँ।
मैले उनलाई भनेँ, “आज हामीसँग भविष्यमा आउने जुनसुकै समस्याको सामना गर्न सक्ने आर्थिक सुरक्षा छ।” मेरा कुरा सुनेपछि उनले पनि विस्तारै वास्तविकता बुझ्न थालिन्।
आज हाम्रो जीवन शान्तिपूर्ण र समझदारीपूर्ण रूपमा अघि बढिरहेको छ। हाम्रो तीन वर्षको छोरा छ। हामीले उसलाई दश कक्षासम्म गाउँमै पढाउने र त्यसपछि आवश्यक परे उच्च शिक्षाका लागि ठूलो सहर पठाउने निर्णय गरेका छौँ।
अहिले मेरी श्रीमती पनि खुसी छिन् र सहर फर्किने जिद्द छाडिसकेकी छन्। म यो नयाँ जीवनबाट निकै सन्तुष्ट छु। सायद उनले पनि बुझिसकेकी छन् कि वास्तविक सुख विलासी जीवनशैलीमा होइन, शान्ति, सन्तुलन र पारिवारिक सुखमा निहित हुन्छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया