२७ वर्षीया श्रीमतिको श्रीमानले हत्या गरे ।
दाङ तुलसीपुर–१९ दोघर्रे निवासी ३४ वर्षीय गोपाल वलीले २७ वर्षीयाआफ्नी श्रीमती कमला वलीको हत्या गरेको प्रहरीले जनाएको छ । उक्त घटनाले समाजलाई स्तब्ध बनाएको छ। गोपाल डिभिजन वन कार्यालय बिर्तामोडमा लेखा अधिकृतका रूपमा कार्यरत थिए। उनीहरूबीच २०७० सालमा मागी विवाह भएको थियो।
सुरुका वर्षहरूमा दम्पतीको सम्बन्ध सामान्य रहेको बताइन्छ। तर गोपालको जागिरका कारण उनीहरू अलग–अलग ठाउँमा बस्न थालेपछि सम्बन्धमा दूरी बढ्दै गयो। गोपाल बिर्तामोडमा बस्ने र श्रीमती दाङमै रहने हुँदा उनीहरूबीचको संवाद कम हुँदै गयो। समयसँगै आपसी विश्वास कमजोर हुँदै गएको र झगडा बढ्दै गएको गोपालको बयानमा उल्लेख छ।
गोपालले प्रहरीलाई दिएको बयान अनुसार घर आउँदा श्रीमतीसँग राम्रो सम्बन्ध नहुने, बोलचाल समेत बन्द हुने अवस्था आएको थियो। उनीहरूले एकअर्काको मोबाइल हेर्ने विषयमा समेत विवाद गर्ने गरेका थिए। परिवार र आफन्तलाई झगडा मिलाइदिन उनले पटक–पटक अनुरोध गरेको पनि बताएका छन्।
घटनाको दिन चैते दशैंको समयमा घरमा परिवार जम्मा भएको बेला सामान्य विवादले ठूलो रूप लिएको बताइन्छ। सोही क्रममा घरभित्रै झगडा हुँदा गोपालले चिर्पट प्रहार गरेका थिए, जसले गर्दा श्रीमती कमलाको मृ’त्यु भएको प्रहरी अनुसन्धानमा उल्लेख छ।
श्रीमतीका आफन्तले भने गोपालले पहिले नै सम्बन्ध विच्छेदको दबाब दिने र धम्की दिने गरेको आरोप लगाएका छन्। उनीहरूको भनाइ अनुसार आर्थिक र पारिवारिक तनाव पनि सम्बन्ध बिग्रिनुको कारण थियो।
घटनापछि गोपालसँगै उनका परिवारका अन्य तीन सदस्यलाई पनि अनुसन्धानमा तानिएको छ। जिल्ला अदालत दाङमा उनीहरूविरुद्ध जन्मकैदको मागसहित अभियोगपत्र दायर गरिएको छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया