प्रदेश सरकारको लगानीमा निमार्ण भएका ५ वटा कृषि हाटबजार मध्य १ मात्र सञ्चालनमा

लम्की / सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलाली जिल्लामा निर्माण भएका अधिकांस कृषि हाटबजार प्रयोगबिहीन अवस्थामा रहेका पाइएको छ । जिल्लाका विभिन्न पाँच स्थानमा आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारको एक करोड बढीको लगानीमा कृषि हाटबजार निर्माण भएका थिए । तर, टीकापुर कृषि हाट बजारबाहेक अन्य चार स्थानका हाटबजार भने अलपत्र अवस्थामा रहेका पाइएको छ ।
शनिबार ( आज ) प्रदेश सभा सार्वजनिक लेखा समितिले गरेको अनुगमनका क्रममा निमार्ण भएका उक्त कृषि हाटबजारहरू प्रयोगबिहीन अवस्थामा रहेको पाइएको हो । प्रदेश सभा सदस्यहरुसँगको छलफलका क्रमम स्थानीयले किसानको आवश्यकता र सुविधा भन्दा पनि राजनितिक कार्यकर्तामुखी योजनाहरु भएका कारण प्रयोगबिहीन बनेका गुनासो गरेका छन ।
स्थानीयले प्रायः सबै कृषि हाटबजार योजना गलत स्थानमा बनेको, प्रभावकारी अनुगमन नभएका र किसानको सुविधा भन्दा पनि कार्यकर्ताहरुलाई पोस्नको लागि बनेको आरोप समेत लगाएका छन । सुदूरपश्चिम प्रदेश सरकारले आगामी दिनमा यस्ता खालका योजनाहरु नबनाउन समेत स्थानीयले अनुगमन समितिलाई आग्रह गरेका छन ।
अनुगमन सार्वजनिक लेखा समितिका जेष्ठ सदस्य बिक्रमसिंह धामीको नेतृत्वमा भएको थियो । संसदीय अनुगमनमा प्रदेश सभा सदस्यहरु प्रकाश बहादुर देउवा, सन्तोष शर्मा थापा, अक्कल बहादुर रावल, बेल बहादुर राना, मधु भारती, गीता देवी माल र गीता चौधरी सहभागी भएका थिए ।
सार्वजनिक लेखा समितिको टोलीले जिल्लाको गौरिगंगा नगरपालिका–९ स्थित कृषि उपज संकलन, घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको कृषि बजार ब्यवस्थापन समिति, बर्दगोरिया–५, स्थित प्रगतिशील हाट बजार, लम्कीचुहा नगरपालिका–८, गोप्कास्थित हाटबजार तथा सांस्कृतिक संरक्षण समिति र टीकापुर नगरपालिका–१, स्थित कृषि बजार ब्यवस्थापन समितिको अनुगमन गरेको थियो ।
आर्थिक वर्ष २०७६÷०७७ मा हाटबजार सम्बन्धी सबै योजना उपभोक्ता समितिमार्फत निर्माण भएको बताइएको छ । प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा कृषि ज्ञान केन्द्रले उपाभोक्ता समितिमार्फत कृषि हाटबजारहरु निर्माण गरेको हो ।
सार्वजनिक लेखा समितिका अनुसार गौरीगगा नगरपालिकाको कृषि उपज समितिलाई १३ लाख बढी भुक्तानी भएको छ । त्यस्तै, सुखड कृषि बजार ब्यवस्थापन समितिले ४२ लाख ८३ हजार बढी भुक्तानी लिएको छ ।
बर्दगोरियाको प्रगतिशील हाट बजारलाई ६ लाख ५९ हजार र लम्कीचुहा नगरपालिका–८ को हाटबजार तथा साँस्कृतिक संरक्षण समितिलाई १३ लाख १८ हजार भुक्तानी भएको छ । टीकापुर नगरपालिका–१ को कृषि बजार व्यवस्थापन समितिलाई १३ लाख १८ हजार रुपैयाँ भुक्तानी भएको छ ।
कैलालीका पाँच स्थानमा कृषि हाटबजार निर्माणको लागि प्रदेश सरकारले २०७६/ ०७७ मा एक करोड ४ लाख ४१ हजार खर्च गरेको थियो ।
निर्माण भएका हाटबजारहरुमध्ये टीकापुरमा मात्रै साताको दुई दिन हाट बजार सञ्चालन हुने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया