प्रत्येक बुथमा कम्तीमा ३० जना यूथफोर्स राख्न ओलीको निर्देशन "अब सर्वोच्च संस्थाहरु जलाउने र बुथ कब्जा हुँदैन, किनकी युथफोर्स छ’ "
काठमाडौं ११ फागुन । नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्वर ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार केपी शर्मा ओलीले प्रत्येक बुथमा कम्तीमा पनि ३० जना नेसनल युथफोर्सका युवालाई खटाउन पार्टीका सबै नेतालाई निर्देशन दिएका छन्।
नेकपा एमालेले सोमबार झापा क्षेत्र नम्वर–५ मा आयोजना गरेको चुनावी सभामा ओलीले नेसनल युथफोर्सका सदस्यलाई प्रत्येक बुथको सुरक्षाका लागि भोलेन्टियर्स गठन गर्न निर्देशन दिएका हुन्।
ृउनले प्रत्येक टोलमा सुरक्षा समिति बनाउन पनि निर्देशन दिए। ओलीले जेनजी आन्दोलन हुँदा आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन नगरेकाले देशका सर्वोच्च संस्थाहरू जलेको बताए।
‘देश जल्यो । जल्दो रहेछ । एउटा मात्रै कारण हो हामीले नेशनल युथ फोर्स बनाएका थिएनौं। अब कहीँ केही जल्न पाउँदैन,’ ओलीले भने, ‘अब हामी कसैलाई पनि सिंहदरबार जलाउने छुट दिने छैनौं।’
उनले शान्ति सुरक्षा कायम गर्न, आतंककारी र अपराधिलाई रोक्नको लागि प्रहरीलाई सहयोग गर्न युथफोर्स गठन गरिएको बताए।
उनले युथफोर्सलाई लक्षित गर्दै भने ‘यो फोर्स एमालेको जनवर्गीय संगठन हो। यसले पार्टीका कार्यक्रम साकार पार्न काम गर्छ। यो चुनावका लागि गठन गरिएको फोर्स होइन । सधैंका लागि हो।’
उनले आगो लगाउने, भत्काउने, जलाउने, लुटपाट गर्नेलाई युथफोर्सले रोक्ने काम गर्ने बताउँदै एमाले देश बनाउने पार्टीको रुपमा अघि बढ्ने बताए।
एक अर्को प्रसंगमा ओलीले आफ्ना प्रतिष्पर्धी बालेन शाहप्रति संकेत गर्दै भने, ‘सानो बच्चालाई पनि तिमी के बन्छौ बाबु? भनेर सोध्यो भने राष्ट्रपति, प्रधानमन्त्री आदी भन्छ। तर उनले भन्नेवित्तिकै उ त्यो पदमा पुग्न सक्ने कुरै आउँदैन।’
नेशनल भोलिन्टियर फोर्सका संयोजक पुष्पराज श्रेष्ठले आफ्नो पार्टीको झण्डा जलाउने र तोड्ने काम भयो भने आफूहरू पनि चुप लागेर नबस्ने चेतावनी दिए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै एमालेको झण्डा श्रमजिवी वर्गको र आस्थाको झण्डा भएकाले यसलाई जलाउने र तोड्ने काम भयो र अझै पनि सच्चिएन भने देशभर युवा, भोलिन्टियर शक्ति परिचालित भएर तपाईंहरूलाई पनि चुनाव प्रचारका हरेक ठाउँमा रोक लगाउँछौं भनेर चेतावनी दिए।
उनले वर्तमान सरकार र प्रहरी प्रशासनले साना साना विषयमा पनि सुरक्षा दिन नसकेको भन्दै ध्यानाकर्षण गराए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया