जोगबुडा बन्यो सुदूरपश्चिमको चौथो प्रादेशिक अस्पताल
डडेल्डधुरा, जोगबुडा २४ पुष । डेल्धुराको परशुराम नगरपालिकामा रहेको जोगबुडा अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको छ । १५ शड्ढयाको अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले अब ५० शड्ढयामा सञ्चालन गर्दै छ । नगरपालिकाले भवनसहित अस्पतालको सम्पूर्ण सम्पत्तिको दायित्व प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. चेतराज जोशीले प्रादेशिक अस्पताल बनेसँगै मन्त्रालयले जनशक्ति व्यवस्थापनको तयारी अगाडि बढाएको बताए । स्वीकृत कर्मचारी दरबन्दीमा स्थायी पदपूर्ति नहुँदासम्म करारमा जनशक्ति राख्न लागिएको उनले जानकारी दिए । पूर्ण क्षमतामा प्रादेशिक अस्पताल सञ्चालमा आए त्यहाँका स्थानीयले गाउँमै विशेषज्ञसहितको उपचार सुविधा पाउनेछन् ।
‘एक–दुई दिनभित्रै मेसु पठाउँदै छौँ । मन्त्रालयले अस्पतालका लागि थप बजेट पनि निकासा गर्दै छ,’ डा. जोशीले भने, ‘करारमा कर्मचारी व्यवस्थापन गरेर सेवा विस्तार गर्दै जाने हो ।’ औपचारिक रूपमा प्रादेशिक अस्पताल भइसकेको र यसै वर्ष पूर्ण क्षमतामा अस्पताल सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । निर्वाचन आचारसंहिताका कारण करारमा जनशक्ति व्यवस्थापनमा उल्झन आए निर्वाचनलगत्तै गर्ने मन्त्रालयको योजना छ ।
सरकारले चालू वर्षको बजेटमार्फत कैलालीको लम्की र डडेल्धुराको जोगबुडा आधारभूत अस्पताललाई प्रादेशिक अस्पताल बनाउने घोषणा गरेको थियो । लम्की अस्पताललाई पनि प्रादेशिक अस्पताल बनाउने तयारी छ । प्रदेश सरकारले जोगबुडा अस्पतालको संगठन तथा व्यवस्थापन सर्भेक्षण यसअघि नै स्वीकृत गरिसकेको छ । त्यहाँ अब ११औँ तहका चिकित्सक अस्पताल प्रमुख रहनेछन् ।
त्यस्तै, नवौँ र दसौँ तहका १० जना चिकित्सकसहित १४६ जनाको दरबन्दी प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यो अस्पतालमा अहिले विशेषज्ञ उपचार सुविधा छैन । स्तरीय स्वास्थ्य उपचार सुविधाका लागि स्थानीय डुंगामा महाकाली नदी तरेर सीमावर्ती भारतीय बजार तथा कैलाली, कञ्चनपुरका अस्पताल पुग्नुपर्ने बाध्यता छ । परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले प्रादेशिक अस्पताल सञ्चालन भएसँगै उपचार सुविधामा ठुलो राहत पुग्ने बताए । उनले जतिसक्दो चाँडो जनशक्ति व्यवस्थापन गरेर विशेषज्ञ सेवा सुरु गर्न प्रदेशलाई आग्रह गरिएको बताए ।
सदरमुकाममा संघ सरकारअन्तर्गत केही विशेषज्ञ सुविधा भएको डडेल्धुरा अस्पताल सञ्चालनमा छ । तर, भित्री मधेश पर्ने परशुरामबाट भौगोलिक रूपमा त्यहाँ टाढा पर्छ । आधारभूत अस्पतालमा शल्यक्रिया सुविधा नभएकाले प्रसूतिका क्रममा शल्यक्रिया गर्नुपरेको अवस्थामा धनगढी पठाउने गरिएको छ ।
जोगबुडा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत चौथो प्रादेशिक अस्पताल हो । दातृनिकायको सहयोगबाट सञ्चालन हुँदै आएको अछामको बयलपाटा अस्पताललाई प्रदेशले गत भदौबाट प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिरहेको छ । मुलुक संघीय संरचनामा गएपछि गठन भएको प्रदेश सरकारले धनगढीस्थित सेती र कञ्चनपुरको महाकालीलाई प्रादेशिक अस्पतालका रूपमा लिएको थियो । सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्ला अस्पतालमा अहिले पनि आधारभूत तहको सुविधा छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया