अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।
काठमाडौं १२ पुष । संवत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय भएको छ। मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ।
प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३,३५८ पुरूष, ९२,५०,१३१ महिला र अन्य २०० गरी जम्मा १,८९,०३,६८९ मतदाता समावेश भएका छन्। सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइट www.election.gov.np मा प्रकाशनसमेत गरिएको छ।
वि. सं. २०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पुरुष ९१,४०,८०६, महिला ८८,४७,५७९ र अन्य १८५ गरी कुल मतदाताको संख्या १, ७९, ८८, ५७० रहेको थियो। वि. सं. २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको संख्या ९, १५, ११९ ले वृद्धि भएको छ भने पुरुष मतादाताको संख्या ५,२२,५५२, महिला मतदाताको संख्या ३,९२,५५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको छ।
यसैगरी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई मतदान गर्नका लागि देशभर १०,९६७ मतदान स्थलमा २३, ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। यो निर्वाचनमा वि. सं. २०७९ को कुल मतदान स्थलको संख्या भन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या ८८५ले वृद्धि भएको व्यहोरासमेत जानकारी गराइन्छ।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया