महिला हिंसा :महिला महिलाबाटै पीडित

यमुना साउद । धनगढी,३२ साउन । बैतडी जिल्लाको सुर्नया गाउँपालिका ५ मा बस्ने हिरा महरा घरपरिवारको आर्थिक अवस्था कमजोर भएपछि उनको १९ वर्षकै उमेरमा विवाह भयो । सानैमा आमाको मृत्यु र आर्थिक अवस्था कमजोर भएका कारण उनले पढ्न पाइन् ।
वरपरका छिमेकी दाइ भाइ पढ्न विद्यालय जाँदा उनी भने मेलापात जाने गर्थिन् । सबैलाई विद्यालय जान देख्दा उनी मनमनै रुन्थिन् , रुनु बाहेकको विकल्प पनि थिएन । उनी १९ वर्षकी भए पछि उनका बुवाले सामाजिक परम्परा अनुसार उनको विवाह गरिदिए ।
उनको लागि बिहे कुनै खुसीको क्षण बनेन , बिहे पछि पनि सासूबाट धेरै यातना भोग्नु पर्याे । बिहे नै एउटा दुःखको स्वरूपमा परिवर्तन भयो । बिहेपछि सुरुका केही दिनहरू सामान्य भए पनि पछि घरभित्रको वातावरण असहनै नसक्ने बन्न थाल्यो। विभिन्न बाहनामा सासू यातना दिई रहन्थिन् ।
“बिहे पछि केही दिन ठिकै थियो, ” हिरा भन्छिन् । “तर, एक दिन खाना खाने क्रममा सासूले मलाई सानो कुरामा दोष लगाउँदै तथानाम गाली गर्नु भयो । त्यो दिनको झगडाले नै सासूले कुटपिटमा समेत गरिन् ,खाना पनि राम्रोसँग खान दिईनन्। ”
सुरुमा गाली गलौचबाट सुरु भएको सासूको हिंसा शारीरिक , मानसिक हुँदै कुटपिट सम्म पुग्यो । “सासूले हातमा बाँसको लट्ठी लिएर मलाई कुटपिट गर्नुभयो,” हिरा भन्छिन् । “लट्ठी समेत भाँचिने गरेर शरीरमा निल डाम देखिने गरी कुटपिट गर्न थाल्नु भयो ।”
“एउटा दिन त सासूले चुल्होबाट तातो खरानी निकालेर हातमा हालिदिनुभयो,” हिरा भक्कानिँदै सम्झिन्छिन् । सासूका हरेक यातनाले उनको आत्मसम्मान र आत्मविश्वासमा गहिरो चोट पु¥याएको थियो । उनी दिन प्रतिदिन एकोहोरो सोच्न थालिन् । “तिमी केही गर्न नसक्ने,नपढेकी ,बुवा आमाको नाम लिएर गाली गरेका शब्दहरूले मेरो मनमा गहिरो चोट बनाएको छ,” हिरा भन्छिन् ।
उनीको जस्तै धेरै महिलाहरू पनि हिंसा भोग्न बाध्य छन् । जो परम्परागत समाजमा परम्परागत भूमिकाको कारण पीडित छन् । ग्रामीण क्षेत्रहरूमा, विशेष गरी सासू–बुहारीको सम्बन्धमा सासूको प्रभुत्व कायम गर्ने प्रयासहरू प्रचलित छन् । समाजको डरले आफ्नो पीडा अरूसँग बाँड्न नसक्दा स्थिति झनै गम्भीर बनेको उनले बताइन् ।
हिराले कयौँ पटक समाज र परिवारका अन्य सदस्यहरूसँग सहयोग माग्न प्रयास गरिन्, तर कसैले पनि उनको पीडा बुझ्ने सम्म कोसिस गरेनन् । उनकै श्रीमानले पनि हिराको पीडा नदेखेका होइन । तर आफ्नी आमाको डरले केही गर्न सकेनन् ।
यो अवस्थामा उनको लागि सहनुको बाहेक विकल्प केही थिएन । यति सम्म कि समाजमा बदनाम र आफू माथि थप यातना हुने डरले माइतीमा सम्म पनि यो कुरा सुनाउन सकिनन् ।
घरपरिवार भित्रैका महिलाबाट हिंसा सहने हिरा मात्रै एक होइनन् । कैलाली कि रेवतीको पीडा पनि हिराको भन्दा फरक छैन । विवाह गरेको सुरुमा सासूबाटै हिंसा भोग्छु भन्ने कुरा रेवतीको कल्पना भन्दा बाहिरको कुरा थियो । तर दुर्भाग्य अहिले यही यथार्थ सामना गरिरहेकी छन् ।
विवाह भएपछि सुख र खुसीका साथ नयाँ घरमा सुखद जीवन बिताउने चाहना थियो उनको । तर विवाहको केही समयपछि उनका आशा निराशामा परिणत भए । सासूले शारीरिक र मानसिक यातना दिएको सम्झँदै उनी भन्छिन्, “सुरुमा मलाई सासूको व्यवहार सामान्य नै लाग्यो । सोच्थेँ, हरेक परिवारमा सानोतिनो झगडा हुन्छ । तर, बिस्तारै अवस्था गम्भीर हुँदै गयो । सासूले साना साना कुरामा झगडा गर्न थालिन् ।”
सासूको यातनाले विक्षिप्त हुँदा सम्म श्रीमानको साथ नपाए पछि पटक पटक आत्महत्या गर्ने सोच बनाइन् उनले । तर सन्तानको मायाले उनलाई मृत्युबाट जोगायो । सासूको हिंसा उनी माथि यति हाबी भइरहेको थियो कि महिनावारी भएको बेला खाना सम्म नदिएको सम्झँदै रेवती भन्छिन्, “दिन भरि खेतबारीमा काम गर्नु पथ्र्याे , दिउँसो फेरि सासूले खाना दिदै नथिन् ,खाना मागे पछि तथानाम गाली गर्थिन् , महिनावारी भएको समयमा भान्सा छुन दिँदैनथे , दिन भर भोकै बस्नुको विकल्प थिएन ।”
आफू माथिको हिंसा सहन नसकेर उनी कानुनी उपचार खोज्ने रेवतीले पटक पटक प्रयास गरिन् तर उनी असफल भइन् । “कानुनी उपचार खोज्ने वातावरण थिएन , बारबार घरबाट निस्किन भनेर सासूले दबाब दिएकी थिइन् । , घरबाट निकालिएपछि म र मेरा छोरीहरू कहाँ जाने? के खाने? कसरी बाँच्ने? यही कुराहरूले गर्दा मैले कहिल्यै केही गर्न सकिनँ ।”उनी भन्छिन् ।
सन्तान नहुँदा थप पीडा
महिला घरेलु हिंसाको सिकार बन्नुको एक प्रमुख कारण सन्तान नहुनु पनि हो । कसैले सन्तानमा छोरी मात्रै पाएकोमा हिंसा भोग्छन् भने कसैले सन्तान नै नपाएकोमा । हिराले बिहे गरेको दुई वर्ष सम्म सन्तान नपाए पछि उनी माथि झन् हिंसा थपियो । सन्तानकै कारणले उनका दुःखका दिन झन् बल्झिए ।
ती दिन सम्झँदै उनी भन्छिन् “बिहे भएको दुई वर्षसम्म बच्चा भएन ,सबैले मलाई दोष दिन थाले । सन्तान नभएको कारण सासूले उनलाई विभिन्न बहानामा दोष दिन थालिन् । तिमीले हाम्रो घरको वंशलाई नास गर्ने भयौ, छोराको अर्को बिहे गर्छु ।” सासूले भन्नु हुन्थ्यो ।
साना सानामा कुरामा समेत आफूलाई शारीरिक यातना दिने गरेको उनी बत्ताउँछिन् । भन्छिन् “एक दिन मैले बिहानको पूजा गर्न ढिलो गरेँ, सासूले मलाई लट्ठीले हिर्काएर भुइँमा ढालिन् र कपाल लुछ्न थालिन् । घरको हरेक काममा मलाई नै दोष लगाउने गर्थिन् । तिमी त बच्चा पनि जन्माउन सक्दिनौ ,बाझी आइमाई भनेर गाउँलेहरूले अपमान गर्न थाले । ”
यति हुँदा पनि उनी सहेरै बसेकी थिइन । एक दिन सन्तान नभएको कारण सासूले घरबाट निकाल्दिइन् । घरबाट हिँडेर माइत जान हिँडेपछि उनका श्रीमानले फर्काए । घरमा आमा र श्रीमती सँगै बस्न सक्ने अवस्था नदेखेपछि उनका श्रीमानले धनगढीमा कोठा भाडामा लिएर बस्ने निर्णय गरे । अहिले उनी धनगढीमै कोठा लिएर बस्छिन् । अहिले साथमा दुई छोरा छन् । पछि श्रीमान विदेश गए । अहिले उनको परिवार खुसीसाथ चलिरहेको छ ।
हिरा जस्तै सन्तानका कारणले हिंसा भोगेकी रेवतीको कथा पनि अलि फरक छ । दुई छोरीलाई जन्म दिएपछि उनीमाथि हिंसा बढ्न थाल्यो । छोरा नजन्मेको भन्दै समाजका कुरा काट्न थालिसकेका बेला तेस्रो पनि छोरी जन्मिने पक्का भयो । त्यसपछि त सासूको यातना र समाजको दबाब उनी माथि झन् पर्न थाल्यो ।
धेरै आफन्तको सुझाव पेटमा रहेकी छोरीलाई फालिदेऊ भन्ने हुन्थ्यो । त्यो कुराले उनको मन झन् चस्किने गर्थ्यो । ती दिन सम्झँदै रेवती भन्छिन् “समाज र आफन्तले मलाई छोरीलाई फाल्न सुझाव दिए । यसले मलाई अझ ठुलो मानसिक पीडा भयो । छोरी जन्मेपछि त अपराधीको जस्तो व्यवहार गर्न थाले । मेरो स्थिति अझ कठिन भयो ।”
यो कुराले उनी विक्षिप्त बन्न थालिन् । उनी श्रीमानले पनि छोराको आस गरे भने के हुन्छ ? भन्ने चिन्ताले पिरोलिरहन्थी । हुन त उनका श्रीमानले यो आसा नराखेको पनि होइन । तर पछि छोराकै आसमा श्रीमानले अर्को विवाह गर्ने पो हुन कि ? भन्ने उनलाई ठुलो चिन्ता अहिले पनि छ ।
हिरा र रेवतीको घटनाले एकातिर पारिवारिक हिंसा र अर्को तिर सामाजिक पूर्वाग्रहको तस्बिर प्रस्ट देखाएको छ । छोरी जन्माउनुलाई समाजमा धेरैजसो नकारात्मक दृष्टिकोणले हेरिन्छ । झनै सन्तान नहुँदा भोग्न यातना अझै पिडादायक । यस्तो सामाजिक दबाब र सांस्कृतिक मान्यताले महिलालाई केवल शारीरिक मात्रै होइन, मानसिक रूपमा पनि थिच्छ । झन् पीडित बनाउँछ ।
समाजमा यस्ता हिंसा भोग्ने धेरै महिलाहरू छन् । उनीहरू खुलेरै न्यायको लागी बाहिर आउन सकेका छैन । न्यायको लागी बाहिर आउँदा थप यातना भोग्नुपर्ने भएकाले उनीहरू अन्याय सहन बाध्य छन् । घरपरिवारबाटै घरेलु हिंसा भोग्ने हिरा र रेवती प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै कयौँ महिला घरपरिवारका महिलाकै कारण पीडित छन् । घरपरिवार कै कारण बिछिप्त भएका छन् ।
यस्ता हिंसा गाउँका अन्य महिलाहरूले पनि भोग्ने गरेका छन् । तर यस्तो हिंसामा पीडित महिलाहरूले कानुनी उपचार नखोज्नुको कारण सामाजिक र पारिवारिक दबाब, आर्थिक स्थिति, र कानुनी प्रक्रिया प्रति अज्ञानता मुख्य कारणहरू हुन् । जसले गर्दा महिलाहरूले कानुनी उपचार खोज्न नसक्ने अवस्था सिर्जना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०८०/८१मा ५०५ घरेलु हिंसाका मुद्दा आएकोमा सबै भन्दा बढी ४१८ मिलापत्रमा टुङ्गिएका छन् । यस्तै ३१ मुद्दा सम्बन्धित निकायमा गएका छन् । बाकी सम्पर्कमा आएका छैनन् । उक्त वर्ष लैङ्गिक हिंसाका १५७ मुद्दा आएकोमा १५६ मिलापत्रमा टुङ्गिएका छन् । एउटा मुद्दा मात्र सम्बन्धित निकाय सम्म पुगेको छ ।
यस्ता हिंसा पारिवारिक विवाद र परम्परागत सोचका कारण हुने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी निरीक्षक कल्पना पौडेलले बताइन् । यस्ता हिंसालाई न्यूनीकरण गर्न विभिन्न अभियान र सचेतनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको उनले बताइन् । “कतिपय महिलाले कानुनी उपचार खोज्न डराउछन् ,तर डाउनु पर्दैन , न्याय पाउन प्रहरीको सहयोग लिन सक्नुपर्छ ।
साथै, हिंसा सम्बन्धी घटनाहरूको दोषीलाई कडा सजाय दिने व्यवस्था प्रहरीले प्राथमिकतामा राखेको छ ।” उनले भनिन् ,“तर कतिपय महिला घरमा सानो तिनो कुरा नमिल्दा पनि हामी कहाँ आउँछन् । वास्तविक हिंसा भोगिरहेका महिला हामी कहाँ पुग्दैन, जो साँच्चै हिंसा भे िगरहेका महिला न्यायको लागी आउँदैनन् ।”
सुदूरपश्चिम इन्सेकले दिएको तथ्याङ्क अनुसार प्रदेशमा आर्थिक वर्ष २०२३मा जम्मा ९१९ घरेलु हिंसाका घटना आएका छन् । यस मध्ये कैलालीमा ३०४ घरेलु हिंसाका घटना दर्ता भएका छन् । यस्तै कञ्चनपुर २७३, बझाङमा १४० ,दार्चुला ५५, डडेलधुरामा ४४, अछाममा ४२, बाजुरामा ३९, डोटीमा ३२ र बैतडीमा २९ घरेलु हिंसाका घटना दर्ता भएका छन् ।
यो तथ्याङ्क हेर्दा सबै भन्दा बढी कैलाली र कञ्चनपुर घरेलु हिंसाका घटना दर्ता भएका छन् । यस्तै डोटी र बैतडी सबै भन्दा कम घरेलु हिंसाका घटना दर्ता भएका छन् । सुदूरपश्चिममा एक बर्षको अवधिमा आएका ११ सय घटना मध्ये सबै भन्दा बढी पीडित महिला नै देखिएको इन्सेक सुदूरपश्चिमका अध्यक्ष खडक जोशीले बताए ।
विगतका दिन भन्दा अहिले महिला हिंसाका घटना बढ्दै गएको उनले बताए । घरेलु हिंसा र महिला हिंसाका घटना बढ्ने क्रमले महिला आयोगलाई नै अझ चुनौती थपेको उनले बताए । महिला हिंसा न्यूनीकरणका लागि सरकारले पर्याप्त ध्यान दिन नसकेको उनले बताएका छन् ।
सरकारले सुदूरपश्चिममा एउटा सुरक्षित तथा व्यवस्थित आवास गृह निर्माण समेत गरेको छैन । उनले महिला हिंसाका घटनाहरूमा कानुनी उपचारमा कमजोरी, समाजमा चेतना अभाव र पीडितको संरक्षणमा कमी जस्ता चुनौतीहरूको समाधान गर्न सरकारलाई आग्रह गरे।
समाजमा महिलाविरुद्ध हुने हिंसामा कमी ल्याउनका लागि नीतिगत परिवर्तन, प्रभावकारी कार्यान्वयन र सबै पक्षहरूको सहकार्य अत्यावश्यक रहेको अध्यक्षले जोड दिए । उनले भने“ कतिपय महिला दिदी बहिनीहरू घरबाट बाहिर निस्कँदा घरपरिवारको प्रतिष्ठासँग जोड्ने, समाजसँग जोड्ने गर्दा पनि पीडा लुकाएर बस्न बाध्य छन् । सन्तान नहुँदा उनीहरू माथि झन् हिंसा भोगेका छन् । भन्न सकेका छैनन् । ”
कानुनी प्रक्रियामा जान खोज्दा पनि आर्थिक अभाव हुने, परिवारको समस्या ,अपराध गर्नेको पहुँचका कारण ,मुद्दा दर्ता गर्न पनि समस्या हुने गरेको उनले बताए । मुद्दा दर्ता भई हाले पनि लामो कानुनी प्रक्रियाका कारण न्याय नपाउने समस्या र कानुनी संयन्त्रमा पनि अप्रत्यक्ष रूपमा राजनीतिक प्रभाव देखिने गरेको उनले बताए ।
उनले इन्सेकको तर्फबाट हिंसा पीडित महिलाहरूका लागि समुदाय स्तरमा सचेतना कार्यक्रम गरिरहेको बताए । उनले भने “ हिंसाबाट पीडित महिलाहरूलाई कानुनी परामर्श दिने , आर्थिक सहयोग गर्ने ,मुद्दा दर्ता प्रक्रियामा सहयोग गर्ने र त्यस्ता घटनाहरूको पैरवी गर्ने गरेका छौ ।”
सरकारले पनि यस्ता घटना न्यूनीकरणमा जबाफदेही हुनुपर्ने उनले बताए । उनले भने, “महिला हिंसा एक गम्भीर सामाजिक समस्या हो, जसको समाधानका लागि सरकारको दायित्व पनि महत्त्वपूर्ण छ। यस विषयमा सरकारको स्पष्ट र प्रभावकारी भूमिका आवश्यक छ, ताकि पीडितहरूलाई न्याय दिलाउन सकियोस् र हिंसाको शृङ्खला तोड्न सहज होस्।”
“महिला हिंसाविरुद्धका कानुनी प्रावधानहरूलाई कडाइका साथ लागू गर्न, पीडितको संरक्षणमा ध्यान दिन र जनचेतना अभिवृद्धि गर्न सरकारले तत्काल कदम चाल्नुपर्छ । यसरी मात्र महिला हिंसाको दर घटाउन सकिन्छ र समाजलाई सुरक्षित बनाउन सकिन्छ।” उनले भने ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया