रुस्लान डीपीएललाई आइसिसीको मान्यता
धनगढी, धनगढी क्रिकेट एकेडेमीको आयोजनामा आगामी माघ २६ गतेबाट धनगढीमा हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता दिएको छ।

एकेडेमीले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई विश्व क्रिकेटको सर्वोच्चो निकाय आइसिसीले मान्यता दिएको जनाएको हो । एकेडेमीका अध्यक्ष सुवाश शाहीद्धारा हस्ताक्षरित विज्ञप्तिमा आइसिसीले मान्यतासँगै प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई समेत जानकारी गराइसकेको उल्लेख छ ।
देशकै पहिलो खेलाडी बोलकबोल (अक्सन) गराउँदै नेपाली क्रिकेटलाई व्यवसायिक बनाएको डीपिएलको ६ वटै टोलीलाई दुई जना अनिवार्य व्यवसायिक खेलाडी राख्नुपर्ने प्रावधान छ। अन्तर्राष्ट्रिय खेलाडीहरु ल्याउनपनि आइसिसीको मान्यता आवश्यक पर्छ। रुस्लान डीपीएलको तेस्रो संस्करण अनुमानित लागत ५ करोड रुपैयाँको लागतमा फाप्ला क्रिकेट मैदानमा हुदैछ। जसमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डन्स गरि ६ वटा फ्रेन्चाइजी टोलीले सहभागिता जनाउँदैछन्। ६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन्। डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५—१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन् । टी–२० फम्र्याटको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।
रुस्लानसँग सम्झौता
गत संस्करणको मुख्य प्रायोजक विजय डिस्टिलरीको रुस्लान क्रिकेटले डीपीएललाई यसवर्ष पनि मुख्य प्रायोजनको निरन्तरता दिएको छ । विजय डिस्टिलरी र आयोजकका बीच यस संस्करणका लागि नगद र जिन्सी गरि १ करोड १० लाखको कीर्तिमानी सम्झौता भएको थियो। आगामी तीनवर्षका लागि रुस्लानले डीसिएसँग मुख्य प्रायोजन सम्झौता गरेको हो। सम्झौता अनुसार प्रत्येक वर्ष सम्झौता रकम बढ्दै जानेछ।
प्रतियोगिताको इतिहास
देशकै सर्वाधिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिताको रुपमा २०७३ र २०७४ सालमा डीपीएलको पहिलो र दोस्रो संस्करण सम्पन्न गरिएको थियो। डीपीएल देशमै पहिलोपल्ट ६ वटा फ्रेन्चाइजी शहरहरुको नाममा टोली बनाउँदै अक्सन गराउने प्रतियोगिता पनि हो।डीपीएलको पहिलो र दोस्रो संस्करणको विजेता टिम चौराह धनगढी हो। पहिलो संस्करणमा उसले विराटनगर किंग्स र दोस्रो संस्करणमा काठमाडौं गोल्डन्सलाई पराजित गर्दै उपाधि उचालेको थियो।पहिलो संस्करणको डीपीएलको बजेट १ करोड ८२ लाख थियो र कुल पुरस्कार २८ लाख ५० रुपैयाँ थियो। यस्तै दोस्रो संस्करण तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाखसहित कुल ५० लाख पुस्कार प्रदान गरिएको थियो। सन् २०१५ सम्म आयोजना गरिएको एसपीए कप र धनगढी क्रिकेट लिग (डीसीएल)को मर्जर रुप डीपीएल हो। एसपीए कपको सुरुवात सन् २०१० मा ४ लाख बजेट, प्रथम पुरस्कार २५ हजार मा गरिएको थियो। यस्तै अर्को वर्ष सन २०११ (१३ लाख बजेट, प्रथम पुरस्कार १ लाख) मा एसपीए कपको दोस्रो संस्करण, सन २०१३ (२५ लाख बजेट, प्रथम पुरस्कार २ लाख) मा एसपीए कपको तेस्रो संस्करण र सन २०१५ मा चौथो संस्करण गरिएको थियो। चौथो संस्करणको प्रतियोगिताको बजेट ६० लाख थियो भने विजेता टोलीले ५ लाख तथा उपविजेता टोलीले ३ लाख रुपैयाँ पाएका थिए। त्यस्तै क्षेत्रीय स्तरमा पहिलो पटक विभिन्न ५ वटा स्थानहरुको नामबाट टिम बनाएर अक्सनद्धारा डीसीएल (धनगढी क्रिकेट लिग) २०१५ मा सञ्चालन गरिएको थियो। त्यसलाई बृहत रुप दिदै तीनवर्ष अघिबाट डीपीएल सुरु गरिएको हो।
सम्मान
दोस्रो संस्करणमा झै यस संस्करणमा पनि प्रतियोगिताको उद्घाटन समारोहमा डीसिएले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी १ पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैयाँ प्रदान गर्ने भएको छ।
गतवर्ष धनगढी क्रिकेट सम्मानबाट नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजु खड्का तथा अर्जुन अड्का स्मृती सम्मानबाट राखेपका पूर्व प्रशिक्षक अरुणकुमार अर्याल सम्मानित भएका थिए।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया