झापा –५:पाता कस्ने कसले र कहिले ? "ओली–बालेनको होला त प्रतिष्पर्धा ? "
दमक ८ माघ । झापा क्षेत्र नम्वर ५ यतिवेला मुलुकको सर्वाधिक चासो र चर्चाको विषय छ, कारण एमाले अध्यक्ष खड्ग प्रसाद ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र साह भावि प्रधानमन्त्री भन्दै प्रतिनिधि सभा निर्वाचनको प्रतिष्पर्धामा छन् ।
झापाको निर्वाचन क्षेत्र नम्वर –५ झापाको पश्चिमी भेग अर्थात समग्र झापाको प्रशासनिक, राजनीतिक, आर्थिक हिसावले आजसम्म पनि माईपश्चिम भनेर गरिने विभेदबाट पीडित छ।
यही पश्चिमी भाग रतुवा र मावा नदीको पूर्वीकिनाराको प्रशासनिक भूभाग दमक, कमल (साविककको लखनपुर, तोपगाछी) गौरादह (साविकका महारानीझोडा, कोहबरा र जुरोपानी) र गौरिगंजका मतदाता कसैको वा राजनीतिक दलको भोट बैंक भएनन् र छैनन् ।
यहाँ प्रस्तुत गर्न खोजिएको संसदीय राजनीतिमा झापाको पश्चिमी भागका मतदाताको जनप्रतिनिधि रोज्ने प्रबृत्तिमा विगत चार दशक यता देखिएको विषयलाई चित्रण गर्न खोजिएको हो।
जसले पश्चिम झापाका मतदाता कसैको पनि आश्वासन, भ्रम वा कमजोरीलाई आत्मसाथ नगरी तुलनात्मक रुपमा विवेकपूर्ण छनोट गर्ने गरेको देखाउँछ।
छ महिनाको फरकमा भएका स्थानीय र संसदीय तथा उपनिर्वाचनमा समेत दलिय पकडको प्रभाव यहाँ कमजोर देखिन्छ।मतदाताको छनोट योग्य वा बलियो र परिवर्तनलाई साथ दिने जनप्रतिनिधिलाई छनोट गर्ने गरेको पाइन्छ।
त्यसैले विगतमा यस्तो थियो, अहिले यस्तै हुन्छ भनेर आगामी फागुन २१ मा हुने निर्वाचनको परिणामलाई ठोकुवा गर्न सकिँदैन । किनकी यहाँ गठजोड, तालमेल वा मिलेमतोले परिणाममा परिवर्तन ल्याउन कठिन छ ।
पञ्चायति कालमा पश्चिम झापा
पञ्चायति शासनको अन्तिम समय २०४३मा भएको राष्ट्रिय पञ्चायतको चुनावमा माईपश्चिममा कट्टर पञ्च वा मण्डले भनिनै राष्ट्रबादी विद्यार्थी मण्डलको विगबिगी र दादागिरी नै थियो।
तर, झापा जिल्लाबाट रापंसको रुपमा जनपक्षिय भनेर उम्मेदवार भएका बामपन्थी धारका द्रोणाचार्य क्षेत्री (द्रोणप्रसाद आचार्य) र बहुदलबादी धारका केशवकुमार वुढाथोकी (दुवै स्वर्गीय) विजयी भए।
त्यस बखत झापामा ठूला–बडा पञ्च नरेन्द्र खनाल, टेकनारायण राजबंशी, लोकबन्धु थापा, मोहनलाल अग्रवाल (पाँच सय विघा टि -स्टेटका मालिक) आदि जस्ता एकसे एक कट्टर पञ्चहरु पराजित भए। त्यसमा पनि माईपश्चिमका मतदाताको शक्ति र संकेत निर्णायक थियो।
बहुदलीय व्यवस्थामा झापा ५
२०४८को आमनिर्वाचनमा झापाको तत्कालिन निर्वाचन क्षेत्र नम्वर १ को पृथ्वीनगर गाउँपञ्चाय (हाल भद्रपुर नगरपालिका)का वासिन्दा खड्ग प्रसाद ओली (उर्फ धुर्व) झापा क्षेत्र नम्वर ५ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार भएर नेपाली कांग्रेसका पूर्णनन्द शर्मा (स्वर्गीय)लाई पराजित गरे। खड्ग प्रसाद ओलीलाई त्यसै बेला मतदाताले थाहा पाए उनको नाम ‘केपी शर्मा ओली’ भइसकेछ।
२०४९ को स्थानीय तहको निर्वाचनमा दमक, कमल, गौरादह महारानी झोडा गाविसमा एमाले विजयी भएको थियो भने गौरिगंज, खजुरगाछी, र कोरोबारीमा कांग्रेस विजयी भएको थियो।
२०५१ को उपनिर्वाचनमा एमालेका ओलीले कांग्रेसका केशवकुमार वुढाथोकीलाई पराजित गरे। वुढाथोकी राप्रपा छाडेर भर्खर कांग्रेस प्रवेश गरेका कारणले पुराना कांग्रेसीको असन्तुष्टि पराजयको एउटा फ्याक्टर थियो। कांग्रेसका छत्तिसे र चौरहत्तरेको कित्ताकाट थियो।
२०५६ मा एमालेबाटै तेश्रो पटक ओली झापा क्षेत्र नम्वर ६ बाट (झापाको क्षेत्र ५ बाट बढेर ६ भएको) कांग्रेसका काशीलाल ताजपुरिया (स्वर्गीय)लाई पराजित गरी विजयी भए। उनी झापा क्षेत्र नम्वर ६ र २ गरी दुवै स्थानबाट बिजयी भएकाले क्षेत्र नम्वर ६ छाडेपछि त्यही वर्ष उपनिर्वाचन भयो।
काशीलाल ताजपुरिया–राजवंसी आदिवासी समुदायका उम्मेदवार थिए, जहाँ खस आर्य र राई लिम्बु समुदायका मतदाता दुई तिहाई छन्।
ओली नेकपा एमालेको तर्फबाट ९ महिने सरकारमा गृहमन्त्री भएर शक्तिशाली नेतामा स्थापित भएका थिए, जसले ओलीको पक्षमा जनमत थपिने फ्याक्टर थियो।
२०५६ को निर्वाचनमा ओलीसँग करिव १० हजार मतान्तरले कांग्रेसका काशीलाल ताजपुरिया हारेका थिए। ६ महिनापछि भएको उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार भएका गोपालप्रसाद कोइरालाले एमाले उम्मेदवार देवेन्द्र दाहाल (पूर्वमन्त्री)लाई करिव आठ हजार बढी मतान्तरले पराजित गर्दै विजयी बने।
यसमा कोइरालाको लिगेसी, कांग्रेसको सत्ता र एकता अनि पहाड घर भोजपुर भएका समुदायको निकटताले डा.गोपालप्रसादलाई निर्वाचन जित्न सहज भयो। ओलीको तुलनामा दाहालको हाईट कम थियो भने ओलीले झापा ६ लाई त्याग गरी २ तिर गएर उपेक्षा गरेको मतदातामा महसुस समेत थियो।
संविधानसभा निर्वाचनः मत बदल्दा
२०६४ को संविधानसभा निर्वाचन अघिसम्म माओबादीको प्रभाव झापामा थिएन। कुनै वाधा, व्यवधान, अड्चन पनि थिएन । तर २०६४ चैत २८ को निर्वाचनमा झापा क्षेत्र नम्वर ७ (झापामा ६ वटा क्षेत्र बढेर ७ भएको) बाट ओली मैदानमा उत्रिए।
माओबादीका कट्टर विरोधी ओली संविधानसभाको पहिलो निर्वाचनमा कांग्रेसकी महेन्द्र लिम्बु र माओबादी केन्द्रका विश्वदीप लिङ्देनलाई सजिलै पारजित गर्छु भन्दै आफ्नो निर्वाचन क्षेत्र छाडेर देशव्यापी चुनावी प्रचारमा दौडिए।
कांग्रेसले एमालेका प्रभावशाली नेतालाई जिताउन अघोषित रुपमा तुलनात्मक रुपमा कमजोर उम्मेदवार प्रस्तुत गर्यो। तर माओबादीका विश्वदीप लिङ्देनले ओलीलाई करिव पाँच हजार मतान्तरले पराजित गरे।
यहाँ ओली पराजित हुनुमा उनको ओभर कन्फिडेन्स, आदिवासी बाहुल्य मतदाता (दमक नगर कमल गाउँपालिका मात्र)हुनु, माओबादीको रापताप, चर्चा र मतदाताको चरम असन्तुष्टि जस्ता फ्याक्टरले काम गरे।
२०७० को दोश्रो संविधानसभा निर्वाचनमा ओली झापाको साविक क्षेत्र नम्वर ७ बाट उम्मेदवार भए। त्यसवेलासम्म उनलाई पराजित गर्ने लिङ्देन नै नेपाली कांग्रेसमा प्रवेश गरिसकेका थिए। सो निर्वाचनमा ओली विजयी भए।
राप्रपा ओलीको सारथी भएपछि
२०७४ को निर्वाचनमा केपी ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओबादी मिलेर नेकपाको तर्फबाट ओली झापाको साविककै क्षेत्रबाट उम्मेदवार भए। कांग्रेसले युवा नेता डा.खगेन्द्र अधिकारीलाई उम्मेदवार बनायो।
ओलीले आफू पराजित भइन्छ भन्ने त्रासले कहिँ कतै कुनै दलसँग गठबन्धन नगरेको नेकपालाई झापाको हकमा भने तालमेल गराई छाडे।
झापा ५ मा राप्रपाले उम्मेदवार नउठाई ओलीलाई मत दिने र झापा क्षेत्र नम्वर ३ मा एमालेले उम्मेदवार नउठाई राप्रपाका राजेन्द्र लिङ्देनलाई मत दिने । सोही बमोजिम ओली र लिङ्देन दुबै विजयी भए।
संघीय संसदको २०७९ को निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देन र एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सट्टेबाजी चलिरह्यो। देशव्यापी राप्रपासँग गठबन्धन गरेको कांग्रेसले झापामा भने गठबन्धन गर्न सकेन। परिणाम स्वरुप ओलीलाई राप्रपाले र लिङदेनलाई एमालेले उम्मेदवार नउठाई भोट खन्याएर बिजयको माला पहिरिए।
२०७९ मा कांग्रेसले पहिले नै पराजित भइसकेका डा.खगेन्द्र पाण्डव अधिकारीलाई पुनः उम्मेदवार बनायो। तर उनलाई कांग्रेसका कार्यकर्ता र शुभेच्छुकले नै मत दिएनन्। अर्थात पहिलेको भन्दा अधिकारीको मत कम आयो।
ओली २८ हजार बढी मतले विजयी भए। गौरिगंज र कमल गाउँपालिकामा बिजयी भएको, दमकमा उपमेयर र गौरादहमा चार वडाध्यक्ष जिताउन सफल कांग्रेसले ओलीको तुलनामा अधिकारीको ‘हाईट’ नपुगेको भनी अबमुल्यन समेत गरे।
स्थानीय तहमा कांग्रेस बलियो?
झापाको क्षेत्र नम्वर ५ का स्थानीय तहमा समेत नेकपा एमालेको कमजोर उपस्थिति छ। दमक नगरपालिकाको मेयरमा राप्रपाका राम थापा छन् भने उपमेयरमा नेकपाली कांग्रेसकी रेगिना भट्टराई छिन्।
कमल गाउँपालिका अध्यक्षमा कांग्रेसका हुकुमसिंह राई छन् भने गौरिगंज गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै फुलमति राजबंसी विजयी भइन्।
२०७४ को स्थानीय निर्वाचनमा एक्लै चुनाव लडेको कांग्रेसले गौरादह नगरपालिकाको मेयरमा रोहित साहलाई विजयी बनाएको थियो। तर २०७९ मा माओबादी केन्द्रसँग तालमेल गर्दा एमालेले मेयर र उपमेयरसहित पाँच वडाध्यक्ष हात पारेको छ।
पाता फर्काउने ओलीको त्यो भाषण
हुनत ओलीले झापाको निर्वाचन क्षेत्र नम्वर ५ मा भौतिक विकास गर्दै नगरेको होइन, उनले बजेट यति धेरै खन्याउँछन् कि एउटा वडामा एकै प्रकारका चार–चार परियोजना पार्छन। करिव एक अर्ब ६० करोडको दर्शन टुप्पो (भ्यू टावर) बनाउँछन्।
ओलीले आजभन्दा ३४ वर्षअघि २०४८ को निर्वाचनमा मतदातालाई आश्वासन दिँदै भनेका थिए ‘अब माईपश्चिमका जनताको दुःखका दिन गए! मावा र रतुवाको पाता कसेर हजारौ जग्गा उकास हुन्छ र त्यही रतुवा र मावाको पानी सिँचाई गरेर यहाँका उत्पादन काठमाडौं र भारतमा समेत बेचिन्छ!’
ओलीले ३४ वर्षअघि गरेको त्यो भाषण अझै मलाई झझल्को लागि रहन्छ। उनले तीन दशक अघिदेखि गरेको एउटा बाचा बल्ल पुरा भएको छ त्यो हो, हुलाकी राजमार्गको रतुवामाथि पक्की पुल।
हुन त यो पक्की पुलको कथा पनि १९ वर्ष पुरानो छ। २०६३ सालमा ओलीको निर्वाचन क्षेत्रको खजुरगाछिबाट गिरिजाप्रसाद कोइराला (स्वर्गीय)को निर्वाचन क्षेत्र मोरङ १ जोड्ने यो पुल रतुवा खोलामाथि त थियो तर त्यहाँ कुनै गाडी त के मान्छे पनि चढ्न सक्दैन थिए।
झापा र मोरङका लाखौं वासिन्दा त्यो पुललाई प्रयोग गरेर होइन हेरेर हिउँदमा भाटे पुलमाथि पटकै पिच्छे ओहोर दोहोर गर्दथे। यो रतुवाको पुल साच्चिकै खोला माथि थियो। यो पुलको न पूर्वमा बाटो जोडिथ्यो न पश्चिमतिर नै।
ओलीले पाता कस्ने भनेर गरेको भाषणको कार्यान्वयन यति धिमे गतिमा छ कि मावाको तटबन्धन गत वर्षदेखि शुरु भएको छ भने रतुवाको चिनियाँ कम्पनी ग्रिन इष्डष्ट्रि पार्कले तटबन्ध गरिरहेको छ। तर पुरा भएको छैन। यो पार्कको पनि २२ सय विघा जमिन अधिग्रहण गरेको १० वर्ष भईसक्यो तर ४६ अर्ब लगानी हुने भनी ओलीले ३ वर्षअघि शिलान्यास गरेको त्यहाँ एउटा उद्योगले तत्पादन त के भौतिक संरचना पनि बनेको छैन।
दलको सँधै तिरस्कारमा झापा ५
आखिर धेरैलाई प्रश्न उठ्न सक्छ के ओली साँच्चिकै यो क्षेत्रका जनताको मन मुटुमा छन् त। उत्तर सहज आउँछ होइन। किनकी ओलीको राजनीतिक दल नेकपा एमालेसँग प्रतिष्पर्धी गर्ने र संगठन भएको राजनीति दल नेपाली कांग्रेस हो। तर सँधै तिरस्कारमा पर्छ झापा ५, त्यसमा पनि केपी ओलीसँग प्रतिष्पर्धा गर्नेले के जितिएला भन्ने मनोविज्ञानले राज गरेको छ।
ओलीको अस्त्र झापा ५ का सबैलाई
केपी ओलीले झापा ५ मा नेकपा एमालेको संगठनलाई कति मजबुद बनाए भन्ने कुरा स्थानीय तहको निर्वाचनलाई हेरेपछि चर्चा गरिरहनु पदैन। तर, उनी झापा ५ का एमाले कार्यकर्ता, शुभेच्छुक मात्र होइन, अन्य दलकालाई समेत सँधै अवसर, साथ र सहयोग गर्ने गर्छन।
त्यस्ता व्यक्तित्वको नामावली तयार गर्ने हो भने निकै लामो सूची हुन सक्छ । तर केही यस्ता पात्र छन्, जसलाई केपी ओलीले एकै पटक हुक लगाएर नेतृत्व र अवसरमा पुर्याउने गरेको छ ।
हिक्मत कार्की (गौरादह) – कोशी प्रदेशको विगतदेखि हालसम्म मुख्यमन्त्री र एमाले केन्द्रीय सचिव
दिपक कार्की – गौरादह गाविस प्रमुख, संविधासभा सदस्य २ पटक, एमाले झापा अध्यक्ष, हाल केन्द्रीय सदस्य
देवेन्द्र दाहाल (गौरादह) –संविधासभा सदस्य, राष्ट्रिय सभा संसदीय दलको नेता, संघीय मन्त्री, हाल केन्द्रीय सदस्य
अग्नी खरेल (गौरादह) – महान्याधिवक्ता, कानुन मन्त्री, संविधासभा सदस्य
रोमनाथ ओली –दमक नपाको २ पटक मेयर हाल केन्द्रीय सदस्य
होमबहादुर थापा (दमक) – चिनियाँ लगानीको ग्रिन इन्डष्ट्रि पार्क अध्यक्ष, हाल केन्द्रीय सदस्य
गोविन्द बहादुर थापा (दमक)– प्रधानमन्त्रीको सहायक स्वकिय सचिव, हाल केन्द्रीय सदस्य
लीला कट्टेल कार्की (गौरादह) –एमाले केन्द्रीय अनुशासन विभागकी सदस्य
इन्द्र भण्डारी (दमक)– स्वकिय सचिव, हाल केन्द्रीय सदस्य
सुमित्रादेवी सुवेदी भण्डारी (दमक)– मधेश प्रदेशको प्रदेश प्रमु्ख (सिफारिस गरेको)
सुनिता वराल (गौरादह)– अखिल अध्यक्ष, समानुपातिक सांसद, सचेतक, हाल केन्द्रीय सदस्य
गीता अधिकारी – दमक नगर पूर्वउपमेयर, मेयरको उम्मेदवार, हाल केन्द्रीय सदस्य
मेनुका काफ्ले – कमल गापा अध्यक्ष, झापा २ संविधानसभा उम्मेदवार, हाल केन्द्रीय सदस्य
जलवर्षा राजवंशी – गौरादह नगर उपप्रमुख, हाल केन्द्रीय सदस्य
युवराज कार्की (गौरादह)–पूर्वमन्त्री, सांसद, पूर्व केन्द्रीय सदस्य
युवराज खतिवडा (गौरादह) –गभर्नर, रायोआ उपाध्यक्ष, बारम्बार अर्थमन्त्री, पूर्व केन्द्रीय सदस्य
माधवप्रसाद रेग्मी (गौरादह) – हाल लोकसेवा आयोग अध्यक्ष (ओली प्रम हुँदा सिफारिस)
कुमार रेग्मी (गौरादह) – सर्वोच्च अदालतका न्यायाधिश (कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि)
गोपाल खनाल (गौराद) – प्रमको प्रेस सल्लाहकार
ओली बोल्छन्, मतदाता सुन्छन
२०४८ सालमा पहिलो पटक प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार हुँदा ओली गाउँ, टोल र घरसम्म जान्थे । उनलाई गाडी नजाने ठाउँमा तत्कालिन गौरादह गाविसका अध्यक्ष दीपक कार्कीले दक्षिणी भेगका धेरै टोल र गाउँमा मोटरसाईकलमा चढाएर पुर्याउने गर्दथे ।
२०५१ को निर्वाचनमा ओली मोटरसाईकलमा चढेनन्, जीपमा चढेर कोणसभा, आमसभा र सभामा सहभागी भएर संवोधन गर्दथे।
२०५६ को निर्वाचनमा ओलीलाई विरलै कार्यकर्ताले मात्र हात मिलाउन पाए, धेरैले नमस्कारबाट अभिवादन गरे। किनकी उनका अघि र पछि सुरक्षाकर्मी धेरै हुन्थे।
२०६४ को संविधानसभा निर्वाचनमा ओलीलाई नजिक गएर दर्शन पाउने नेता ठुलै पदको मतदाता हुनु पर्ने प्रचलन विकास भयो।
२०७० देखि हालसम्म ओली मतदाताको घरदैलो गर्दैनन् । उनी सभा र आमसभामा जान्छन्। वक्ता उनीवाहेक एक वा दुई जना मात्रै हुन्छन्। उनलाई भेट्न शुभेच्छुकले कार्यकर्ता, स्वयम्सेवक, सरकारी सुरक्षाकर्मी हुँदै बडीगार्डसम्म बाधक बन्छन्।
२०७९ को संघीय संसदको निर्वाचनमा ओली वडास्तरको भेलालाई संवोधन गर्न समेत भ्याएनन्। बरु स्थानीय तह विशेषका आमसभामा बोल्छन्, जहाँ सर्वसाधरण मतदाताको गुनासो वा सुझाव ओलीले सुन्ने अवसर समेत पाउँदैनन्। ओली भेट्ेन एमालेको विभिन्न तह पार गर्नु पर्छ जुन, असम्भव जस्तै हो।
यस्तो छ झापा ५ को अंक गणित
यो निर्वाचन क्षेत्रमा दमक नगरका सबै १० वार्ड
कमल गाउँपालिकाका सबै ७ वटा वार्ड
गौरादह नगरपालिकाको १ देखि ८ नम्वर वार्ड मात्रै
गौरिगंज गाउँपालिकाको ३ देखि ६ नम्वर वार्ड मात्रै
कूल मतदाता एक लाख ६३ हजार ३७९ ।
१८ देखि २९ वर्षसम्मका २२ प्रतिशत ३५,९४३ जना
३० देखि ४५ सम्म ३३ प्रतिशत ५३, ९१५ जना
४५ देखि ६० सम्मका २८ प्रतिशत ४५,७४६
६० माथिका १७ प्रतिशत २७,७७४ जना
खस्ने मत प्रतिशत करिव ६३ प्रतिशत अर्थात एक लाख ३ हजार (विगतका निर्वाचनमा खसेको मतको प्रबृत्तिलाई आधार मान्दा)
यो आङ्कडा हेर्दा ४५ वर्ष उमेर समूहका ५५ प्रतिशत मतदाताले मत बदल्न सकेनन् भने ओलीकै पल्ला भारी देखिन्छ।
यदी युवा पुस्ताले मत परिवर्तन गरे वा कांग्रेसपछिको तेश्रो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीको करिव १० हजार मत विगत १० वर्षदेखि कता खसेको भन्ने प्रष्ट छैन । किनकी यो पटक राप्रपाले एमालेका ओलीलाई समर्थन नगरी आफ्नै उम्मेदवार उठाएको छ।
एमाले उम्मेदवार केपी शर्मा ओलीले २०७९ को निर्वाचनमा ५२ हजार ३१९ मत पाएका थिए।
कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका थिए।
रास्वपाका सुरेशकुमार पोखरेल ११ हजार ७८४ मत ल्याएका थिए।
यो आङ्कडालाई अध्ययन गर्ने हो भने राप्रपाका उम्मेदवारले आफ्नो दलको मत १० हजार सुरक्षित गरे भने ओलीको पक्षमा ४२ हजार मत आउन सक्छ।
ओलीलाई हराउन कांग्रेस उम्मेदवारले १९ हजार र रास्वपाले ३१ हजार मत बढाउनु पर्ने देखिन्छ। अर्थात एमालेको पक्षमा पर्ने करिव ४२ हजार मतदातामध्ये १० देखि ११ हजार मत घटाउन सकेमा कांग्रेस, रास्वपा वा राप्रपाले ओलीसँग कडा प्रतिष्पर्धा गर्न सक्ने आंकलन गर्न सकिन्छ।
आलेख लिलाराज खनाल
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया