मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : ‘प्रधानमन्त्रीको पदसँग जोडेर कार्यक्रम नबनाउनू’
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुलाई ठूला पदसँग जोडेर कुनै पनि कार्यक्रमहरु नबनाउन निर्देशन दिएका छन् ।
![]()
बिहीबार गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको समीक्षापछि चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाबारेको छलफल र पूर्वतयारीबारे निर्देशन दिँदै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री/मन्त्री/मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरु नबनाउन निर्देशन दिएका हुन् ।
बरु जनतासँग जोडेर कार्यक्रमहरु बनाउन प्रधानमन्त्री ओलीको निर्देशन छ ।
‘प्रधानमन्त्रीसँग रोजगार जस्ता ठुला पदका नामबाट कार्यक्रम नराखौँ । कहाँ निर्णय गरेर हुन्छ ? अहिले सञ्चालित कार्यक्रमका नामहरु पनि परिवर्तन गरौँ । बरु जनतासँग रोजगार जस्ता नाम राखेर कार्यक्रम थालौँ । केन्द्रको सिको गरेर मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन्, त्यस्तो गर्नु उपयुक्त होइन,’ प्रधानमन्त्री ओलीको निर्देशनबारे उनको सचिवालयले भनेको छ, ‘सरकार फेरिएपछि योजना र काम गर्ने तरिकामा नयाँपन आउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले युवा र खेलप्रेमीलाई उत्साह दिन कीर्तिपुर रंगशाला स्तरोन्नतिको योजनामा सम्पूर्ण समय दिएर काम गर्न सम्बन्धित मन्त्री र कर्मचारीहरुलाई निर्देशन दिए । त्यस्तै, पुँजीगत खर्च शत प्रतिशत बनाउन र बेरुजु नहुने गरी काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन छ ।
उनले दशौँ राष्ट्रिय खेलकुदलाई भव्य र प्रभावकारी बनाउनका लागि समेत आवश्यक सरसल्लाह गरेर अघि बढ्न निर्देशन दिए ।
‘खाद्यान्नमा आत्मनिर्भर हुने र बजारमा स्वस्थ्य खाना उपलब्ध हुने वातावरण बनाउनुस् । कृषि उपजलाई निर्यात गर्न सक्ने आधार तय गर्नुस् । कानुन मात्रै धेरै बनाइयो भनेर हुन्नँ। गरिबलाई कानुन मात्रै दिएर के काम ? कानूनले खान दिने होइन,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘त्यसैले विकासको लक्ष्यलाई केन्द्रमा राख्नुस्, साधनलाई होइन ।’
कान्तिपुरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया