मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो
काठमाडौँ, ११ मङ्सिरः पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४र७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ ।

आव २०७४र७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको चार महीनामा मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले सो कक्षा लिइसकेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिनुभयो ।
“पछिल्लो समय मापसे गरेर सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइयो,” उहाँले भन्नुभयो, “महीलामा मापसे गरी सवारीसाधन चलाए पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता रहेको पाइयो ।” लेन अनुशासनतर्फ आव २०७४र७५ मा तीन हजार २५२ महिलाले चेतनामूलक कक्षा लिएका छन् भने चालु आवको चार महीनामा ७५२ महीलाले सो कक्षा लिएका छन् ।
आव २०७४र७५ मा सवारी दुर्घटना गराउने २० महिलाले कक्षा लिएका थिए भने चालु आवको चार महीनामा सो कक्षा लिने महीलाको सङ्ख्या दुई रहेको महाशाखाले जनाएको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया