अपराध दुनियाँका सनसनीपूर्ण पात्र ‘विकिनी किलर’
काठमाडौं, ७ पुस । विश्वभरका प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका ‘विकिनी किलर’का नामले चर्चित चार्ल्स शोभराज २०६० मा नेपाल प्रहरीको हात लागे । त्यसयता १९ वर्षदेखि उनी सुन्धारास्थित केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका थिए । ‘वृद्ध उमेर’को कारण देखाउँदै सर्वोच्च अदालतले बुधबार उनलाई कैदमुक्त गर्न आदेश दिएको छ ।
शोभराजले विश्वका विभिन्न देशमा जस्तै नेपालमा पनि अपराध कर्म गरेकै कारण अदालतले उनीमाथि आजीवन काराबासको सजाय सुनाएको थियो । सोहीअनुसार नेपाल प्रहरीले पक्राउ गरेर केन्द्रीय कारागारमा राखेको थियो । नेपालमा शोभराजले गरेको अपराध इतिहास हेर्न ४७ वर्षअगाडि फर्किनुपर्ने हुन्छ ।
२०३२ पुस ६ गते भक्तपुरको साँगामा एक विदेशी नागरिक मृत फेला परेका थिए । त्यसको दुई दिनपछि कोटेश्वरमा अर्का विदेशी नागरिक मृत फेला परे । सुरूमा दुवैको परिचय खुल्न सकेन् । शव क्षतविक्षत थियो ।
सो घटनापछि नेपालीमा विदेशी नागरिक र पर्यटकहरूमा व्यापक सन्त्रास फैलिएको थियो । त्यसक्रममा थुप्रै विदेशी नागरिक असुरक्षित महसुस गरेर स्वदेश फर्किएको त्यतिबेलाका जानकारहरूले बताउने गरेका छन् । त्यसपछि गरिएको प्रहरी अनुसन्धानमा हत्या भएका व्यक्तिहरू अमेरिकी महिला कोन्नी जो ब्रोन्चिज र क्यानडेली नागरिक क्यारिअरे लउरेन्ट रहेको खुलेको थियो । दुवैजना झोँछेको ओरिएन्टल लजमा बसेका थिए । उनीहरू दुवैको हत्यामा शोभराजको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको थियो ।
प्रहरीले उतिबेला शोभराजविरूद्धमा महत्त्वपूर्ण प्रमाण भेट्टाएको थियो । क्यानडेली नागरिक लाउरेन्टको कपडा शोभराजले प्रयोग गरेको गाडीमै फेला परेको थियो । शोभराज सोल्टी होटलमा बसेका थिए । प्रहरीले उनीसँग घटनाबारे सोधपुछ गरेको थियो । अनुसन्धानकै क्रममा रहेका उनी होटलबाट भागेका थिए । पछि आफैंले लाउरेन्ट र अमेरिकी नागरिक ब्रन्चिज प्रेमजोडी रहेको र एउटै कोठामा समेत बस्ने गरेको बयान दिएका थिए ।
सोही मुद्दामा जिल्ला अदालत भक्तपुरले शोभराजलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर, उनी प्रहरीलाई छक्याउँदै फरार हुन सफल भए । मुद्दा फैसलाको २८ वर्षपछि नेपाल आउँदा २०६० सालमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
त्यो घटनाअघि नै शोभराज विश्व अपराध दुनियाँमा चर्चामा आइसकेको नाम थियो । त्यसको केहीसमय अघि मात्रै थाइल्यान्डमा चार जनाको सनसनीपूर्ण हत्या गरेर उनी नेपाल प्रवेश गरेको बताइन्छ । त्यसभन्दा अगाडि भारतमा गहना पसलेलाई झुक्याएर सुन चोरेर भाग्दैगर्दा पक्राउ परेपछि बिरामी भएको बहानामा लामो समय अस्पताल बसेर प्रहरीलाई छक्याउँदै भाग्न सफल भइसकेका थिए ।
१९ वर्षमै अपराध, नेपालसँगको साइनो
चाल्र्स शोभराज जन्म ७८ वर्षअघि सन् १९४४ मा भियतनाममा भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । भारतीय बाबु र भियतनामकै आमाको अविवाहित जोडीबाट उनको जन्म भएको बताइन्छ । उनको जन्मको नाम चाल्र्स गुरुमुख शोभराज हो । जन्मपछिको बाल्यकाल फ्रान्समा बिताएको विभिन्न सञ्चार माध्यमले लेखेका छन् ।
अविवाहित जोडीबाट जन्मिएपछि उनले राम्रो बात्सल्य नपाएर सानैदेखि फरक व्यवहार दर्साउने गरेको र सानातिना अपराधका गतिविधिमा लागेको बताइन्छ । यसैक्रममा १९ वर्षको उमेरमा फ्रान्सको एकघरमा चोरी गरेको घटना त्यहाँको प्रहरी रेकर्डमा रहेको उनीबारे लेखिएको ‘लाइफ एन्ड क्राइम्स अफ चाल्र्स शोभराज’ नामक पुस्तकमा उल्लेख छ । जसमा उनी पक्राउ परेर करिब एक वर्ष जेल बसेको बताइन्छ ।
उनीबारेका अध्ययनहरूमा उल्लेख भएअनुसार त्यही जेल बसाई उनको अपराध दुनियाँ प्रवेशका लागि सबैभन्दा महत्त्वपूर्ण बन्यो । जहाँ उनले अन्डरवल्र्ड डन फिलिक्स इसकोन्जीलाई भेटे । त्यहाँबाट छुटेर फिलिक्ससँगै अन्डरवल्र्डका सदस्य भए । त्यही क्रममा फ्रान्सका ठूला धनाड्यको सूचना संकलन गरेर ठुलाठुला चोरीमा सफलता प्राप्त गरे ।
यही क्रममा चान्तास नामक युवतीसँग प्रेम सम्बन्ध कायम गरी विवाहसम्म गरे । त्यसपछि प्रहरीले निगरानी बढाउन थालेपछि फ्रान्स छाडेर पूर्वीयुरोप बसेर अपराध गर्न थाले । त्यहाँ पनि सुरक्षित नदेपछि सन् १९७० मा भारतको मुम्बई आएको बताइन्छ । जहाँ सुरुमा इमान्दार बनेर काम गर्ने र पछि अपराध गर्न थालिहाले। यसैक्रममा उनी सुनचोरीको आरोपमा पक्राउ परेका थिए ।
त्यहाँबाट भागेर उनी अफगानिस्तानको काबुल पुगेर त्यहाँ पुगेका विदेशी पर्यटक लुट्ने धन्दामा लागे । यसैक्रममा त्यहाँ पनि पक्राउ परेका थिए । त्यहाँपनि बिरामी भएको बहानामा अस्पताल गएर त्यहीँबाट भागेर भारत आए । त्यसपछि इरान, टर्की, ग्रिस, थाइल्यान्ड र नेपाल, इरानमा पुगेर अपराध कर्ममा लागिरहे । यसरी एकदेशबाट अर्को देशसम्म यात्रा गर्दा उनी चोरीको पासपोर्ट प्रयोग गर्थे ।
यस्ता अपराधमा टर्कीको राजधानी इस्तानबुलमा रहेर उनका भाई एन्ड्री अपराध कर्म गर्थे । जहाँ शोभराजपनि जोडिएपछि उनीहरूको अपराधको साम्राज्य झन् बलियो भयो । पछि ग्रिसबाट एन्ड्री समातिएर १८ वर्ष जेल सजाय भोगेका थिए ।
त्यहाँबाट भागेर थाइल्यान्ड पुगेका शोभराजले लगातार चारजना पर्यटकको हत्या गरेको बताइन्छ । सोही घटनापछि उनको नाम झन् बढी चर्चामा आएको थियो ।
थाइल्यान्डबाट हत्या गरिएका तिनै पर्यटकको पासपोर्ट बोकेर भारत पुगे । त्यहाँ पुगेर भारतीय युवा अजय चौधरी र क्यानेडियन नागरिक मोनिकासँग दोस्ती गरेर त्यसपछि भारत, नेपाल र मलेसियामा दर्जनौं आपराधिक काम गरेका थिए । त्यही क्रममा नेपालमा विभिन्न तीन हत्याका घटनामा उनको नाम जोडिन्छ । यसक्रममा विभिन्न देशमा २० जनाभन्दा बढीको हत्या गरेको बताइन्छ ।
उता यही समयमा युवतीसहित भारत भ्रमणमा आएका फ्रेन्च विद्यार्थीहरूलाई झुक्याउँदै गाइड बनेर हत्या प्रयास गरेकोलगायतका सानातिना मुद्दामा भारतमा १० वर्षका लागि काराबास सजाय पाएका थिए । उनलाई तिहाड जेलमा राखियो । जुन भारतको सबैभन्दा ठूलो जेल पनि हो ।
तिहाड जेलमा आफ्नो बर्थ(डे मनाउने भन्दै कारागारका सुरक्षाकर्मीलाई बोलाएर भव्य पार्टी दिए । सो क्रममा बेहोस हुने औषधि मिसाइएको केक र अंगुरमा खुवाएर त्यहाँबाट फरार भएका थिए । त्यसअघि पनि उनी अफगानिस्तान, ग्रिस, थाइल्यान्ड, सिंगापुर र पेरिसलगायतका नौ देशका जेल र प्रहरी थुनाबाट पनि यसैगरी फुत्केर भागिसकेका थिए यसरी भागेका शोभराजलाई गोवा प्रहरीले पुनः पक्राउ गरेर जेलका राखेको थियो । जहाँबाट कैद सजाय भुक्तान गरेर सन् १९९७ मा छुटेका थिए ।
भारतबाट छुटेपछि सोहीवर्ष फ्रान्स गए । त्यहाँबाट फेरि जन्मस्थान भियतनाम गएर पाँच वर्ष सामान्य नागरिक भएर बसे । त्यसपछि सन् २००३९वि।स। २०६००मा आफ्नै पासपोर्टमा नेपाल आए । यही क्रममा पक्राउ परेर केन्द्रीय कारागारमा राखिएको थियो ।
केन्द्रीय कारागारमा हुँदा उनले नेपाली महिला निहिता विश्वाससँग विहे समेत गरेका छन् । निहीता शोभराजकी वकिल रहेकी सकुन्तला थापाकी छोरी हुन् । जेलभित्र सिन्दुर हालेर निहितासँग उनको बिहे भएको थियो । यसैक्रममा मुटुको समस्या हुँदा शल्यक्रिया गर्दा निहीताले रगतसमेत दिएकी थिइन् ।
यसपटक गोपाल सिवाकोटीले दिएको ‘बन्दी प्रत्यक्षीकरण रिट’मा श्रीमती निहितासहित सासु शकुन्तला थापा, वरिष्ठ अधिवक्ता लोकभक्त राणा र रामबन्धु शर्माको शोभराजको पक्षमा बहस गरेका छन् । उनीहरूको बहसपछि अदालतले उनलाई कैदमुक्त गर्ने आदेश दिएको हो ।
कारागारमा रहँदा पनि चर्चामा
१९ वर्ष केन्द्रीय कारागारमा रहँदा पनि उनी चर्चामा भइरहे । उनले त्यहाँबाट पटक(पटक भाग्ने योजना बनाएको पनि चर्चा हुनेगरेको थियो । तर, भाग्न सकेनन् । यही क्रममा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनको चर्चा भइरह्यो । उनले कारागारभित्रै सेटिङ मिलाएर विभिन्न देशमा फोन गर्ने गरेको खुलासा भइरह्यो । यसै क्रममा विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा अन्तर्वार्ता दिनसमेत भ्याएका थिए । जसमा उनको जेलजीवन र आगामी योजनाबारे कुराकानी गरिएको थियो । यस्तै एउटा सञ्चार माध्यमसँगको अन्तर्वार्तामा उनले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती पनि छिराइदिन्छु भन्ने विवादित अभिव्यक्ति दिएइका थिए ।
यही जेल बस्दा विभिन्न अन्तर्राष्ट्रिय अन्डरवल्र्ड गिरोहका सदस्यसँग सम्पर्कमा बसेको, कुराकानी गरेको लगायतका चर्चा हुने, सूचना चुहिने पनि हुँदै आएका थिए । शोभराज विश्व अपराध दुनियाँमा यति चर्चित नाम होकी उनीबारे तमाम अन्तर्राष्ट्रिय जर्नलमा लेखिएका छन्, अन्तर्वार्ता छापिएका छन् । भारतीय जेलमा हुँदा प्रसिद्ध लेखक रिचार्डने र जुली ल्याबले चाल्स शोभराजको जीवनी नै लेखेका छन् । सन् १९७९ मा लेखिएको ‘लाइफ एण्ड क्राइम आफ चाल्र्स शोभराज’मा शोभराजको अन्तर्वार्ता छापिएको छ । बेलायती सञ्चार संस्था बिबिसीले त चाल्र्स शोभराजबारे टेलिफिल्म नै बनाएर प्रसारण गरेको छ । जसको नाम ‘द सेरपेन्ट र द बिकिन किलर’ छ । आजको नागरिक दैनिकमा खबर छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया