सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

राजस्व चुहावट नियन्त्रण

चालु आवको पहिलो नौ महिनाको राजस्व असुलीलाई नियाल्दा मूल्य अभिवृद्धि करतर्फ दुई खर्ब ६१ अर्ब ४२ करोड रुपियाँ असुली भएको छ । यसै गरी आयकरतर्फ दुई खर्ब १५ अर्ब ९१ करोड रुपियाँ असुली भएको छ । यस अतिरिक्त भन्सार महसुलतर्फ एक खर्ब ७८ अर्ब ५७ करोड रुपियाँ असुली भएको छ । साथै अन्तःशुल्कतर्फ एक खर्ब २३ अर्ब ९८ करोड रुपियाँ मात्रै असुली भएको छ । यहाँ प्रश्न उठ्छ, के हाम्रो राजस्व असुलीको अधिकतम उठ्ने हद नै यही हो ? यसको सिधा जवाफ हो, होइन । नेपालमा अत्यधिक राजस्व चुहावट भइरहेको छ । यसै पङ्क्तिकार आव २०६५/६६ मा राजस्व सचिव हुँदा ३३.३ प्रतिशतले राजस्व वृद्धि भएको थियो । यो नै हालसम्मको सर्वाधिक राजस्व वृद्धिदर हो । हालको वृद्धिदर छ प्रतिशत मात्रै हुनु भनेको राजस्व चुहावट भइरहनु हो । यसमा केकस्तो चुहावट भइरहेको छ भन्ने यस आलेखमा विश्लेषणको प्रयास गरिएको छ ।

२०४६ सालपछिका उपलब्धि

प्रजातन्त्रको पुनस्र्थापना २०४६ सालको आन्दोलनले गर्‍यो । तत्पश्चात् मुलुकमा खुला अर्थनीति अर्थात् आर्थिक उदारीकरण लागु भयो । सो बखत मुलुकको आर्थिक वृद्धिदर सात प्रतिशत कायम भयो तर यसलाई हामीले धेरै समय टिकाइरहन सकेनौँ । हाल हाम्रो औसत आर्थिक वृद्धि चार प्रतिशत छ । २०६२/६३ सालको जनआन्दोलनको पूर्वसन्ध्यामा भने राजस्व असुलीको वृद्धिदर लगभग शून्यमा पुगेको थियो ।

२०६२/६३ सालको जनआन्दोलनको सफलतापछि राजस्व असुलीमा उत्साहजनक प्रगति भयो । विस्तारै मुलुकको चालु खर्च थेग्न सक्ने गरी राजस्व असुलीको वृद्धिदर कायम हुन थाल्यो । आव २०६५/६६ मा राजस्वको वृद्धिदर ३३.३ कायम भयो । त्यसपछिका वर्षमा पनि राजस्व वृद्धिदर २५ प्रतिशतको वरिपरिमै रहे । विस्तारै राजनीतिक खिचातानीले राजस्वको वृद्धिदरमा कमी आउन थाल्यो । अब हामीले विगतको सफलतालाई निरन्तरता दिँदै राजस्व असुलीका कमजोरीमा सुधार गर्नुको विकल्प छैन ।

सफलताको कारण 

विसं २०६२/६३ सालको जनआन्दोलनपछि गठन भएका सरकारले लगभग ऋणात्मक तहमा पुगेको राजस्व असुलीलाई उच्च दरमा वृद्धि गर्न सफलता हासिल ग¥यो, जस अनुसार आव २०६५/६६ र त्यसपछिका केही आवमा राजस्व वृद्धिदर उच्च रह्यो । त्यसको सबल पक्षलाई केलाउँदा पहिलो, अर्थ मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्व प्रभावकारी हुनु नै हो । अर्थमन्त्री, अर्थ सचिव, राजस्व सचिव र राजस्व असुली गर्ने विभागका महानिर्देशक र कार्यालय प्रमुखले आफ्नो सफलता नै उच्च राजस्व असुलीको दरमा देखेपछि सफलता हात पर्नु स्वाभाविकै हो । कर्मचारीको सरुवा र थमौती राजस्व असुलीसँग लगभग आबद्ध थियो । राजस्वको लक्ष्य नपुर्‍याउने र सोको पुष्टि गर्ने दुष्प्रयास गर्नेको सुनुवाइ हुँदैनथ्यो । सके तोकिएको राजस्वको लक्ष्य पुर्‍याऊ, नसके मैदान खाली गर भन्ने नीति नै सफलताको द्योतक थियो ।

दोस्रो, खुला सिमानामा हुन सक्ने सम्भावित चोरीनिकासी, पैठारीप्रति निकै चनाखो भइन्थ्यो । खुला सिमानामा हुन सक्ने सम्भावित तस्करी, क्यारियरले सामान सप्लाई गर्दा लाग्ने खर्च र भन्सार दरबिच तारतम्य हेरिन्छ । सिमानापारिका मुलुकको मूल्य र त्यसमा लगाइने राजस्वका कारण सामान चोरी गर्नुभन्दा भन्सारमा ल्याउँदा फाइदा हुने विचार गरिन्थ्यो । सिमानामा खटिएका सुरक्षाकर्मीको मूल्याङ्कन चोरीपैठारी नियन्त्रण गरे अनुसार हुन्थ्यो । यसको प्रत्यक्ष असरबाट राजस्व वृद्धि भएको हो ।

तेस्रो, आन्तरिक राजस्व विभाग र भन्सार विभाग तथा मातहत कार्यालयमा तुलनात्मक रूपमा सक्षम अधिकृत र कर्मचारी पठाइएको थियो । उनीहरूको विषयविज्ञता र अनुभवले पनि राजस्व बढोत्तरीमा सफलता हात परेको थियो । कर्मचारीमा केही हदमा भए पनि माथिल्लाप्रति डर थियो । यसको कारण ती सदाचारी थिए । कर्मचारीमा अनुशासन थियो । सामाजिक प्रतिष्ठाको तुष बाँकी नै थियो ।

चौथो, निजी क्षेत्रलाई उद्योग र व्यापार सञ्चालनमा सहजीकरण गरिएको थियो । यसको बदलामा राजस्व असुलीमा दबाब दिइएको थियो । उनीहरूलाई आस र त्रासबिचमा राखिएको थियो । यसले पनि राजस्व असुलीमा अनुकूल प्रभाव परेको थियो । निजी क्षेत्र पनि नाफा कमाउनुका साथै राज्यको ढुकुटी पनि बलियो हुनु पर्छ भन्ने पक्षमा थियो । निजी क्षेत्रको छाता सङ्गठनमा प्रायः असल उद्योगी र व्यवसायीले मात्रै स्थान पाउँथे ।

पाचौँ, करको दर बढाउनुको सट्टा दायरा फराकिलो गर्ने सोच राखिन्थ्यो । सरकार निजी क्षेत्रका लागि सहजकर्ता हो भन्ने मान्यता थियो । दिनहुँ अन्डा पार्ने कुखुरालाई काट्ने होइन, पालनपोषण गरेर दिनहुँ एउटा सुनको अन्डामै खुसी हुने बानी परेको थियो । यी र यस्तै रचनात्मक कार्य र सोचले राजस्व असुलीमा टेवा पुगेको थियो । यसर्थ हालका दिनमा पनि यिनै उपाय र विधिलाई समयसापेक्ष रूपमा परिमार्जन गरी निरन्तरता दिनु बुद्धिमानी हुने छ ।

राजस्वको योगदान 

मुलुकलाई आत्मनिर्भर तुल्याउने राजस्वले नै हो । राज्य सञ्चालनका लागि खर्चको जोहो गर्नै पर्छ । यसका लागि आन्तरिक राजस्व असुली गर्न सकिएन भने मुलुकले खर्च थेग्न दातासँग सहयोगका लागि हात फैलाउनु पर्छ । कुनै पनि सार्वभौम मुलुकका लागि आफ्नो राज्य सञ्चालन गर्न अरूसँग सहयोग माग्नु कदाचित् सहज विषय होइन । त्यसमा पनि मेघा प्रोजेक्टहरू सबै दाताको सहयोगमा सञ्चालन हुनु थप पीडाको विषय हो ।

नेपालमा असुली हुने राजस्वले चालु खर्च थेग्न नै हम्मे हम्मे छ । यसबाट विकासनिर्माणको काम गर्न र लिएको ऋणको सावाँब्याज भुक्तानी गर्न कठिन छ । साथै प्रदेश र स्थानीय सरकारलाई अनुदान प्रदान गर्न र मेघा प्रोजेक्टमा लगानी गर्न कठिनाइ छ । यस अतिरिक्त सन् २०२६ पछि नेपाल अति कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने छ । यसबाट पनि दाताको अनुदान रकम कटौती हुन सक्छ ।

मुलुक सङ्घीय शासन प्रणालीमा अघि बढिरहेको छ तर हालै सङ्घीय सरकारले जारी गरेको श्वेतपत्र अनुसार प्रदेश र स्थानीय सरकारले कुल राजस्वको १० प्रतिशत अंश मात्रै असुली गरेका छन् । राजस्व तिर्ने निजी क्षेत्र सधैँ राजस्व अधिक भयो भनिरहेको छ । जबकि तिनै तहको सरकारको प्रशासनिक खर्च बढिरहेको छ । यसै गरी आमजनताले पनि सरकारबाट बढी नै सेवा र सुविधाको अपेक्षा गरिरहेका छन् । ज्येष्ठ नागरिकको मासिक भत्ता वृद्धि हुनुपर्ने कुरा बर्सेनि उठ्ने गर्छ । यसै व्रmममा बढ्दो महँगीलाई मनन गरी कर्मचारीले पनि तलब वृद्धिको माग गर्नु स्वाभाविकै हो ।

यी तथ्यका आधारमा आन्तरिक राजस्व असुलीमा दबाब बढ्नु स्वाभाविकै हो । यसमा हामी सफल हुनुको विकल्प नै छैन । यसर्थ वर्तमान सरकारको एउटा महìवपूर्ण ध्येय राजस्व वृद्धि हुनुपर्ने विषय अकाट्य छ ।

सङ्कुचित राजस्वको दायरा

नेपालको राजस्वको दायरा सङ्कुचित छ । अधिकांश घरजग्गाको कारोबार राजस्वको दायराभन्दा बाहिर नै छ । यसमा दलालीतन्त्र अत्यधिक छ । वैदेशिक रोजगारी र मानव बेचबिखनले पनि मुलुकको शिर निहुरिएको छ । सामान्यतः व्यावसायिक र विज्ञ व्यक्तिहरू आयकरको दायरामा छैनन् । यसमा चिकित्सक, इन्जिनियर, परामर्शदाता, कानुन व्यवसायी, कलाकार, खेलाडीलगायत पर्छन् । मुलुकमा करिब एक तृतीयांशभन्दा बढी आर्थिक कारोबार अनौपचारिक क्षेत्रमा रहेको अनुमान छ ।

बचत रकम भएकाहरू उत्पादनशील क्षेत्रमा लगानी गर्न हिचकिचाइरहेका छन् । फुटपाथमै करोडौँको व्यापार हुन्छ, जसमा राजस्व गुमिरहेको छ । खुला सिमानापारि सामान सस्तो पाइन्छ भनी मानिसको भिड अन्यत्र जाँदा सरकारको राजस्व गुमिरहेको छ । हाल सरकारले एक सय रुपियाँमाथिको सामान पैठारीमा राजस्व तिर्नुपर्ने प्रचलित कानुन कार्यान्वयन गर्न खोज्दा सरकारले ठुलै आलोचना खेप्नु परिरहेको छ । यसरी राजस्वको दर बढाउन नहुने र दायरा बढाउनुपर्ने कुरा सैद्धान्तिक रूपमा ठिक छ तर नयाँ क्षेत्रमा कर लागु गर्न नसक्दा सरकार आर्थिक रूपमा कमजोर हुँदै गएको छ, जसका कारण जनअपेक्षा अनुसार काम गर्न नसक्दा सरकार जनताको विश्वासको दायराबाहिरै रहन बाध्य भइरहेको छ ।

राजस्वका चुनौती

केही वर्षपहिले नेपाल राजस्व परामर्श समितिले राजस्व प्रशासनका क्षेत्रमा विविध समस्या र चुनौती औँल्याएको थियो, जसमा राजस्व आयातमुखी हुन पुगेको छ । नेपालले बहुपक्षीय र द्विपक्षीय सन्धिसम्झौताबाट अपेक्षित लाभ लिन सकिरहेको छैन । अनौपचारिक अर्थतन्त्र फस्टाएको छ । राजस्व छुटको मात्रा ठुलो छ । सङ्घीय शासनप्रणालीका कारण राजस्व असुलीमा दोहोरोपना देखिन्छ । राजस्व प्रणालीलाई स्वचालित तुल्याउन सकिएको छैन ।

अन्तरनिकाय समन्वयको अभाव छ । राजस्वसम्बन्धी विवादको निरूपण शीघ्र गर्न सकिएको छैन । मूलतः राजस्व चुहावटको परिमाण अपेक्षा गरेभन्दा ठुलै रहेको प्रस्टै छ । यसरी स्वयम् सरकारी निकायले नै पहिचान गरेका समस्याको पनि सम्बोधन गर्न नसके हामी घर न घाटको हुने पक्कै छ ।

राजस्व छुट घटाउने

नेपाल सरकारले राजस्वमा थरीथरीका छुट सुविधाको व्यवस्था गरेको छ । यस्ता छुट सुविधाले विकृति विसङ्गति निम्त्याएका छन् । सरकारमाथि निरन्तर नीतिगत भ्रष्टाचारको आरोप लागिरहेको छ । करिब तीन/चार वर्षअघि नेपाल राजस्व परामर्श समितिले आफ्नो प्रतिवेदनमा बर्सेनि मूल्य अभिवृद्धि करबापत मात्रै वार्षिक एक खर्ब ३० अर्ब रुपियाँ छुट दिइरहेको अनुमान गरेको थियो । यो रकम बर्सेनि वृद्धि भइरहेको छ । २०५२ सालमा मूल्य अभिवृद्धि कर लागु गर्दा ऐनको अनुसूची–१ मा छुटको छोटो सूची थियो । यो सूची व्रmमशः घटाउँदै लैजाने भनिएको थियो तर बर्सेनि यस्तो छुटको सूची विस्तार हुँदै गयो । यो राजस्व क्षयीकरणमा स्वयम् सरकार लागिपरेको प्रमाण हो । यसलाई निर्मम ढङ्गले रोक्नुको विकल्प छैन । सरकारले राजस्व छुट नदिई नहुने अवस्थामा नगद अनुदान दिनु पर्छ भनी बारम्बार सुझाव प्राप्त भए पनि कार्यान्वयन हुन नसक्नु एउटा दुःखद पक्ष हो ।

नेपालको आयकर ऐनले पनि व्यक्ति र दम्पतीलाई निश्चित आयमा कर छुट दिएको छ । यसै गरी द्विपक्षीय र बहुपक्षीय सन्धिसम्झौता तथा विभिन्न मुलुकसँग भएको दोहोरो कर उन्मुक्तिको सम्झौताबाट पनि कर छुट हुने गरेको छ । कृषिमा कर छुट छ । सहकारीमा छुट छ । निश्चित सङ्ख्यामा रोजगारी दिने उद्योगलाई छुट छ । द्ुर्गम स्थानका उद्योगलाई छुट छ । यस्तो सूची पनि लामो छ ।

नेपाल सरकारले भन्सारमा पनि अनेकौँ छुट सुविधा दिएको छ । भारतबाट हुने आयातमा सबैभन्दा बढी छुट छ । त्यसपछि चीनबाट आयात हुनेमा छुट छ ।

यसै गरी साफ्टा र बिम्स्टेक मुलुकको पैठारीमा पनि छुट छ । एम्बुलेन्स, शववाहनलगायतको पैठारीमा छुट छ । यस्ता छुट सुविधाबाट गुमेको राजस्व र राजस्वमा प्रत्यक्ष भइरहेको चुहावटको आकार अनुमान गर्दा पनि कहालीलाग्दो छ ।

राजस्व वृद्धिका उपाय

मुलुकभित्र आर्थिक कारोबार वृद्धि नभई राजस्व वृद्धि हुन सक्दैन । यसर्थ आन्तरिक र बाह्य लगानी आकर्षित गर्नु पर्छ  । करको दायराबाहिर रहेका विरुद्ध सरकार निर्मम रूपमा व्रिmयाशील हुनु पर्छ । नेपाल एफएटिएफको ‘ग्रे लिस्ट’ मा परेकाले सम्पत्ति शुद्धीकरण ऐनको प्रभावकारी कार्यान्वयनमा खरो उत्रिनु पर्छ । यसले करको दायरा फराकिलो तुल्याउन पनि मद्दत गर्ने छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट राजस्व असुलीका क्षेत्रमा दोहोरोपना हटाउन छाता ऐन (अम्रेला एक्ट) जारी गर्न ढिला गर्नु हुँदैन ।

राजस्वको दर वृद्धि गर्ने होइन, दायरा बढाउने हो । तथापि केही वस्तुमा दर बढाउनै पर्छ । विशेष गरी सुर्तीजन्य वस्तु, मदिरा र विलासिताका सामानमा राजस्व वृद्धि गर्न सकिन्छ । छद्मभेषी व्यापारीलाई नियन्त्रण गर्दा पनि राजस्व बढोत्तरी हुने छ । राजस्व वृद्धिका लागि तिनै तहका सरकार र सबै सरकारी निकाय परिचालन हुनु पर्छ । खर्च गर्ने प्रयोजनका लागि जसरी उच्च पदाधिकारीहरू स्वयम् अर्थ मन्त्रालयमा लबिङ गर्न जबरजस्त उपस्थित हुन्छन्, सोही ढङ्गले आआफ्ना स्थानबाट राजस्व असुली गर्न पनि मन, वचन र कर्मले कार्यक्षेत्रमा खरो उत्रिनु पर्छ ।

करको क्षेत्रगत मूल्याङ्कन गर्दा मूल्य अभिवृद्धि करतर्फ शिक्षा, स्वास्थ्य, खाद्यान्न जस्ता महìवपूर्ण क्षेत्रबाहेकको कर छुट भारी सङ्ख्यामा कटौती गर्नु पर्छ । कर राजस्वको मेरुदण्डका रूपमा रहेको मूल्य अभिवृद्धि करको अंश हाल कुल असुलीको करिब ३५ प्रतिशत छ । यसलाई करिब ५० प्रतिशतमा पुर्‍याउनु पर्छ । यसका लागि आमव्यापारिक स्थलमा मूल्य अभिवृद्धि करको बिलबीजक अनिवार्य रूपमा जारी हुने कुराको सुनिश्चित गर्ने कठोर अनुगमन हुनु पर्छ । यसका लागि ‘थ्रेसहोल्ड’ लाई पुनर्विचार गर्न सकिन्छ । साथै मूल्य अभिवृद्धि कर फिर्तालाई सहज तुल्याउनु पर्छ । पैठारी र उत्पादनमा भइरहेको न्यून बिजकीकरणलाई निर्ममतापूर्वक प्रहार गर्ने आँट सरकारमा हुनै पर्छ । अन्यथा राजस्व वृद्धिको योजना कागजमै सीमित हुने कुरा ठोकुवासाथ भन्न सकिन्छ ।

अन्तःशुल्कतर्फ सुर्तीजन्य, मादक पदार्थ जस्ता सीमित वस्तुमा मात्रै अन्तःशुल्क लाग्नु पर्छ । हामीले विश्व व्यापार सङ्गठनको सदस्यता प्राप्तिका लागि भन्सारका दर घटायौँ । यसलाई भरणपोषण गर्न करिब १६ सय वस्तुमा अन्तःशुल्क लाग्यो । हामीले पैठारीमा पनि अन्तःशुल्क लगाएका छौँ । अब यिनमा सुधार गरी अल्पअवधिका लागि लगाइएको करबाट सरकार बाहिरिनु पर्छ । साथै अन्तःशुल्कमा स्वयम् निष्कासन प्रणाली लागु गर्दै प्रविधिमा आधारित तुल्याउनु पर्छ । अन्तःशुल्कले आन्तरिक उत्पादन गर्ने उद्योगलाई भने निरुत्साहित गर्नु हुँदैन ।

भन्सार महसुलतर्फ विश्लेषण गर्दा यसलाई राजस्वमुखीभन्दा व्यापार सहजीकरणतर्फ उन्मुख गराउनु पर्छ । अनलाइन भन्सार घोषणा प्रणालीलाई सरल तुल्याइनु पर्छ । भन्सारमा वस्तु वर्गीकरणलाई पनि सहज तुल्याइनु पर्छ तर न्यून बिजकीकरणमा वस्तु आयात गर्नेलाई पूर्णतः निरुत्साहित गर्नु पर्छ । हाल बजारमा बिलबीजक जारी हुन सकिरहेको छैन । ‘मिसम्याच’ को केस बढेको छ । खुद्रा मूल्यमा एमआरपी खुलाउन सकिएको छैन । बजार अनुगमनमा एक प्रकारले हुलहुज्जत भइरहेको छ । भन्सारमा वस्तुको मूल्य ढाँट्दा हुन्डी जस्तो गैरकानुनी कारोबारले प्रश्रय पाइरहेको छ । यी सबैको कारक तìव न्यून बीजकीकरणमा पैठारी हुनु नै हो । यसबाट नै राजस्व ठुलो आकारमा गुमिरहेको छ ।

आयकरतर्फ व्यक्ति र दम्पतीले पाउने छुट सुविधा वृद्धि गर्नु पर्छ । आयकरको दर हाललाई नचलाई यथावत् राख्नु नै बुद्धिमानी हुने छ । वार्षिक रूपमा उच्च आय गर्नेको हकमा आयकरले औषधी उपचार खर्च, दानबापतलगायतका रकम कट्टी गर्न पाउने सुविधाको सीमा बढाउनु पर्छ । यस करमा पनि धेरै प्रकारका छुट छन् । यिनलाई समायोजन गर्नु पर्छ । गैरकर राजस्वतर्फ नियाल्दा यो करलाई बजारमूल्यका आधारमा लगाउनु पर्छ । साथै बेवारिसे अवस्थामा रहेको गैरकर राजस्वलाई मन्त्रालयगत जिम्मेवारीमा तोकिनु पर्छ ।

कर प्रशासन

अन्त्यमा कर प्रशासनमा काबिल र विवेकी अधिकृत र कर्मचारीको नियुक्ति, पदस्थापन र सरुवा हुन जरुरी छ । कर अधिकृत र निजी क्षेत्रले एकै ठाउँमा बसेर तालिम लिनु पर्छ । सकभर कर प्रशासनलाई स्वचालित, कागजविहीन, सम्पर्कविहीन र अनुहारविहीन बनाउनु पर्छ । तीन तहका सरकारले कम्तीमा एकै शीर्षकमा कर उठाउन निषेध गर्नु पर्छ । कर विवाद सल्टाउने समयसीमा तोकिदिनु पर्छ । यी सुधारले राजस्व वृद्धिमा प्रत्यक्ष रूपमा सघाउने छ । जति राजस्व वृद्धि भयो, सोही गतिमा मुलुकमा विकासनिर्माणको कामले तीव्रता पाउने छ । अनि राज्य प्रणालीबाट आमजनताले पाउने सेवा सुविधा बढोत्तरी हुने विषयमा ढुक्क हुन सकिन्छ

 

Author

कृष्णहरि बाँस्कोटा
  • २५ बैशाख २०८३, शुक्रबार ०६:४५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति
    टिक्दैन नियन्त्रित लोकतन्त्र
    देशको समृद्धि नाराले होइन, नागरिकको अनुहारमा देखिने मुस्कानले मापन हुन्छ ।

    ताजा अपडेट

    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    राष्ट्रिय भेलामा समूहगत प्रस्तुतीकरण, प्रदेशगत छलफल तथा व्यापक सुझाव संकलनपछि ती सुझावलाई समेटेर अन्तिम...

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित

    काठमाडौँ ३० श्रावण । दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपाल (डीडान)को अध्यक्षमा कृष्ण गहतराज...

    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    • जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’
    • जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU