थारु समुदायमा ‘माघी’को रौनक सुरु
महेन्द्रनगर २६ पुस । थारु समुदायको महान् पर्वका रुपमा रहेको ‘माघी’ पर्व आउन केही दिन बाँकी रहँदा कञ्चनपुरसहित तराईका जिल्लामा बसोबास गर्ने यो समुदायका मानिसहरु तयारीमा जुटेका छन्।

थारु जातिको पहिचान बोकेको ‘माघी’ को तयारीमा थारु समुदायका मानिसहरु व्यस्त रहेका हुन।
चौधरी–थारु समुदायका महिला पुरुषहरु अहिले आ–आफ्नो तयारीमा जुटेका छन्। नयाँ वर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल थारु बस्तीमा सुरु भएको छ। थारु समुदायका युवतीहरु अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार गर्नमा व्यस्त देखिन्छन् भने पुरुष माघीका लागि मासुको जोहो गर्ने तयारीमा छन्।
कञ्चनपुर जिल्लाका थारू बस्तीमा पनि महिला तथा पुरुष आ–आफ्नै काममा व्यस्त छन्। पुरुष सुँगुरको मासु काट्नेदेखि लिएर अन्य काममा व्यस्त छन् भने महिला रोटी पकाउने तथा पिठोको तयारीदेखि लिएर दुना टपरी बनाउनमा व्यस्त छन्।
अधिकांश थारु बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो रहेको कञ्चनपुर बेदकोट–५, का सिताराम चौधरीले बताए। माघीका लागि जाँड र मासु खानका लागि दुना, टपरी बनाउन लागेको फुलमती चौधरीले बताइन्। ‘माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्दैछुँ’, उनले भनिन्।
माघी पर्व मनाउनका लागि १ महिना अगाडिदेखि नै तयारी सुरु हुने थारु अगुवाहरु बताउँछन्। जसमा खानाका परिकारहरू पकाउनका लागि काठ, दाउरा अनादीको चामलको गुलियो जाँड, रक्सी, वनबाट मालु र सालको पात टिपेर ल्याइ दुना, टपरी गाँस्ने तोरीको खाने तेल पेल्ने आदि काम गरिन्छ। नजिकको खोला, तलाउमा माछा मारेर ल्याइ आगोमा सेकाइ सुकाइने सिताराम चौधरीले बताए। यस पर्वमा गाउँको मुख्य व्यक्तिका रुपमा छनोट गरिने भलमन्सा, अघरियालगायतका पदमा आसिन हुनेको छनौट गरिने भएकाले क–कसलाई छनोट गर्ने भन्ने विषयमा बस्तीमा एकआपसमा छलफल हुन थालेको छ।
पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरमा बस्ने आदिवासी जनजाति धर्तिपुत्र भनिएका थारु समुदायले माघीलाई नयाँ वर्ष, उन्मुक्ति दिवस, सद्भाव र मेलमिलापको पर्वका रूपमा मनाउँछन्। पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने तयारीमा थारु समुदाय छन्। माघीमा नै थारू समुदायका मानिसहरू आफ्नो घर सल्लाह गर्ने प्रचलन रहेको छ।
नेपाल खबर डटकमबाट साभार
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया