प्रचण्ड–नेपाल एकताको तयारीले तीन कम्युनिस्ट पार्टीमा हलचल
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको तयारी भएको चर्चाले तीनवटा कम्युनिस्ट पार्टीभित्र हलचल पैदा भएको छ । दुई पार्टीबीच एकता तयारीको बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा पनि हलचल पैदा भएको हो ।
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच तत्कालै पार्टी एकता गर्नेगरी तिहार आसपासमा सहमति भएको स्रोतको दाबी छ । मुलुक चुनावमा जान सक्ने सम्भावना बढेको भन्दै दुई नेताले पार्टी एकताको प्रयासलाई फेरि एकपटक तीव्रता दिएका हुन् ।
पार्टीको नामबाट माओवादी हटाएर ‘समाजवादी केन्द्र’ राख्नेबारे सहमति नजिक पुगिएको नेकपा एस निकट स्रोतको भनाइ छ ।
पार्टीमा छलफल नगरी दुई नेताले एकताको निर्णय गर्न लागेको भन्दै शुक्रबार ती दुई दलभित्र तरंग पैदा भएको थियो । २०७४ सालको चुनाव अगाडि एमालेसँग चुनावी तालमेल गर्दा पनि प्रचण्डले पार्टी कमिटीमा छलफल नगरी निर्णय लिएका थिए ।
‘नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता बमोजिम समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरूबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयहरूमा घनीभूत छलफल जारी छ,’ प्रचण्डको सचिवालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यद्यपि कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिसकेको छैन ।’
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समेतलाई समेटेर पार्टी एकता गर्ने सहमति भएको थियो । तर एकाएक माधव नेपालसँग पार्टी एकता गर्ने तयारीमा प्रचण्ड लागेको भन्दै दुवै दलभित्र संशय पैदा भयो ।
विभिन्न समयमा नेपाली जनताको अगुवाइमा भएका क्रान्ति र संघर्षहरूलाई रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अनिवार्य सर्त रहेको नेकपा (माओवादी केन्द्र)को ठहर रहेको प्रचण्डको सचिवालयले भनेको छ । ‘इतिहासको यही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि विभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेकाले सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको स्पष्ट गर्दछौं’ प्रचण्डको सचिवालयको विज्ञप्तिमा उल्लेख छ ।
यता एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले माओवादीसँग पार्टी एकताका लागि भइरहेको वार्ता सकारात्मक रहेको बताए । ‘माओवादीसँग मात्रै होइन, विप्लव नेतृत्वको नेकपा र अशोक राई नेतृत्वको जसपासँग पनि छलफलमा छौं, तर माओवादीसँग सैद्धान्तिक रूपमा कुरा मिलेको छ,’ वार्ता टोलीका सदस्यसमेत रहेका ज्वालाले भने, ‘यही कात्तिक १२ गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकले एकताबारे निर्णय गर्नेछ ।’
दलहरूभित्रै छैन समझदारी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति विमति जनाउँदै २०७८ भदौमा माधव नेपालको नेतृत्वमा एउटा समूहले पार्टी विभाजन गरेर नेकपा एस गठन गरेको थियो । २०७९ सालको चुनावमा कांग्रेस र माओवादीसँगको तालमेलबाट केही सिट जिते पनि पार्टीले अपेक्षित सफलता हासिल गर्न सकेन ।
त्यसपछि केन्द्रीय स्तरका नेता/कार्यकर्ता र जिल्लाका कमिटी नै एमालेमा फर्केका थिए । प्रतिनिधिसभा विघटन भएर मुलुक फेरि नयाँ चुनावतर्फ उन्मुख भएको बेला माधव नेपालले माओवादीसँग पार्टी एकताका लागि कसरत गरेका हुन् ।
विगतमा पनि माओवादीसँग एकताको प्रयास हुँदा वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र रामकुमारी झाक्रीहरूले विरोध जनाएका थिए । भदौ २४ गतेको घटनामा पत्नी जलेर घाइते भएपछि खनाल अहिले राजनीतिमा त्यति सक्रिय छैनन् । नेकपा एसको एउटा तप्का पार्टी विभाजनको औचित्य पुष्टि हुन नसकेकाले एमालेसँगै एकता गर्नुपर्ने पक्षमा देखिन्छ ।
नेकपा माओवादी केन्द्रका पूर्वमहासचिव देव गुरुङले विचार मिल्ने कम्युनिस्ट पार्टीहरूसँग एकताको प्रक्रिया जहिले पनि चलिराख्ने भए पनि अहिलै एससँग एकताको टुंगो लागि नसकेको बताए । ‘एकता हुने भयो भने विधिवत् ढंगले नै बाहिर आउँछ, अहिले त्यस्तो निर्णय भइसकेको छैन,’ गुरुङले लोकान्तरसँग भने, ‘जीवन्त कम्युनिस्ट पार्टीले विचार मिल्नेसँग एकता प्रयास गर्ने कुरा नौलो होइन ।’
नेकपा एससँग पार्टी एकता गर्नेबारे माओवादी भित्र पनि सहमति छैन । पूर्वउपमहासचिव जनार्दन शर्मा पक्षधर नेताहरूले पार्टीको महाधिवेशन गर्ने सहमति भइसकेको अवस्थामा फेरि एकताको नाममा नेतृत्व हत्याउने दाउमा प्रचण्ड लागेका विश्लेषण गरिरहेका छन् ।
‘भदौ २४ को घटनापछि दलहरूमा शुद्धीकरणको अभियान चलिरहेका बेला नेतृत्व हस्तान्तरण गर्छु भनेका प्रचण्डले आफ्नो कार्यकाल लम्ब्याउन एकताको जाल फ्याँकेका हुन्,’ शर्मा निकट एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘भ्रष्टाचारको मुद्दा खेपिरहेका माधव नेपालसँग पार्टी एकता हुन सक्दैन ।’
पतञ्जली जग्गा हिनामिना प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको भन्दै नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा धरौटी बुझाएर रिहा भएका नेपाललाई अध्यक्ष पद छाड्न दबाब परेको थियो ।
प्रचण्ड र माधव नेपालले पार्टी एकताको गृहकार्य गरिरहेको समयमा जनार्दन शर्मा र नेकपा एसका महासचिव घनश्याम भुसालले कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्ने भनेर अभियान सञ्चालन गरिरहेका छन् ।
‘सफल हुन्छ हुँदैन थाहा छैन, तर कम्युनिस्ट पार्टी पुनर्गठनको बहस जोडतोडले उठेको छ,’ ती नेपाले भने, ‘प्रचण्ड र माधव नेपाल मिल्दैमा पार्टी एकता हुने अवस्था छैन ।’
पार्टी एकताका लागि विप्लवको सर्त– जीवन व्यवहार पनि मिल्नु पर्छ
नेकपा माओवादी केन्द्र र नेकपा एसबीच पार्टी एकताको चर्चापछि शुक्रबार नै विप्लवले पार्टी एकताबारे धारणा सार्वजनिक गरेका थिए ।
‘एकता संगठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवन व्यवहार, संस्कृतिसहितको एकरूप बुझाइसँग सम्बन्धित छ । यी विषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन्, तर टुंगो लागिसकेको छैन,’ विप्लवले भनेका छन् ।
जीवन व्यवहार भनेर विप्लवले माओवादी घटकका अन्य नेताहरूको विलासी जीवन शैलीप्रति इंगित गरेका सो दलका नेताहरू बताउँछन् । काठमाडौंमा पार्टी एकताको कुरा चलिरहेको समयमा विप्लव भने कपिलवस्तुमा खेतमा धान स्याहार्दै थिए ।
विप्लवले अन्य पार्टीबीच हुने एकतालाई सकारात्मक ढंगले हेर्ने बताएका छन् । ‘कम्तीमा कम्युनिस्टहरू बीच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाइ प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकारसहितको संघीयता) स्थापना गर्न संयुक्त मोर्चा र सहकार्य को नीतिमा काम गर्नुपर्छ,’ विप्लवले एकताका लागि सर्त राखेका छन् ।
विप्लवको पार्टी माओवादी, एससहितको समाजवादी मोर्चामा सहभागी थियो । विप्लव समूहको नेकपाले विगतमा सशस्त्र संघर्ष गरेका माओवादीका घटकहरूबीच एकता गर्नुपर्ने बताउँदै आएको छ ।
माओवादीका पूर्व घटकहरूबीच एकताको बेलाबखत कुरा उठे पनि त्यसले सार्थकता पाउन सकेको छैन । २०६३ सालमा शान्ति प्रक्रियामा आएपछि माओवादी पटक-पटक विभाजन भएर विभिन्न चिरामा विभक्त भएको थियो ।
प्रचण्ड नेतृत्वको माओवादी विभाजन गरेर नयाँ पार्टी बनाएका मोहन वैद्य किरणले हालै मात्र महासचिवबाट राजीनामा दिएका छन् । माओवादीबाट अलग्गिएर नयाँ शक्ति पार्टी खोलेका डा. बाबुराम भट्टराई माओवाद झुन्ड्याएको पार्टीसँग एकता नगर्ने अडानमा देखिएका छन् । माओवादीबाट अलग्गिएका गोपाल किराती, विश्वभक्त दुवाल आहुती लगायतले छुट्टै दल खोलेका छन् ।
-लोकान्तरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया