वर्षेनि गुमाउँछन् झण्डै दुई सयले ज्यान, छानबिन हुन्छ, कार्यान्वयन हुँदैन
धनगढीः चालु आर्थिक वर्ष सुरु भएको ८ महिना नपुग्दै सवारी दुर्घटनामा परेर एक सय तीन जनाको मृत्यु भइसकेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार सवारी दुर्घटनामा परेर सो अवधिसम्ममा एक सय ४१ जना गम्भीर घाइते भएका हुन्। सो अवधिमा साना ठुला गरी एक सय ७० सवारीसाधन दुर्घटनामा परेका छन्। सवारी दुर्घटनाकै कारण १४ पशुचौपाया समेत मरेका छन्।
चालकको लापरवाहीका कारण सवारी दुर्घटना न्युनिकरण गर्न समस्या हुने गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख नेत्रमणि गिरीले बताए। ‘घरघरमा मोटरसाइकल छन्, सडकको अवस्था समेत सवारीमैत्री नहुँदा दुर्घटना हुने गरेको छ।’ सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आए पनि दुर्घटनामा कमि आउन नसकेको उनले बताए।
प्रदेशभित्र साढे ६ वर्षको अवधिमा दुई हजार तीन सय दुई सवारी दुर्घटनामा परेर एक हजार एक सय ४० जनाको मृत्यु भएको ट्राफिक प्रहरीको अभिलेख छ। सयौँको संख्यामा घाइते तथा कतिपयको अहिले पनि उपचार जारी छ। सुदूरपश्चिम प्रदेशभित्र मात्र वर्षेनि झण्डै दुई सय जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाउने गरेको देखिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म सुदूरपश्चिममा सवारी दुर्घटनामा परी १ सय ३ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी कार्तिकमा २७ जनाले ज्यान गुमाएका छन्। सवारी दुर्घटनामा परेर साउन महिनामा ११, भदौमा ९, असोजमा १२, मंसिरमा २२, पुषमा १२ र माघमा १० जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका हुन्।
सडकको दुरावस्था, सवारीसाधनको चाप र चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुनेक्रम बढ्दो छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अनुसार आर्थिक वर्ष २०७६/७७ मा ३८४ वटा सवारी दुर्घटना भएकोमा १४३ जनाले ज्यान गुमाएका छन् भने २५४ जना घाइते भएका थिए। आर्थिक वर्ष २०७५/७६ मा २१६ दुर्घटना भएकोमा २०२ जनाको मृत्यु हुनुका साथै १९८ जना गम्भीर तथा २३८ जना सामान्य घाइते भएको तथ्याङ्क छ।
आर्थिक वर्ष २०७४/७५ मा २६४ दुर्घटनामा १६६ जनाले ज्यान गुमाएका थिए। यस्तै १३३ जना गम्भिर तथा २०५ जना सामान्य घाइते भएको अभिलेख छ। सरकारले सवारी दुर्घटना न्यूनीकरणका विभिन्न नीति अवलम्बन गर्दै आए पनि सवारी दुर्घटना हुने क्रममा कमी आएको छैन्।
आर्थिक वर्ष २०७६/७७ मा २०५ सवारी दुर्घटनामा १४३, आर्थिक वर्ष २०७७/७८ मा ५६२ सवारी दुर्घटनामा १८७ तथा आर्थिक वर्ष २०७८/७९ मा ५०१ सवारी दुर्घटना भएर १९६ र चालु आर्थिक वर्षको माघ मसान्तसम्म १७० सवारी दुर्घटनामा परेर १०३ गरी ६ सय २९ जनाले ज्यान गुमाइसकेका छन्। यसरी हरेक वर्ष सवारी दुर्घटना बढेसँगै ज्यान गुमाउने र घाइते हुनेको संख्या बढ्दै गएको छ।
साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्सविना नै सवारीसाधन चलाउने जस्ता गतिविधिले पनि सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै गएको जनाइएको छ। पहाडी जिल्लामा साघुँरा एवं गुणस्तरहीन सडक निर्माण गरिँदा दुर्घटनाको जोखिम बढेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ।
प्रदेशमा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाँचदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास गरिरहेको छ। सवारी दुर्घटना बढ्नुको मुख्य कारण सडकको दुरवस्था, सवारीसाधनको चाप र चालकको लापरबाही रहेको जनाइएको छ। सरकारले ठूला सवारी दुर्घटना भएपछि छानबिन समिति गठन गर्ने गर्छ‚ तिनले घटनाको कारणसहित सुझाव पनि दिने गर्छन्। तर त्यस्ता समितिले दिएका दर्जनौं सुझाव दराजमा माकुराको जालोमा जेलिएर थन्किएका छन्। हरेक वर्ष दुर्घटना तथा मृतकको संख्यासमेत बढ्दै गइरहेको तथ्यांक छ।दिनेश खबर२१
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया