सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

म राष्ट्रपति भए सडकमा निस्कँदा जाम र उडानमा आकाश अवरुद्ध हुने छैन

राष्ट्रपति सडकमा निस्क्यो कि तामझाम हुन्छ ।  सडक खाली गरेर हुने सवारीमा जनताले सास्ती खेप्नुपर्छ । तर, राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउँछन् । आफू निर्वाचित भए ‘सडकमा निस्कँदा जनताले जाम र उडानमा रहँदा आकाश अवरुद्ध नहुने’ उनी बताउँछन् । ‘अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ,’ उनी भन्छन् । प्रस्तुत छ नेकपा एमाले नेतासमेत रहेका राष्ट्रपति उम्मरेदवार नेम्वाङसँग राससका नारायणप्रसाद न्यौपाने र भीष्मराज ओझाले गरेको कुराकानीको सम्पादित अंश :

राष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ । मतदाता कहाँ के-कस्ता कार्ययोजना बोकेर पुगिरहनुभएको हो ?

मुलुकको संसदीय प्रक्रिया, आन्दोलन र लोकतान्त्रिक अभ्यासमा मैले जसरी काम गरेँ, जे भूमिका रह्यो, जनता र देशसमक्ष प्रस्ट छ । मनमोहन अधिकारी नेतृत्वको सरकारमा कानुन तथा संसदीय व्यवस्थामन्त्री, प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापतिदेखि विसं २०६२/६३ को आन्दोलनपछि सर्वसम्मतिले  सभामुख र संविधानसभाका अध्यक्ष चयन भई निर्वाह गरेको भूमिका अवगत नै छ । मैले सबै राजनीतिक दलको विश्वास जितेर त्यस ठाउँमा पुगेर निर्वाह गरेको भूमिकाले एक प्रकारले म परीक्षणमा समेत सफल भएको अतीत छ । यी सबै सन्दर्भलाई सामुन्नेमा राखेर मैले राष्ट्रपतिमा उम्मेदवारी दिएको छु । मेरो पार्टीले यसपटक मलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेको छ । म सबै दल र सांसदसँग पुगेको छु । उहाँहरूसँगको भेटघाटबाट म अत्यन्त उत्साहित छु ।

एमालले तपाईंलाई नै किन राष्ट्रपतिको उम्मेदवार बनायो ?

राष्ट्रपति भनेको देशको राष्ट्राध्यक्ष र अभिभावक हो । यो संस्था मेची–महाकाली, तराईदेखि हिमालसम्म सबै जाति, भाषा, संस्कृतिका जनताको साझा अभिभावक हो । उसले राष्ट्रिय एकताको संवर्द्धन तथा संविधानको संरक्षण र पालना गर्नुपर्छ । मेरो अध्यक्षतामा ३१ राजनीतिक दलको विश्वास जितेर संविधान निर्माण गरेको इतिहास छ । यस  अवस्थामा सबैभन्दा उपयुक्त पात्र म नै हुन्छ भनी ठानेर होला अध्यक्षको प्रस्तावलाई छलफल गरी पार्टीले सर्वसम्मतिले पारित गर्‍यो । त्यसपछि देश, जनता र सांसदबीचमा जुन माहोल देखियो । त्यसबाट मेरो मनोबल एकदम बढेको छ ।

सभामुख र संविधानसभा अध्यक्ष हुँदा नै म परीक्षामा उत्तीर्ण भइसकेको व्यक्ति हुँ । मेरो अध्यक्षतामा ३१ राजनीतिक दलको विश्वास जितेर संविधान निर्माण गरेको इतिहास छ ।

राष्ट्रपति आलङ्कारिक पद हो, तपाईं एमालेको सक्रिय नेता र उपाध्यक्ष हुनुहुन्छ, पदको गरिमा जोगाउन कसरी सन्तुलन कायम गर्नुहुन्छ ?

त्यो मेरा लागि यो अप्ठेरो कुरा छैन । सभामुख र संविधानसभाका अध्यक्ष हुँदा नै म यस्तो परीक्षामा उत्तीर्ण भइसकेको व्यक्ति हुँ । त्यतिबेला अन्य दलहरूले मलाई अर्काे दलको भनी कहिल्यै प्रश्न उठाएनन् । बरु मेरै दलभित्र अलि–अलि उठाइयो होला तर आफूले गरेको काम ठीक रहेछ भनेर म निरन्तर लागेँ । त्यसैले दाबीका साथ भनिरहेको छु “म अलरेडी टेस्टेड व्यक्ति हुँ । मेरो अध्यक्षतामा रहेको संविधानसभाबाट संविधान जारी भयो, मीठो संयोग भन्नुस्, संविधानको संरक्षण र पालना गर्ने जिम्मेवारीमा रहेको राष्ट्रपति पदमा नै म अहिले उम्मेदवार छु । मेरो उम्मेदवारी उपयुक्त छ, त्यही ठानेर अघि बढाइएको हो भन्ने बुझाइ र विश्वास छ ।

पछिल्लोपटक राष्ट्रपतिमा दलको आकर्षण बढेको देखिन्छ, यसलाई कसरी नियाल्नुभएको छ ?

राष्ट्रपति पदमा पहिलेदेखि नै आकर्षण हो । यसलाई सबैले सम्मानका रूपमा लिएका छन् । अहिलेसम्म दुई जना राष्ट्रपति भइसक्नुभएको छ । उहाँहरूको अनुभवलाई ध्यानमा राखी आउने दिनमा काम गर्नुपर्छ । राष्ट्राध्यक्ष आलङ्कारिक हुँदाहुँदै पनि उसले सिङ्गो देशलाई एकताबद्ध बनाई संविधानको संरक्षण र पालना गर्न महत्वपूर्ण भूमिका खेल्छ, यसको महत्व स्वयंमा प्रस्ट छ ।

आफ्नो परीक्षण विगतमा भइसकेको छ त भन्नुभयो, निर्वाचन हो, प्रतिस्पर्धामा हुनुहुन्छ, चुनाव जित्ने आधार के छन् त ?

सर्वप्रथम त उम्मेदवारी घोषणा भइसकेपछि दलहरूको प्रतिक्रियालाई पनि हेरौँ । जनताको पनि सकारात्मक प्रतिक्रिया छ, यसबीचमा म आफैँ ठाउँ–ठाउँमा पुगेको छु । दोस्रो, राष्ट्रपति भनेको सिङ्गो देशको राष्ट्रिय एकताको संवर्द्धन गर्ने पद हो । सबै धर्मावलम्बी, जाति र भाषाका जनताको एकताको प्रतीकका रूपमा यसलाई लिइन्छ । मेरो क्रियाशीलताको लामो जीवनमा यस सन्दर्भमा कहिले पनि अन्यथा व्यवहार र टिप्पणी गरेको छैन । मैले संविधानसभा निर्वाचनमा आफ्नो चिह्नमा नभई संविधानसभाका पक्षमा मात्र मत मागेँ । त्यतिबेला आममतदाताले मलाई यो कस्तोखाले निर्वाचन भनी जिज्ञासा राख्दै प्रशंसा गर्नुभयो । मेरो अध्यक्षताको संविधानसभाले ‘जनताले जनताका लागि पहिलोपटक संविधान’ भन्ने मान्यताका साथ निर्माण गरी जारी गर्‍यो । यो संविधानको संरक्षक र पालना गर्न मेरो उम्मेदवारी उपयुक्त छ, यही आधारमा मलाई विजय प्राप्त हुन्छ भन्ने विश्वास छ ।

राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा जनताले सहजता महसुस गर्नुपर्छ ।

विगतमा शीतलनिवास र सरकारबीच यदाकदा केही महत्वपूर्ण विषयमा पनि मतैक्यता नभएका घटना बाहिर आएको देखियो, त्यसलाई कसरी लिनुहन्छ ?

यसअघिका दुवै राष्ट्रपतिको राम्रो अनुभव छ । उहाँहरूले सामना गरेको चुनौती र अनुभव हाम्रा पनि हुन् । चुनौती सहजतापूर्वक सामना गर्न सक्छौँ भन्ने मेरो विश्वास छ । संविधान जारी गर्दा मैले भनेको थिएँ, ‘हामीले राम्रो संविधान बनायौँ, कार्यान्वयन पनि राम्रोसँग गर्छाैँ, मलाई दल र दलका साथीमाथि विश्वास छ, तर जतिसुकै राम्रो संविधान लेखिए पनि बुद्धि, विवेक र क्षमता भने दिँदैन, त्यो हामीले नै देखाउनुपर्छ ।’ कहिलेकाहीँ त्यस्तो क्षमता नपुगेर देखापरेका चुनौतीलाई अनुभवका आधारमा सम्बोधन गर्नुपर्छ । त्यसो भएमा समस्या आउँदैनन् ।

आगामी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो भने विगतभन्दा फरक अनुभूति र सन्देश जनताले के प्राप्त गर्लान् ?

अहिलेसम्म भएका दुईवटै राष्ट्रपतिले मेहनतका साथ काम गरिसक्नुभएको छ । यसअघि निश्चित कुलमा जन्मिएको जेठो छोरालाई राजाका रूपमा अभिभावक स्वीकारेका थियौँ । त्यो शासन प्रणाली परिवर्तनपछि जुनसुकै कुलमा जन्मिएको छोरा वा छोरी राष्ट्रपति उम्मेदवार हुने व्यवस्था अपनाएका छौँ । अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनताको भावना बुझेर साँच्चिकै तिनको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ ।

नेपाल संवेदनशील भू–राजनीतिक अवस्थामा छ, दुवै छिमेकी र वैदेशिक सम्बन्धलाई ठीक ढङ्गबाट अघि लैजान राष्ट्रपतिको के–कस्तो भूमिका हुनसक्छ ?

राष्ट्रपतिले सबै काम संविधान र कानुनबमोजिम गर्छ । संविधानमा प्रस्ट लेखिएको छ– निश्चित निकाय वा संस्थाले सिफारिस गरेबमोजिम गर्ने भनेकामा त्यहीबमोजिम गर्ने, नभनेकामा मन्त्रिपरिषद्को परामर्शमा राष्ट्रपतिले गर्ने र त्यस्तो सिफारिस प्रधानमन्त्रीले गर्ने । वैदेशिक सम्बन्धलगायत कतिपय विषय राष्ट्रपतिलाई जानकारी गराइने वा राष्ट्रपतिबाट जानकारी माग्ने भन्ने कुराभित्र पर्छ । संविधान र कानुनबमोजिम चल्दै देशको अभिभावक, संविधानको संरक्षक र  एकताको प्रतीकका रूपमा काम गरेर राष्ट्रपतिले सरकार र देशलाई सहयोग गर्न सक्ने ठाउँ छ । त्यसअनुसार म क्रियाशील बन्नेछु ।

अन्त्यमा, निर्वाचनमा विजयी भएमा राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनतालाई शीतलनिवासबाट कस्तो शीतलता दिनु हुनेछ ?

उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ, तिनले आफ्नो अभिभावक आफूबीचमा आएको अनुभूति गर्नुपर्छ । हाम्रो कुरा उहाँमार्फत सरकारसमक्ष पुग्छ भन्ने हुनुपर्छ । यी सबै कुरा जनताको राष्ट्रपतिले गर्न सक्छ भन्ने मलाई विश्वास छ । त्यही गर्ने प्रयास मेरातर्फबाट हुनेछ ।इकागज

  • १९ फाल्गुन २०७९, शुक्रबार ०९:०८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU