डा दुर्गा थापा पहिलो महिला एआईजी
धनगढी २८ कात्तिक । नेपाल प्रहरीमा डा। दुर्गा थापाले इतिहास रचेकी छन् । स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा पहिलोपटक विशिष्ट श्रेणीमा पुग्ने दुर्गा पहिलो महिला बन्न सफल भएकी छन् । प्रहरी अस्पतालमा कार्यरत थापा पहिलो महिला एआइजी बनेकी हुन् ।
डा। थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दज्र्यानी चिह्न लगाइदिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । एआइजीका रूपमा अब उनीले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नेछिन् ।

यसअघि नेपाल प्रहरीमा डिआइजी पदसम्म मात्र महिला पुगेका थिए । पार्वती थापा र विमला थापा सात वर्षअघि डिआइजीमा बढुवा भएका थिए । उनीहरूको अवकाश सोही पदबाटै भएको थियो । उनीहरूलाई विशेष पद सिर्जना गरेर डिआइजी बनाइएको थियो ।
एआइजीमा पदोन्नति भएकी डा थापा दन्त चिकित्सक हुन् ।
डा। थापालाई दज्र्यानी चिन्ह् लगाइदिँदै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पदोन्नति भएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी महत्वपूर्ण हुने भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताए ।
नेपाल प्रहरी अस्पताललाई नेपालमै रहेका अस्पतालमध्ये राम्रो अस्पतालको रुपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा संगठनले लिएको नीतिलाई अक्षरस कार्यान्वयन गर्दै पारदर्शी रुपमा अस्पतालको कार्यसम्पादन हुने विश्वास समेत व्यक्त गरे । अस्पताललाई सुविधा सम्पन्न बनाउदै अस्पतालमा कार्यरत कर्मचारीहरुको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाशील रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। दुर्गा थापाले अस्पताललाई आधुनिक, अनुशासित र कार्यरत कर्मचारीहरुको मनोबल उच्च राखी सुम्पिएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गरिन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया