करोडौँ रकम जोखिममा परेपछि सञ्चालकलाई कुरिरहेकाहरू…
धनगढीः देशभर व्यावसायिक नेटवर्क बनाउने भन्दै विभिन्न जिल्लामा शाखा बिस्तार गरेको ‘शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ ले रकम फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेका छन्।
धनगढीका धेरै मजदुरले उक्त सहकारीमा दैनिक बचत गर्दै आएका थिए। तर सहकारीको धनगढी कार्यालय नै बन्द भएपछि बचत गरेको पैसा पाउने छाँटकाँट छैन। बचत फिर्ता माग्न दैनिकजसो सहकारी संस्थाको कार्यालय पुग्ने बचतकर्ता बढ्दै गएका छन्। बुढ्यौलीमा सजिलो होला भनेर बचत गरेको रकम निकाल्न खोज्दा सहकारीका व्यवस्थापक नै गायब भएको बचतकर्ता कृष्णकुमार पन्तले गुनासो गरे।
‘रिक्सा चलाएर कमाएको पैसा बुढेसकालमा काम लाग्ला भनेर सहकारीमा बचत गरेँ। अहिले दिनदिनै धाउँदा पनि पैसा पाएको छैन,’ उनले भने, ‘व्यवस्थापकले मोबाइल फोन अफ गरेका छन्, कार्यालयमा ताल्चा लगाइएको छ।’ यसअघि खाता खोल्न भन्दै सहकारीका कर्मचारी हामीकहाँ धाउने गरेका थिए।
चौध प्रतिशत व्याज दिन्छौँ, धितोबिना पाँच लाख रुपैयाँसम्म ऋण दिन्छौँ भने। फकाएर खाता खोल्न लगाए,’ अर्का बचतकर्ता कृष्णकुमार पाण्डेले भने, ‘अहिले पैसा फिर्ता लिने बेला सञ्चालकहरू बेपत्ता छन्।’ बचत संकलनका लागि दैनिक पसलमा पुग्ने कर्मचारी पनि अहिले आउन छाडेको र सहकारी कार्यालयमै ताल्चा लगाएर सम्पर्कविहिन भएको बचतकर्ताको गुनासो छ।
‘हामीले ऋण लगेर नतिरेको भए सहकारीले धितो लिलाम गर्ने थियो। व्यवसायमा ताला लगाइदिने थियो,’ धनगढीमा बचत फिर्ता माग्न आएका सेवाग्राहीले भने, ‘हाम्रो बचत दिने बेला सहकारी नै गायब भएको छ।’ अहिले हातमा चेक बोकेर सहकारीको कार्यालय पुग्ने बचतकर्ताहरू निराश भएर फर्किने गरेका छन्।
गत महिना सहकारी कार्यालयमा बचतकर्ताहरूको भिड बढ्दै गएपछि सञ्चालकहरूले माघभित्र सबै रकम भुक्तानी दिने आश्वासन दिए। माघ महिना सकिएपछि भने सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन छन्। हाल रकम भुक्तानीको सबै सुविधा बन्द छ। सञ्चालक समितिका पदाधिकारी र कार्यालय व्यवस्थापक सम्पर्कविहीन छन्। उनीहरूले मोबाइल फोन बन्द राखेका छन्।
बचत फिर्ता नपाउँदा उजुरी गर्ने निकाय नभेटेको बचतकर्ताहरूले गुनासो छ। सहकारी ऐनमा बचतकर्ताले जम्मा गरेको रकम उसले चाहेको समयमा झिक्न पाउने प्रावधान छ। सहकारी संस्थाहरूको नियमन निकायका रूपमा संघीय सरकारको गरिबी निवारण तथा सहकारी मन्त्रालयको सहकारी विभाग छ। प्रदेश स्तरमा रजिस्ट्रारको कार्यालय र पालिकास्तरमा सहकारी शाखा छन्।
नियमनकारी निकाय उदासीन रहेको र नियमित अनुगमन हुन नसक्दा समस्या देखिएको सहकारीका अभियन्ता बताउँछन्। शिव शिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ। यो सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो। उक्त सहकारी संस्थाले देशका विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’ चलाएको छ।
शिवशिखर सहकारीमा रिक्सा चलाउने, चिया र दैनिक ज्यालादारी गर्ने सानो किराना पसल व्यवसायी, अटो रिक्सा चालक लगायत मध्यमस्तरका व्यवसायीले बचत गरेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र धनगढीका सञ्चालक र कर्मचारीलाई खोज्न प्रहरीलाई पत्रसहित निर्देशन दिएको छ।
पीडितहरुले बचत फिर्ताका लागि प्रशासनमा निवेदन नै दिएपछि आवश्यक कारवाहीका लागि प्रहरीलाई पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। ‘समस्या समाधानका लागि सहकारी सञ्चालकलाई उपस्थिती गराउन पहल भइरहेको अवस्थामा सञ्चालकहरुले काठमाण्डौको उच्च अदालतमा निवेदन नै दिएर हाम्रा सञ्चालक र कर्मचारीलाई केहि पनि नगर्नु भनेर अन्तरिम आदेश लिएर काठमाण्डौँमै भएकाले केहि गर्न सकिएको छैन’, प्रमुख जिल्ला अधिकारी कटेलले भने। शिवशिखर विरुद्ध बनेको संघर्ष समितिले करोडौँ बचत फिर्ता नगरेर सञ्चालक र कर्मचारी फरार रहेको भन्दै प्रमुख जिल्ला अधिकारी कटेलसँग पैसा फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका थिए। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया