निर्मला हत्या प्रकरण आजदेखि दवाव आन्दोलन, निर्मलाका परिवार अनिश्चितकालीन धर्नामा
कञ्चनपुर, २५ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन महिना पुगिसकेको छ ।
निर्मलाको हत्या भएको यतिका महिना बितिसक्दा समेत सरकारले अपराधी पत्ता लगाएर कार्वाही गर्न नसकेपछि रुष्ट निर्मलाका परिवार आज ९आइतबार० देखि दवाव आन्दोलनमा उत्रिने भएका छन् ।

निर्मलाका परिवारले निर्मलाको हत्यारा पत्ता लगाई कार्वाहीको माग राख्दै आजदेखि अनिश्चितकालीन धर्ना कार्यक्रम गर्ने भएका छन् । निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको कार्यक्रमअनुसार धर्ना बस्ने भएका हुन् ।
पटक पटकको अनुसन्धान, प्रधानमन्त्री र गृहमन्त्रीको आश्वासनपछि पनि छोरीको हत्यारालाई कार्वाही गर्नुको साटो उनीहरुकै संरक्षणमा सरकार लागेको आफूहरुलाई आशंका लागेपछि अन्तिम विकल्पका रुपमा धर्ना बस्न वाध्य भएको निर्मलाका बुवा यज्ञराजले बताएका छन् ।
कही गएर पनि न्याय नपाएपछि परिवार अनिश्चितकालीन धर्ना बस्ने निर्णय लिएको उनले बताए । ‘न्याय नपाउँदासम्म धर्नामा बसिरहन्छु,’ शनिबार महेन्द्रनगरको खुलामञ्चमा महिला अधिकारकर्मी र स्थानीयसँगको छलफलमा उनले भने, ‘छोरीका हत्यारा पत्ता लगाउनका लागि दबाब दिन जे पनि गर्न तयार छु ।’
आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम तय गरिएको पन्तले बताए । महेन्द्रनगरको मदनचोकमा भेला भर्ई यालीसहित बजार परिक्रमा गरी प्रशासनको गेटमै धर्ना बस्ने कार्यक्रम छ ।
उच्चस्तरीय छानबिन समितिले छानबिन गर्न भनेका व्यक्तिहरूलाई समेत अनुसन्धानको दायरामा नल्याएकाले अझै पनि प्रहरीको अनुसन्धान सही गतिमा जान नसकेको महिला अधिकारकर्मी शारदा चन्दले बताएकी छन् ।
निर्मला घटनाको अनुसन्धानमा त्रुटि गरेको भन्दै तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्त गरिएका छन् । तर अनुसन्धानमा प्रमाण मेटाउनेलाई विभागीय कार्बाही गरेर मात्रै नहुने अधिकारकर्मीहरू बताउँछन् ।
निर्मलाको हत्यारालाई कार्वाहीको माग गर्दै राजधानीलगायत देशका विभिन्न जिल्लामा प्रदर्शनहरु भइसकेका छन् । तर, अझै पनि निर्मलाको हत्यारासामु घटना अनुसन्धानमा खटिएका सुरक्षा अधिकारीहरु पुग्न सकिरहेका छैनन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया