सभामुखमा उम्मेदवारी दिनुअघि जसपा, एकीकृत समाजवादी र लोसपासँग छलफल गर्दै कांग्रेस
सभामुखमा उम्मेदवारी दर्ता गर्नुअघि नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र लोसपासँग छलफल गर्ने भएको छ।
कांग्रेसले सभामुखमा सांसद ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने तयारी गरेको छ।
कांग्रेसले सरकारलाई विश्वासको मत दिएका तर सरकारमा सहभागी नभएका दलहरूको मोर्चा बनाउने तयारी गरेको हो।
बुधबार बिहान सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग निवास धुम्बाराहीमा छलफल गरेका थिए।
सभामुखमा उम्मेदवारी दिनेबारे मिलेर जाने र मधेश प्रदेशका मुख्यमन्त्री जसपाका सरोजकुमार यादवलाई विश्वासको मत दिनेबारे उनीहरूबीच छलफल भएको थियो।
बुधबार दिउँसो कांग्रेसले जसपा, एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताहरूलाई छलफलका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएको एक नेताले जानकारी दिए।
प्रतिनिधि सभामा कांग्रेसका ८९, जसपाका १२, एकीकृत समाजवादीका १० र लोसपाका ४ जना सांसद छन्। सरकारलाई गत पुस २६ गते समर्थन गरेका यी दल सरकारमा भने सहभागी भएका छैनन्।
कांग्रेसको बुधबार नै बसेको पदाधिकारी बैठकले अन्य दलहरूको समर्थन जुटाएर सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको थियो। सभामुखका लागि आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय छ भने बिहीबार निर्वाचन हुनेछ। सेतोपाटीबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया