एमालेबाट सभामुखमा घिमिरे उम्मेदवार
काठमाडौं : एमालेले प्रतिनिधिसभाका सभामुख पदमा सांसद देवराज घिमिरेलाई अघि सार्ने भएको छ। पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईलगायतको नाम चर्चामा भए पनि घिमिरेलाई उम्मेदवार बनाउने टुंगो लागेको एक पदाधिकारीले बताए।
उनी झापा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। प्रधानमन्त्री माओवादीलाई बनाएर राष्ट्रपति एमालेले लिने, सभामुख आलोपालो गर्ने बालकोट बैठकमा सहमति भएको थियो। सोहि अनुसार सत्ता साझेदार दलको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा रहेसम्म एमालेले सभामुख पाउने भएकाले गठबन्धनका तर्फबाट एमालेले उम्मेदवार मनोनयन दर्ता गर्न लागेको हो।
प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।
प्रतिनिधि सभाका कुनै सांसदलाई सभामुख पदमा निर्वाचन गरियोस् भन्ने प्रस्तावको सूचना दर्ताका लागि संघीय संसदको ल्होत्से हल तोकिएको छ। आजै सवा चार बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचना दर्ता क्रम अनुसारको सूची प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाको सभामुख चयन गर्न बिहीबार ११ बजे निर्वाचन हुने भएको छ। बिहीबार ११ बजे सुरु हुने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव पेस गर्ने र समर्थकले समर्थन गर्ने तथा उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल गरी निर्णयार्थ पेस हुने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। अन्नपुर्णबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया