एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु, सरकारमा सहभागी होला ?
काठमाडौं : नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ। बैठकले सरकारमा सहभागीताबारे टुंगो लगाउने बताइएको छ। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एकीकृत समाजवादीले सरकारमा जाने वा नजाने भन्नेमा पार्टीभित्र मतभेद भएपछि पोलिटब्युरो बैठक बोलाएको हो। बैठक सोमबारदेखि सुरु भएको हो।
स्थायी कमिटी बैठकमा समेत सरकारमा सहभागीताबारे निर्णय हुन नसकेपछि एसले पोलिटब्युरोमा छलफल गरेको हो। बैठकमा निर्वाचनको समीक्षा, आगामी कार्यदिशा, सरकारलाई हेर्ने नीति लगायतको विषयमा छलफल भइरहेको छ। बैठकमा अधिकांश नेताहरुले पार्टी पुनर्गठन तथा पुनर्जागरणमा जोड दिँदै आएका छन्। केही नेताले भने जसरी पनि सरकारमा जानुपर्ने धारणा राखेका छन्।
माओवादी केन्द्र एमालेसँग नयाँ समीकरण गरेर अगाडि बढेपछि नेकपा एकीकृत समाजवादी अन्योलमा परेको हो। जसका कारण एसले न सरकारलाई खुलेर समर्थन गर्न सकेको छ न विरोध नै। सरकारलाई समर्थन र सरकारमा जाने कुरा फरक रहेकोले पार्टी ‘पर्ख र हेर’को नीतिमै रहेको बैठकपछि एकीकृत समाजवादी नेताहरुले बताएका छन्।
शनिबार र आइतबार दुई दिन भएको स्थायी कमिटी बैठकमा एसभित्र ३ धार देखिएका थिए। एकीकृत समाजवादीका केही सांसद तथा नेताहरुले सांसदहरू सरकारमा गएर पार्टीलाई बलियो बनाउनुपर्ने मत राख्दै आएका छन्। तर, चुनाव हारेका र सांसद हुन नपाएका नेताहरू भने सरकारमा नगई पार्टी निर्माणमा लाग्नुपर्ने मत राख्दै आएका छन्।
एकीकृत सम्मानीत नेता झलनाथ खनाल पक्षका नेताहरु सरकारमा जान नहुने तर्क गरेका छन् भने अध्यक्ष माधवकुमार नेपाल पक्ष नेताहरुले औपचारिक कुनै प्रस्ताव आए छलफल गरेर अघि जाने बताएका छन्।
सोमबार पोलिटब्युरो बैठकमा भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा सामेल हुन नसकिने बताएका थिए। उनले एमाले नेतृत्वको सरकारमा सहभागी हुन नसकिने बताएका थिए।
एमाले नेतृत्वमा नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी रहेका छन्। अन्नपुर्णबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया