कञ्चनपुरमा पुजारी पक्राउको विरोधमा ब्राह्मण समाज
कञ्चनपुर । भीमदत्त नगरपालिका ११ स्थित महाकाली नदीको भुजेला घाटमा दलित समुदायका व्रतालु महिलाको पूजापाठ गर्न अस्वीकार गर्ने पुजारी सहदेव भट्टलाई प्रहरीले पक्राउ गरेपछि ब्राह्मण समुदायका अगुवा विरोधमा उत्रिएका छन्।
उनीहरुले मंगलबार महेन्द्रनगरस्थित मदनचोकमा भेला भएर मौन विरोध प्रदर्शन गरेका छन्।
विरोध प्रदर्शनमा आचार्य घनश्याम लेखकसहित ब्राह्मण समुदायका अगुवा सहभागी भएका छन्। उनीहरुले सरकार र गैर सरकारी निकायले ब्राह्मणमाथि गरेको विभेदविरुद्ध विरोधमा बसेको बताएका छन्।
उनी मदन चोकमा विरोध स्वरुप मौन धर्नामा बसेका छन्। ऋषि पञ्चमीका दिन भुजेला घाटमा थर थाहा पाएर पूजापाठ गर्न अस्वीकार गरेपछि आफूमाथि सार्वजनिक स्थानमा जातीय भेदभाव गरिएको भन्दै भीमदत्त नगरपालिका ५ कि सन्जु नेपाली लगायतले आइतबार जिल्ला प्रहरी कार्यालयमा पुजारी भट्टविरुद्ध जाहेरी दिएका थिए।
प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि पुजारी भट्टलाई पक्राउ गरिएको छ। जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन पीडितसहित दलित समुदायका अगुवा पुगेका थिए।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया