माल्दिभ्सको राष्ट्रपतिमा सोलिह विजयी
काठमाण्डौ ८ असोज । माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी नेता इब्राहिम मोहमद सोलिह निर्वाचित भएका छन्।
चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामिन आश्चर्यजनक रूपमा पराजित भएका छन्।

निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको चुनावी मतपरिणाम अनुसार इब्राहिमले ५८।३ प्रतिशत मत पाएका छन्।
निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सोलिहको माल्दिभियन डेमोक्रेटिक पार्टी ९एमडीपी० का समर्थकले सडकमा खुशीयाली मनाउँदै नाचगान सुरू गरेका छन्। चुनावी नतिजाप्रति राष्ट्रपति यामिनले कुनै प्रतिक्रिया दिएका छैनन्।
सोलिहको पक्षमा विपक्षीले गठबन्धन निर्माण गरी चुनावी प्रचारमा उत्रिएका थिए। राष्ट्रपति यामिनले सञ्चार माध्यममाथि लगाएका प्रतिबन्धले चुनावमा धाँधली हुने आशंका व्यक्त गरिएको थियो।
आइतबार सम्पन्न चुनावमा धेरैजसो विपक्षी नेताहरु जेलमा वा निर्वासनमा रहेका कारण सोलिहबाहेक अन्य विपक्षी नेताहरु चुनावी मैदानमा थिएनन्।
नवनिर्वाचित राष्ट्रपति सोलिहले एक टेलिभिजन अन्तर्वार्तामा भने, ‘म जनताको इच्छालाई सम्मान गर्न राष्ट्रपति यामिनसँग आग्रह गर्दछु र सत्ताको शान्तिपूर्ण, सहज हस्तान्तरणका हुने अपेक्षा गर्दछु।’
उनले राजनीतिक बन्दीहरूलाई तत्काल जेलमुक्त गर्न पनि आग्रह गरे।
चुनाव हुनुअघि एमडिपीसमेत विपक्षी दलका कार्यालयमा प्रहरीले छापा मारेको थियो, तर कसैलाई पक्राउ गरिएको थिएन।
पूर्वराष्ट्रपति तथा एमडिपीका अध्यक्ष मोहमद नसिदले यो मतदानले मुलुकलाई लोकतान्त्रिक मार्गमा पुनः ल्याउने विश्वास व्यक्त गरे।
राष्ट्रपति यामिनले हार स्वीकार्नुबाहेक अर्को विकल्प नरहेको पनि उनले बताएका छन्। नसिद हाल निर्वासनमा छन्।
यो निर्वाचनलाई चीन र भारतले महत्वका साथ हेरिरहेका छन्। संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले चुनाव स्वतन्त्र र स्वच्छ रुपमा सम्पन्न नभए आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए।
माल्दिभ्समा यस चुनावमा २ लाख ६२ हजार मतदाता रहेका थिए।
माल्दिभ्सको आन्तरिक मामिलामा विगतमा निकै प्रभावी रहेको भारतले सन् १९८८ मा सम्भावित सत्ताविद्रोह दबाउन सेना र युद्धपोत पठाएको थियो। भारतले चुनावी नतिजाले लोकतान्त्रिक मूल्यमान्यतालाई पुनर्वहाली गर्ने विश्वास लिएको छ।
पछिल्ला वर्षहरुमा राष्ट्रपति यामीनमाथि चीनसँग नजिकिएको आरोप लाग्दै आएको थियो। माल्दिभ्सका ठूला पूर्वाधार परियोजनाका लागि चीनले करोडौं डलर ऋण प्राप्त गरेका थिए। एएफपी
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया