धार्मिक, आध्यात्मिक, प्राकृतिक र पर्यटकीय दृष्टिले भूस्वर्ग मानिने खप्तड (भिडियो सहित) "अमूल्य धरोहरु पर्यटकिय विकासको पर्खाईमा "
उमीद बागचन्द । प्रदेश ७ को प्रमुख पर्यटकीय गन्तव्य खप्तड अनुपम सुन्दरताका साथै जडीबुटी र निगालाका लागि चर्चित खप्तड ठूल्ठूला मैदान‚ मौसम अनुसार मखमली गलैँचा जस्तो देखिने दृश्यले जोकसैको मन बहलाउन सक्छ ।बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थलको रुपमा रहेको खप्तडमा धार्मिक, आध्यात्मिक र पर्यावरणीय दृश्य हरेक मौसममा घुम्न जाँदा ‘रहस्यमयी’ रुपमा देखाँ पर्ने गर्छ । महाभारत युद्धकालमा वंश विनाश र गोत्रहत्याको पापमोचनका लागि खप्तडका पाटनमा राँगाभैंसीको बथानमा राँगोको भेष लिएर विचरण गरिरहेका शिवको दर्शनका लागि पाण्डवहरू आएको पुराणहरूमा उल्लेख गरिएको पाइन्छ ।

करिब २ सय २५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको महत्त्व यतिमै सीमित छैन । २२ पाटन र ५३ ताल रहेको खप्तड नेपालकै सुन्दरतम ठाउँमध्ये एक हो । रंगीविरंगी फूलले ढाकिएका ठूल्ठूला मैदानलाई स्थानीय भाषामा पाटन भनिन्छ । यस क्षेत्रमा विभिन्न किसिममा २ सय २४ प्रकारका वनस्पति, १२ वटा गुफा, २ सय २६ किसिमका पक्षी, बाघ, भालुलगायत २० भन्दा बढी प्रजातिका वन्यजन्तु रहेको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांक छ ।

सहस्त्रलिंग भएर आउने सोलिङ खोला, डाँफेकोटबाट बगेर आउने डाँफेकोट खोला र दक्षिणबाट उत्तरतिर बगेर आउने गुप्तरूपी सरस्वती नदीको संगमस्थल त्रिवेणी नामले प्रसिद्ध छ । यी तीन नदी गंगा, जमुना र सरस्वतीको स्वरूप भएको खप्तड स्वामीद्वारा लिखित धर्मविज्ञानमा उल्लेख छ । निकुञ्जको बीच भागमा रहेको त्रिवेणी क्षेत्रमा हरेक वर्ष गंगादशहराका दिन मेला लाग्छ । त्रिवेणीमा स्नान गर्दा इच्छित वर प्राप्त हुने र पापबाट मोक्ष हुने जनविश्वास छ । त्रिवेणीबाट सहस्त्रलिंग जाने बाटोमा सहस्त्रलिंग नजिकै उँचो ढिस्कोमा कालो ढुंगामा कुँदिएको प्राचीन मूर्ति छ । सहस्त्रलिंग आउँदाजाँदा यो मूर्तिको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूरा हुने मान्यता रहिआएको छ ।

सहस्रलिंग : समुद्र सतहबाट करिब १२ हजार फिट उचाइमा रहेको तीनवटा चुचुरा भएको ठूलो शिलालाई सहस्रलिंगका रूपमा पूजा गरिन्छ । यसलाई स्थानीयले शंकरी शिला पनि भन्छन् । यस शिलाको पहिलो चुचुरोमा भगवान् शिव, दोस्रोमा पार्वती र तेस्रोमा गणेश रहेको धार्मिक विश्वास छ । चुचुरोभन्दा तल शिवलिंग आकारका सयौं स–साना चुचुरा छन् । बझाङ, बाजुरा, डोटी र अछामका स्थानीय यस क्षेत्रमा भक्तिसाथ पूजाअर्चना गर्छन् ।

खडुली–दुदुली माईथान : बझाङको खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकाबाट खप्तड प्रवेश गर्ने पहिलो पाटन नजिक खडुली र दुदुली देवीका दुई अलग–अलग मन्दिर छन् । दुईवटा मन्दिरको बीचमा एक यज्ञमण्डप छ । मन्दिरको नजिकै तीनवटा धर्मशाला छन । चैत र असोज अष्टमीका दिन पूजा, अनुष्ठान हुने गर्छ ।

नाग र सर्पको जस्तो बुट्टैबुट्टा भएको नागढुंगा हेर्न आउने पर्यटक थुप्रै छन् । ठूलो चट्टानको वरपर सिपालु मूर्तिकारले बुट्टा भरेजस्तो चित्र देख्न पाइन्छ । घोडादाउना पाटनको पूर्वमा करिब ११ हजार फिट उचाइमा खप्तड बाबाको कुटी छ ।

माझको झुत्ती भन्ने ठाउँमा रहेको यो कुटी २००३ सालमा तत्कालीन बझाङी राजा रामजंगबहादुर सिंहले खप्तड बाबाका लागि बनाइदिएको अहिलेसम्म करोडौं रकम विनियोजित भए पनि पर्यटकका लागि न्यूनतम पूर्वाधारसम्म बनेका छैनन् । रकमको भागबन्डाका लागि समितिका पदाधिकारी, कर्मचारी र कार्यकर्ताबीच मुद्दा र उजुरीका मात्र दर्जनौं फाइल छन् । (फोटो सहयोग दिपक बहादुर खड्का डोटी )
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया