नेपाललाई ट्वान्टी २० मा इतिहास बनाउने अवसर
काठमाण्डौ । युएईमा जारी घरेलु टोलीविरूद्धको टी–२० सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ।

यदि आजको खेलमा नेपालले जित निकाले क्रिकेटमा अर्को इतिहास रचिने भएको छ।
यसअघि घरेलु मैदानमै युएईलाई हराएर एक दिवसीय सिरिज जितेको नेपालले टी–२० सिरिजसमेत जित्ने मौका आएको छ।
युवा खेलाडीको बर्चश्व रहेको नेपाली टिमले पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई बराबरीमा ल्याएको थियो।
अन्तिम तथा निर्णायक खेलमा नतिजा आफ्नो पक्षमा पार्न सके पहिलो पटक अन्तर्राष्ट्रिय टी–२० सिरिज जित्ने छ। पहिलो खेलमा नेपाल २१ रनले पराजित भयो। दोस्रो खेलमा ४ विकेटले विजयी हुँदै सिरीज १–१ को बराबरीमा ल्याएको हो।
नेपालले हालसम्म दुई टी(ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ। तर, सिरिज जित्न सकेको छैन। सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी(ट्वान्टी विश्वकप खेलिसकेको नेपालले त्यहीँ वर्ष हङकङसँग श्रीलंकामा ५ खेलको सिरिज खेलेको थियो। तर, उक्त सिरिजको चार खेल वर्षाको कारण रद्द भएको थियो र अन्तिम खेलमा नेपाल हङकङसँग २ विकेटले पराजित भएको थियो।
यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्डविरुद्ध ४ खेलको टी(ट्वान्टी सिरिज खेलेको थियो। उक्त सिरिज नेपालले ३(१ ले गुमाएको थियो।
त्यसैले नेपाललाई युएईमा ऐतिहासिक टी(ट्वान्टी सिरिज जित्ने पहिलो अवसर छ।
तर, नेपाललाई ऐतिहासिक सफलता प्राप्त गर्न घरेलु टोलीको कठिन चुनौती पन्छाउनु पर्नेछ। टी(ट्वान्टी सिरिजको अन्तिम खेल नेपाल र युएई दुवैका लागि महत्वपूर्ण छ। दुवै टोली सिरिज आफ्नो बनाउन चाहन्छ। त्यसैले दुवैका लागि लागि यस सिरिज गर या मरको स्थितिमा हुनेछ।
नेपाली खेलाडीले लगातार एउटै गल्ति दोहोर्याइरहेका छन् । जुन कमजोरी तेस्रो खेलमा दोहोरिए नेपालको पहिलो अन्तर्राष्ट्रिय टी २० सिरिज जित्ने सपना अधुरै हुनेछ।
एक दिवसीय सिरिज गुमाइकेको युएईले अन्तिम खेल जित्दै टी(ट्वान्टी सिरिज घरेमै राख्न चाहन्छ। यस्तै लगातार ओडिआई र टी ट्वान्टी सिरिज जित्दै इतिहास रचेर नेपाल घर फर्कन चाहन्छ।
यसअघिको पहिलो र दोस्रो खेलको प्रर्दशन हेर्दा नेपाललाई आज घरेलु टोलीबिरूद्ध त्यति सहज देखिँदैन। बलिङमा राम्रो प्रर्दशन गरिरहेको नेपाली टोलीको ब्याटिङ सुधार्ने पर्ने देखिएको छ।
युएईविरुद्ध सिरिज जोगाउन नेपालले आज ब्याटिङ चल्नुपर्ने हुन्छ। यसअघिका दुबै खेलमा नेपालले सम्झनलायक ब्याटिङ गर्न सकेको थिएन। बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपाललाई सामान्य लक्ष्य पुरा गर्नसमेत कठिन पर्दै आइरहेको छ। ब्याटिङमा सुधार हुने हो भने नेपाललाई सिरिज आफ्नो पार्ने कुनै कठिनाई हुनेछैन।
भीम सार्कीको डेब्यू सम्भावना
एक दिवसीय र टी–२० सिरिजका लागि युएई गएका १६ जना खेलाडीमध्ये अहिलेसम्म भीम सार्कीले डेब्यू गर्न पाएका छैनन्। घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका सार्की आज मैदान उत्रने सम्भावना रहेको छ।
टी–२० मा ओपनिङ तथा विकेट किपरको भूमिकामा आएका प्रदीप ऐरी दुवै खेलमा चल्न नसके पछि उनी आइतबारको टिममा पर्ने सम्भावना कम छ। उनको ठाउँ विनोद भण्डारीले लिन सक्छन्।
एक दिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान राखेका रोहितकुमार पौडेल टी–२० को पहिलो खेलमा नचलेपछि दोस्रो खेल खेलेनन्। उनको स्थानमा आएका सन्दीप जोराले डेब्यूमै अर्धशतक बनाए पनि दोस्रो खेलमा चल्न सकेनन्।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया