सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

आइतबारको बाढीले बगायो फर्सेका ६६ घर, बेनी र मिर्मी डुबानमा, मालढुंगाको पुल बग्यो ।

पोखरा ११ असोज । दुई दिनदेखिको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्वर–८ स्थित फर्से बस्तीमा ठूलो क्षति पुयाएको छ।

शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि प्रशासनले स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो। फर्सेमा रहेका ८० घरमध्ये ६६ वटा बाढीले बगाएको प्रहरीले जनाएको छ।

बाँकी घरहरूसमेत जोखिममा परेपछि स्थानीयले सामान अन्यत्र सार्न थालेका छन्। समयमै सूचना दिएकाले मानविय क्षति भने हुन पाएन।

कुस्माबाट बागलुङको प्रवेशद्वार मानिने मालढुंगा पुलसमेत कालीगण्डीको कटानका कारण क्षति भएको छ। बागलुङ र पर्वत जोड्ने उक्त मोटरेबल पुलको पर्वततर्फको मुख्य जगनजिकै निरन्तर पहिरो गएपछि जोखिम बढेको हो।

पुलमा क्षति पुगेपछि आवतजावत ठप्प भएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक खण्डमा पर्ने यो पुल करिब तीन दशकअघि निर्माण गरिएको हो।

नदीको धार परिवर्तन र कटानका कारण यसअघि पनि पुल जोखिममा पर्दै आएको थियो।

कालीगण्डकीमा आएको बाढीले म्याग्दी सदरमुकाम बेनी नगरपालिका–१ आनन्दबगर र थाक्ने बगरमा क्षति पुर्‍याएको छ। थाक्ने बगरको बस्तीसमेत डुबानमा परेको छ।

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बाढीले विद्युतका पोल बगाएको छ भने बेनी–जोमसोम सडकमा ठाउँठाउँमा क्षति पुगेको छ। सडकमा क्षति भएपछि मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको छ।

बेनी–जोमसोम सडकअन्तर्गत खाम भित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ। यही सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर २ भुरूङ–तातोपानीको नौली बगर जोड्ने पुलसमेत बाढीले बगाएको छ।

बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की तटबन्धको एमसिसी भवन नजिकको केही भागसमेत भत्किएको छ। बाढीको तीव्र बहावले तटबन्धमा क्षति पुर्‍याएपछि नदी आसपास थप जोखिम बढेको छ।

कालीगण्डकीमा आएको बाढीले स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल सेतीबेणी बजारसमेत डुबानमा पारेको छ।

शालिग्राम शिलाका कारण देशभर परिचित सेतीबेणी बजार शनिबार दिउँसैदेखि डुब्न थालेको थियो। शनिबार रातिदेखि आइतबारसम्म परेको भीषण वर्षापछि कालीगण्डकीको बहाव बढ्दै गएपछि त्यहाँका ५० घर डुबानमा परेका छन्।

पर्वतको बिहादी गाउँपालिका–६ का ३० र स्याङ्जाको गल्याङ नगरपालिका–५ का २० घर डुबानमा परेका हुन्। आइतबार आएको बाढीले शालिग्राम शिलासमेत डुबाएको थियो।

त्यसैगरी बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मीचौर जोड्ने पक्की पुल बगाएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने उक्त पुल बाढीले जगैदेखि बगाएको हो।

पुल बगेपछि मिर्मी हुँदै स्याङ्जा र गुल्मीबीच हुने यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधनजिकै रहेको उक्त पुल बगेपछि आयोजना क्षेत्रसमेत जोखिममा परेको छ। बाढीका कारण शुक्रबार रातिदेखि १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको थियो।

आयोजनाका अनुसार सञ्चालनमा आएदेखि यति लामो समयसम्म विद्युत् उत्पादन बन्द गर्नुपरेको यो पहिलो पटक हो।

रानीमहलदेखि रिडीसम्म डुबान

कालीगण्डकीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल दरबारसमेत जोखिममा परेको छ।

नदी किनारमा रहेको रानीमहल दरबार डुबानमा परेको छ। दरबार आसपासका एक दर्जनजति होटल, पार्किङ क्षेत्र, बगैँचा लगायतका संरचना पनि बाढीमा डुबेका छन्।

प्रहरी चौकी रानीमहलका अनुसार शनिबार र आइतबार कालीगण्डकीको पानीको सतह सतर्कता तहभन्दा धेरैमाथि पुगेको थियो।

कालीगण्डकीको बहाव बढेपछि गुल्मीको धार्मिकस्थल रिडी पनि डुबानमा परेको छ। रूरू क्षेत्र गाउँपालिका–१ को रूरू–रिडी तटीय क्षेत्र बाढीको चपेटामा परेको हो।

स्थानीयका अनुसार कालीगण्डकीले पाल्पातर्फका एक दर्जन घरटहरा, ऋषिकेश मन्दिर तथा गुल्मीतर्फको खेलमैदान, कभर्डहल र केही व्यापारिक टहरा डुबाएको छ।

कालीगण्डकीमा निर्माण गरिएको पाल्पा, स्याङ्जा र गुल्मी जोड्ने तीनमुखे पुलको माथिल्लो सतहसम्म पानी पुगेको थियो। राम्दीमा पनि बाढीले धर्मशाला र घाट डुबाएको स्थानीयले बताएका छन्।

स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर जोड्ने केलादी पुलसमेत बाढीको जोखिममा परेको छ। कालीगण्डकीको पानी पुलको माथिल्लो सतहबाट बगेको थियो।

तानसेनमा सञ्चालन हुँदै आएको कालीगण्डकी लिफ्ट खानेपानी योजनासमेत बाढीमा डुबेको छ। योजनाको ट्यांकी र विद्युत् ट्रान्सफर्मरहरू डुबानमा परेका छन्।

बाढी पसेपछि पानी फिल्टरमा क्षति पुगेको छ। त्यसैले केही दिन योजना सञ्चालन गर्न कठिनाइ हुने तानसेन खानेपानी उपभोक्ता समितिले जनाएको छ।

कालीगण्डकी कोरिडोरमा यातायात अवरूद्ध

कालीगण्डकी नदी क्षेत्रमा आधा दर्जनभन्दा बढी पक्की तथा झोलुङ्गे पुलमा बाढीले क्षति पुर्‍याएको छ। कालीगण्डकी कोरिडोर र आसपासका अधिकांश ग्रामीण सडकसमेत क्षतिग्रस्त भएका छन्।

नवलपरासी बर्दघाट–सुस्ता पूर्व र तनहुँ जोड्ने कालीगण्डकीमाथिको मोटरेबल पुलको पहुँचमार्गसमेत बाढीले बगाएको छ।

नवलपुरतर्फको पहुँचमार्ग बगेपछि बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिकाबीचको सडक सम्पर्क विच्छेद भएको छ।

यो पुल हुँदै स्थानीय बासिन्दा स्याङ्जा, पोखरा, तनहुँ, नवलपुर र पाल्पासम्म आवतजावत गर्दै आएका थिए।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रमा बाढी पसेको हो। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित बोटे टोलमा मात्रै ११० घर डुबानमा परेका छन्।

गण्डक ब्यारेज हुँदै बगेको नारायणीले पश्चिम नवलपरासीको सुस्ता गाउँसमेत पूर्ण रूपमा डुबाएको छ। कालीगण्डकी तटीय क्षेत्रमा परेको भीषण वर्षापछि आएको बाढीका कारण नेपाल–भारत सीमा क्षेत्रमा रहेको गण्डक ब्यारेजमा समेत पानीको बहाव खतराको तहभन्दा माथि पुगेको छ।

आइतबार अपराह्न ५ बजे गण्डक ब्यारेजबाट प्रतिसेकेन्ड ४ लाख ७९ हजार १०० क्युसेक पानी प्रवाह भएको थियो।

गण्डक ब्यारेजको संरचना पुरानो भएकाले ४ लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिँदै आएको छ।

यसको तुलनामा गण्डकको माथिल्लो तट देवघाटमा आइतबार अपराह्न ५ बजे पानीको बहाव प्रतिसेकेन्ड ६ लाख ५२ हजार क्युसेक मापन गरिएको थियो।

म्याग्दीको पहाडी खोँचबाट सुरू भएको कालीगण्डकीको उर्लिएको पानीसँगै बाढीको क्षतिको श्रृंखला सयौं किलोमिटर तलसम्म फैलिएको छ।

 

  • ११ आश्विन २०८३, आईतवार २२:२२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जितेन्द्र यादवको गाउँको ‘इन्द्र सरोवर’ पर्यटकीयस्थल बनाउन माग ।
    बङ्कुल नाकामा ठूलो ‘राजस्व खेल’को संकेत : १ लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद ।
    राजनीतिक दलका कार्यक्रममा शिक्षक सहभागी भएको भन्दै शिक्षा विकास इकाइले माग्यो कारबाही ।

    ताजा अपडेट

    गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।

    प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३ः१० बजेको समयमा स्थानीय अतिउल्लाको धान खेतमा सोही स्थानका...

    जितेन्द्र यादवको गाउँको ‘इन्द्र सरोवर’ पर्यटकीयस्थल बनाउन माग ।

    प्रेमचन्द्र झा, रौतहट १७ असोज  । मधेश प्रदेशका पूर्वअर्थमन्त्री जितेन्द्र यादव (सुनिल यादव) को...

    • रौतहटमा पोखरीमा डुबेको अवस्थामा २८ वर्षीय युवक मृत फेला ।
    • बङ्कुल नाकामा ठूलो ‘राजस्व खेल’को संकेत : १ लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद ।
    • नेपाली कांग्रेस पुनर्वास वडा नम्बर ३ को अधिवेशन सम्पन्न ।
    • ‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’-मन्त्री बादी ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU