निर्मला पन्तपछि अहिलेसम्म ४५ जनाको बलात्कारपछि हत्या, ३१ प्रतिशत दलित महिला र बालिका
काठमाडौँ ६ चैत्र । बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा पीडितमध्ये सम्भवतः सबैभन्दा धेरैले थाहा पाएको नाम हो- निर्मला पन्त ।
०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्यामा संलग्न व्यक्ति को थिए ? उनको हत्या भएको ८ वर्ष बितिसकेको छ।
प्रहरीले सयौँको डीएनए परीक्षण गरिसकेको छ भने अरू सयौँलाई सोधपुछ गरेको छ। तर दोषी पत्ता लागेको छैन ।
निर्मलाको बलात्कारपछि हत्याको घटनामा देशभर विरोध प्रदर्शन भयो, दोषीलाई कारबाहीको माग गरियो । निर्मलालाई न्याय माग्दै चर्किएको प्रदर्शन रोक्न प्रहरीले गोली चलायो भने प्रहरीको गोली लागेर सनी खुनाको ज्यान नै गुम्यो ।
घटनाको अनुसन्धान गर्न प्रहरीले मात्रै होइन, सरकार, नागरिक समाज र राष्ट्रिय मानवअधिकार आयोगसम्मले अनेक कार्यदल र मिसन बनाए । निर्मलालाई न्याय दिने विषय राजनीतिक मुद्दा बन्यो ।
सरकार फेरिँदैपिच्छे नयाँ गृहमन्त्रीले निर्मलालाई न्याय दिने वचन दिए । तर परिणाम अहिलेसम्म शुन्य बराबर छ- घटनाको दोषी पत्ता लागेको छैन ।
निर्मलाको बलात्कार र हत्या भएको ८ वर्षपछि अहिले फेरि सडकदेखि सदनसम्म एउटा आवाज गुन्जिएको छ- इनिशा विकको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको दायरामा ल्याऊ !
सुर्खेतकी १६ वर्षीया दलित बालिका इनिशा विकको २३ फागुनमा बलात्कारपछि हत्या भएको घटनामा चार जना आरोपितलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । तर पीडित परिवारले प्रहरीप्रति विश्वास गर्न सकेको छैन ।
१६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्याको घटना के हो ?
घटनामा पीडकलाई संरक्षण गर्न लागेको भन्दै राजनीतिक दबाब भएको आशंका चारैतिरबाट व्यक्त भएको छ भने कर्णालीको घटनालाई लिएर पूर्वी तराई र पहाडका जिल्लासम्म पनि विरोध प्रदर्शन भइरहेको छ ।
निर्मला पन्तदेखि इनिशा विकसम्म समय निकै घर्किएको छ । तर समाज भने जहाँको त्यही छ, न त अबोध बालिकामाथि बलात्कार गरी हत्याका क्रूर घटना रोकिएका छन्, न त त्यस्तो अपराधमा दोष लागेकालाई समेत संरक्षण गर्ने प्रवृत्ति नै बदलिएको छ ।
बरु यस्ता जघन्य अपराधका घटनामा सत्य तथ्य पत्ता लगाउन सहयोग गर्नुको सट्टा समाज नै विभाजित भएर पीडकलाई जोगाउन र पीडित परिवारको घाउमा मल्हम थप्न उद्धत हुने प्रवृत्ति बढेको देखिएको छ । समाजको यही प्रवृत्ति हेर्दा कतै हाम्रो समाजको मानवीय संवेदना अन्त्य भइसकेको त होइन ? भन्ने सोच्न समेत बाध्य गराउँछ ।
दलित महिला संघ फेडोकी अध्यक्ष कला स्वर्णकार समय र संसारले गति लिइसक्दा पनि समाजको सोच नफेरिएको प्रति चिन्ता व्यक्त गर्छिन् । ‘बलात्कारपछि हत्याजस्तो अपराधमा पनि न्याय नपाउने र पीडितलाई सान्त्वना पनि नदिने समाज कुन बाटोमा हिँडिरहेको छ?,’ उनी प्रश्न गर्छिन् ।
आखिर समाज कुन बाटोमा हिँडिरहेको हो त ? निर्मलाको बलात्कार र हत्यापछिका ८ वर्षको तथ्यांकलाई केलाउँदा जो कोहीको मनमा यही प्रश्न आउँछ । नेपाल प्रहरीका अनुसार निर्मलादेखि इनिशासम्म करिब आठ वर्षको अवधिमा ४५ जनाको बलात्कारपछि हत्या भएको छ । यसमध्ये अधिकांश बालिका छन् ।

कोसी प्रदेशमा सबैभन्दा धेरै
यस अवधिमा सबैभन्दा धेरै कोसी प्रदेशमा १२ जनाको बलात्कारपछि हत्या भएको छ । मधेशमा ८, कर्णालीमा ६, सुदूरपश्चिममा ७, काठमाडौँ उपत्यकामा ५, बागमती र गण्डकीमा ३-३ र लुम्बिनीमा २ जनाको बलात्कारपछि हत्या भएको छ ।
पीडितमध्ये ३१ प्रतिशत दलित
यस अवधिमा बलात्कारपछि हत्याका पीडितमध्ये ३१ प्रतिशत दलित समुदायका महिला र बालिका छन् । प्रहरीका अनुसार ४५ जना मृतकमध्ये १४ जना दलित समुदायका महिला र बालिका छन् ।
जसमा सुर्खेतकी इनिशा विक र खोटाङकी रेस्मिका परियार, पोखराकी श्रेया सुनारदेखि बझाङकी सम्झना कामी र सुर्खेतकै मनीषा सुनारसम्म रहेका छन् ।
महिला पुनर्स्थापना केन्द्रको तथ्यांकअनुसार जबरजस्ती करणीसम्बन्धी अपराधमा पीडितमध्ये पहाडी दलित १६.१ प्रतिशत र तराई दलित १०.७ प्रतिशत रहेका छन् ।
यही अवधिमा सप्तरीकी पूजाकुमारी रामको यौन हिंसामा परेको तीन वर्षपछि शंकास्पद मृत्यु भएको छ भने सिरहाकी आनन्दी सदाको यौन हिंसा भएको ४ महिनापछि झुन्डिएको अवस्थामा शंकास्पद मृत्यु भएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया