संसद् विघटनको विपक्षमा उभियो कांग्रेस, संविधान विपरीतको कदम चालिएको भन्दै असन्तुष्टि
काठमाडौं २८ भाद्न । नेपाली कांग्रेसले संसद् विघटनको विपक्षमा उभिने निर्णय गरेको छ। संसद् विघटनलाई असंवैधानिक भन्दै कांग्रेसले विपक्षमा उभिने निर्णय गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा शुक्रबार भर्चुअलमाध्यममा बसेको कार्यसम्पादन समितिको बैठकले संविधान संशोधन गरेरै जेनजीका मागअनुसार प्रधानमन्त्री बनाउन तयार रहे पनि संविधान विपरीतको कदम चालिएको भन्दै असन्तुष्टि जनाएको हो ।
बैठकमा कांग्रेसका सात प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरू आमन्त्रित सदस्यको रूपमा सहभागी भएका थिए । ‘संविधानको संरक्षक र पालनकर्ताका रूपमा आवश्यकताको सिद्धान्त अनुरूप जेनजीले प्रस्तावित गरेको व्यक्तिको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई संविधानसम्मत् बनाउन संसद्बाट संविधान संशोधन गर्ने, नयाँ सरकारले नयाँ निर्वाचन घोषणा गर्ने हाम्रो प्रस्तावले राजनैतिक निकासमा पुर्याउने थियो,’ कांग्रेस बैठकको निर्णयमा भनिएको छ, ‘हामीले गरेको यो प्रस्तावमा सबैको जीत र अपनत्व हुन्थ्यो, आन्दोलनकारीको माग अनुसारको प्रधानमन्त्री नियुक्त हुन्थ्यो र मुख्य कुरा यो प्रक्रिया अवलम्बन गर्दा संविधानलाई टेकेर समाधान निस्कन्थ्यो । यसरी जेनजीको आन्दोलनको माग पनि सम्बोधन हुने र निर्णय संविधानसम्मत पनि हुँदा सर्वस्वीकार्य हुने अवस्था रहँदा रहँदै सहमति पूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी संविधानविपरीत निर्णयमा पुग्नु दु:खद छ ।’
जेनजीको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलको अग्रसरतामा समाधान खोज्नुपर्ने निर्णय कांग्रेसले यसअघि नै गरेको पनि विज्ञप्तिमा उल्लेख छ । विद्यमान बेथिति अन्त्य गर्न संविधानभित्रैबाटै समाधानको पक्षमा आफूहरू रहेको कांग्रेसले जनाएको छ ।
‘नेपाली कांग्रेसले जिम्मेवार ढंगले आग्रह गरेको थियो– ‘राष्ट्रपतिज्यूले लिएको पहललाई जेनजी पुस्ताको माग र भावना बमोजिम नै निष्कर्षमा पुर्याउनु पर्छ र जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिनुपर्छ,’ कांग्रेसले भनेको छ, ‘त्यसो गर्दैगर्दा बदलिएको परिस्थिति बमोजिमको समाधानमुखी सहमतिलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडि बढाउन सकिने हाम्रो सुझाव थियो । संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै विद्यमान बेथिति अन्त्यको मार्गचित्र तय गर्न नेपाली कांग्रेसको साथ रहने हाम्रो प्रतिबद्धता थियो ।’
कांग्रेसले संसद् विघटनलाई सर्वोच्च अदालतको व्याख्याविपरीत भनेको छ । ‘संसद् विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्याविपरीत छ, संविधान सम्मत विल्कुल छैन । यो कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको छ भने अर्कातर्फ जेनजी आन्दोलनको भावना र मर्मले मृत्युवरण गर्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ,’ कांग्रेसले भनेको छ, ‘भदौ २३ र २४ मा भएको अप्रिय र अनपेक्षित घटनाको छानबिन गरी कारबाहीको दायरामा ल्याउँदै पुनर्निर्माणमा जुट्नुपर्ने र संविधानसभाले निर्माण गरेको संविधान, त्यसले लिपिबद्ध गरेका परिवर्तन र उपलब्धिलाई जोगाउनुपर्नेछ ।’
संविधानलाई लिक बाहिर जान नदिने कांग्रेसले अग्रसरता लिने निर्णय पनि गरेको छ । ‘यस्तो चुनौतीपूर्ण अवस्थामा स्थितिलाई थप बिग्रिन नदिन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई लिक बाहिर जान नदिन नेपाली कांग्रेसले पार्टीभित्र, अन्य राजनीतिक दल तथा नागरिक समाज लगायतसँग समेत परामर्श र संवाद गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिका पक्षमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने निर्णय गरिएको छ,’ कांग्रेसले भनेको छ ।
बैठकले पछिल्लो आन्दोलनमा जीवन गुमाएका युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । सम्पूर्ण घाइतेको उपचार प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सिंहदरबारसहित देशभर जलेका राज्य, निजीक्षेत्र र समग्र संरचनाको क्षति आंकलन गर्दै अविलम्ब पुनर्निर्माण लागत र योजना तर्जुमा गर्न ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।
बदलिएको परिस्थितिमा संयम र एकता राख्न स्वदेश र विदेशमा रहेका सदस्य, शुभचिन्तक र समस्त नेपालीमा पुन: अपील गरेको छ ।
एकातिर उत्तेजना फैलने र अर्कोतर्फ संवैधानिक रिक्ततामा टेकेर जनताले दशकौंको संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धि उल्ट्याउने दुष्प्रयास नहोस् भन्नेतर्फ सचेततापूर्वक ध्यान दिने पनि कांग्रेसको भनाइ छ ।
-लोकान्तरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया