मन्त्री बनाउन रेसम र रञ्जिता बिच तीब्र मतभेद
निराजन परियार

नागरिक उन्मुक्ति पार्टीभित्र मन्त्री छान्ने विषयमा विवाद चुलिएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेपनि बिवाद सुरु भएको हो ।
पार्टीका संस्थापक रेशम चौधरी पक्षले घनश्याम चौधरीलाई मन्त्री बनाउने तयारी गरिरहेको छ। यसअघि कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री थिए।
सुदूरपश्चिम प्रदेश सरकारमा उन्मुक्ति पार्टीको भागमा रहेको मन्त्रालय लामो समयदेखि मन्त्रीविहीन थियो। पार्टीभित्रको विवादले मन्त्री पठाउन ढिलाइ भएको हो।
अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादका कारण पार्टी गुटमा विभाजित भएको छ।
नागरिक उन्मुक्ति पार्टीभित्र फेरि आन्तरिक विवाद चुलिएको छ। पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउने प्रस्तावसहित सरकारलाई पत्र पठाएको थियो । पार्टी संस्थापक रेशम चौधरीको पक्षले भने घनश्याम चौधरीलाई मन्त्री बनाउने तयारी गरिरहेको स्रोतले जनाएको छ।
पार्टी स्रोतका अनुसार अध्यक्ष रञ्जिताले हिजो कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गर्दै सुदूरपश्चिम प्रदेश सरकारसमक्ष औपचारिक पत्र पठाएको थियो । तर, रेशम चौधरी पक्षले उक्त सिफारिसलाई मान्यता नदिँदै घनश्याम चौधरीको नाम अघि सारेको बताइएको छ।
घनश्याम चौधरी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता हुन्। सुदूरपश्चिम सरकारमा उन्मुक्ति पार्टीको भागमा रहेको मन्त्रालय एक महिना बढी समयदेखि मन्त्रीविहीन थियो। मन्त्री पठाउने विषयमा नागरिक उन्मुक्तिभित्र लामो समयदेखि निर्णय भएको थिएन। धनगढीमा संरक्षक रेशमलाल चौधरीसहित अध्यक्ष श्रेष्ठ र सांसदहरूबिच यस विषयमा छलफल भए पनि निर्णय हुन सकेको थिएन।
मंगलवार प्रदेश संसदीय दलको बैठक बसेको थियो। बैठकपछि प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अध्यक्ष श्रेष्ठलाई मन्त्रीको नाम सिफारिसका लागि पत्राचार गर्नुभएको थियो । त्यसको भोलीपल्ट बुधवार मन्त्री बन्ने सासंदको नाम टुङ्गो लगाइएको थियो।
सिफारिस भएका सांसद चौधरीले प्रदेश संसदीय दलको नेतालाई समेत जानकारी गराई मन्त्रीका लागि आफ्नो नाम अध्यक्षबाट सिफारिस भई मुख्यमन्त्री कार्यालयमा गएको बताउनुभएको थियो । तर, रेशम पक्षले भने त्यो निर्णय अन्तिम निर्णय नभएको बताइएको छ।
नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबिच विगत केहि समययता विवाद देखिँदै आएको छ। श्रीमान्, श्रीमतीसमेत रहेका श्रेष्ठ र चौधरीबिच विवाद हुँदा पार्टीसमेत गुटको सिकार बनेको बताइएको छ।
७ जना प्रदेश सभा सदस्यमध्ये पार्टी संरक्षक रेशमलाल चौधरी निकट संसदीय दलका नेता घनश्याम चौधरीसहित ५ जना देखिन्छन् । बाँकी २ जना श्रेष्ठ निकट देखिन्छन् । रेशम पक्षधर सांसदहरुले नयाँ तथा जिम्मेवारी नपाएका सांसदलाई मन्त्रीको लागि पठाउनुपर्ने अडानमा रहेका छन् । उसो त कैलाश चौधरी यसअघि दुई पटक मन्त्री बनिसकेका छन् ।
दलका नेता घनश्याम चौधरीले बहुमत सदस्यको निर्णय अनुसार मन्त्रीको लागि मुख्यमन्त्री कार्यालयलाई पत्रचार गर्ने बताउनुभयो ।
सुदूरपश्चिम सरकारमा नाउपाको भागमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी हो । विवादित अडियो प्रकरणमा नाउपाबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका लक्ष्मण किशोर चौधरीले चैत्र १६ गते राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा दिएको डेढ महिनासम्म पनि नाउपाले अर्को मन्त्री पठाउन सकेको छैन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया