छठको अवसरमा कमलपोखरी र गुह्येश्वरी पुगेर राष्ट्रपतिले दिए अस्ताउँदो सूर्यलाई अर्घ्य
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठपर्वको उपलक्ष्यमा आइतबार साँझ उनले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा पनि पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।
काठमाडौं उपत्यकाका कमलपोखरी, गुह्येश्वरीको गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजा भइरहेको छ ।
काठमाडौं महानगरपालिकाद्वारा कमलपोखरीमा आयोजित छठपूजामा उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले समेत छठीमाताको पूजा गरेका छन् ।
छठ पूजाका लागि पोखरी ध्वजापताकाले सिंगारिनुका साथै झिलीमिली बत्ती जडान गरिएको छ । महानगरपालिका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोल पनि छठीमाताको पूजाअर्चनाका लागि कमलपोखरी पुगेका थिए ।
भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । ललितपुरको कुपण्डोललगायत क्षेत्रमा पनि छठ पूजाको रौनक बढेको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकांक्षा पूरा हुने तथा सम्पूर्ण दुःखकष्ट हटेर जाने जनविश्वास छ ।
यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठपर्वको उपलक्ष्यमा पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सक्खरको खीर बनाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ ।
कान्तिपुर पाेस्ट बाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया