राज्य व्यवस्था समितिको टोली भूकम्प प्रभावित क्षेत्रमा, राहत वितरण व्यवस्थित गर्न निर्देशन
काठमाडौँ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सांसदहरुको टोली भूकम्पबाट भएको क्षतिको अवलोकन तथा राहत र उद्धार कार्यको अनुगमनका लागि प्रभावित क्षेत्र पुगेको छ । समितिको टोलीले बुधबार विहान सुर्खेतलाई केन्द्र बनाएर भइरहेको राहत संकलन र व्यवस्थापनको कामको अनुगमन गरेको छ ।
![]()
समितिका सभापति खतिवडाले राहत वितरणलाई शीघ्र व्यवस्थित गर्न निर्देशन दिइएको बताए । ‘भूकम्पबाट अहिलेसम्म करिब १६ हजार घरहरू पूर्ण क्षति भएको तथ्य रहेछ । करिब २ अर्ब ५५ करोड बराबरको धनमालको क्षति भएको आकलन पाइयो,’ खतिवडाले इकान्तिपुरसँग भने, ‘भूकम्पमा मृत्यु भएका १५३ मध्ये अब एक जनाकोमात्रै अन्तिम संस्कार हुन बाँकी रहेछ । त्यसपछि सबैको ध्यान राहत र घाइतेको उपचारमा केन्द्रित गर्नुपर्ने देखिएको छ ।’
सभापति खतिवडाका अनुसार समितिले सरकारलाई कुनै आर्थिक व्ययभार नगरी स्थलगत अनुगमन र सरकारको ध्यानाकर्षण गराउन लागेको हो । ‘हामी आफ्नै खर्चमा यहाँसम्म आएका छौँ । प्रभावित क्षेत्रमा पुगेर पनि त्यहाँको संरचनामा काम गरिरहेका कसैलाई पनि असर पुर्याउँदैनौँ,’ उनले भने, ‘भीआइपीहरू आउने र त्यसकाकारण यहाँको प्रशासनिक संरचनामा असर पर्ने अवस्था भयो भने राहत वितरण र व्यवस्थापन प्रभावित हुन्छ भन्ने सबैको चिन्ता देखिन्छ । तर हामी अल्मल्याउने भन्दा पनि यहाँका जनताको दुःखमा मल्हम लगाउने काममा सरकारलाई सघाउन यहाँ आइपुगेका छौँ ।’
सांसदहरूले बुधबार बिहान सुर्खेतमै रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेको छ । सो क्रममा राहात वितरण एवं आवश्यक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा तयारी हालतमा राखिएको, सबै घाइतेको उपचार भइरहेको, हाल एकजना घाइतेमात्र आइसियुमा रहेका र अहिले अस्पतालमा ९९ जना घाइते उपचाररत रहेको पाइएको सभापति खतिवडाले जानकारी दिए ।
टोलीमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू, एमाले सांसद कृष्णप्रसाद श्रेष्ठ, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङलगायत सांसद्हरू सहभागी छन् ।
कान्तिपुर पाेस्ट बाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया