सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

‘खल्लो हुन्छ दसैं, राम्ररी नमनाएको त १५ वर्षै भयो’

दिलबहादुर सुनार (राजु) लाई यसपालि दसैं मनाउने बिदा मिलेन। उनले राम्ररी दसैं मनाउन नपाएको १५ वर्ष भयो। उनी परदेशी भएको पनि त्यति नै वर्ष बिते।

दसैं हिन्दु नेपालीहरूका लागि परिवारको मिलन हुने पर्व हो। जति नै टाढा भए पनि दसैंमा पारिवारिक जमघटका लागि घर फर्किने र रमाइलो गर्ने चलन छ।

तर परदेशी भएयता राजुका धेरै दसैं खल्लो भएका छन्। सन् २००९ मा कतार गएका उनले यसबीच दुईपटक मात्रै घरपरिवारसँगै दसैं मनाउन पाए।

‘परिवार र आफन्तको सम्झना बोकेर परदेशमा काम गर्न बाध्य छु,’ उनले भने, ‘मेरो जस्तै बाध्यता धेरै साथीहरूको छ।’

उनी दोहास्थित औद्योगिक क्षेत्रमा क्रेन चलाउँछन्। उनलाई दसैं मनाउनकै लागि भनेर बिदा कहिल्यै मिल्दैन।

संयोगले बिदा मिल्दा सन् २०११ र २०१९ मा आफूले दसैं मनाउन पाएको उनी सम्झिन्छन्।

सन् २०११ मा उनलाई तिहारसम्मकै बिदा थियो। मुस्किलले पाएको बिदामा त्यो वर्ष दसैं मनाउँदाको अनुभव भने नरमाइलो छ।

राजुको परिवारमा स्थानीय परम्परा अनुसार मन्दिरमा टीका चढाएपछि मात्र टीका लगाइन्छ। त्यो वर्ष राजुको घरमा टीकाको सबै तयारी थियो। उनी टीका लिन मन्दिर गए।

टीका लिएर घर पुग्दा उनका छोरा थिएनन्। बोलाउँदा पनि बोलेनन्। खोजी सुरू भयो। राजु निकै आत्तिए। हंसले ठाउँ छाडिसकेको थियो।

दौडधूप गर्दै खोज्दा निकै बेरपछि छोरा र भाञ्जा टिभी हेरेर बसेका भेटिएछन्।

‘मलाई छोरो नभेटिएको रिसको पारो चढेछ। आवेगमा छोरा र भाञ्जालाई नराम्रोसँग पिटेछु,’ उनी सम्झिन्छन्, ‘छोराले नराम्रो मान्यो। पछि टीका पनि लगाउन मानेन। भाञ्जाले पनि अरू सबैले टीका लगाएर दक्षिणा र आशीर्वाद दिनुभयो, मामाले भकुर्नुभयो भन्ने गुनासो गर्नुभएछ।’

पछि फकाएर उनले छोरालाई टीका लगाइदिए। आशीर्वाद पनि दिए। छोरालाई कुटेको सम्झेर आफैं रोए पनि।

‘म पनि परिवारसँग रमाइलो गर्न भनेर परदेशबाट गएको। तर छोराले त्यसो गरेपछि आवेगमा आएछु। त्यो क्षण सम्झिँदा अहिले पनि भक्कानो फुट्छ। त्यो दुःखदायी क्षण म सम्झिनँ चाहन्नँ तर कहिल्यै बिर्सिन पनि सक्दिनँ,’ उनले भने।

सन् २०१९ को दसैंमा भने धेरै बिदा थिएन।

त्यो बेला त पूर्णिमाकै दिन उनी आँशु खसाउँदै झोला बोकेर फर्किए।

चौध वर्षको अवधिमा उनको दसैं अनुभव यत्ति हो।

बिदा मिलिहाले पनि कहिले असार, कहिले साउन त कहिले अरू नै महिना पर्छ। एकपटक चैतमा बिदा मिलेको थियो। त्यस बेला उनले गाउँमा चैते दसैं मनाउन पाएका थिए।

‘त्यही भए पनि मनाउन पाइयो भन्ने हुन्छ कहिलेकाहीँ। परदेशमा कामको मात्रै चासो हुन्छ,’ उनले भने, ‘बरू इदमा बिदा मिल्छ। त्यति बेला साथीभाइसँग रमाइलो गर्न पाइन्छ। दसैंमा त ड्युटी गर्नुपर्छ।’

उनका अनुसार दोहामा इदको अवसरमा उनीहरूले तीन दिन बिदा पाउँछन्। त्यसैले नेपालीहरूलाई त्यो समय रमाइलो गर्ने अवसर हुन्छ।

‘एकपटक इद र दसैं सँगसँगै जस्तो परेको थियो। त्यो बेला चाहिँ साथीभाइ जम्मा भएर दसैंमा रमाइलो गर्ने मौका मिलेको थियो,’ उनले भने।

त्यो बेला उनीहरूले सिंगै खसी किनेर मासु खाएका थिए। आफूआफू टीका पनि लगाएको उनी सम्झिन्छन्।

परदेशमा जति सम्झना सँगाले पनि गाउँघरको चर्के पिङ, लिंगे पिङ, परिवारको हाँसो र आफन्तहरूको आशीर्वादको यादले उनलाई पोलिरहन्छ।

‘आफूभन्दा ठूलाबडाहरूसँग टीका, जमरा र आशीर्वाद थाप्दै आफन्तहरूको घरघर डुलेको याद आउँछ। आफ्नो संस्कृति कहाँ भुल्न सकिन्छ र,’ राजुले भने, ‘बरू धेरै सम्झिइन्छ। परिस्थिति अनुकूल नहुँदा देश फर्किन पाइँदैन, दुःख लाग्छ।’

उनको घरमा आमा, श्रीमती, बुहारी, छोराछोरी छन्। बुबा भारतीय सेनामा थिए। अवकाश लगत्तै, २५ वर्षअघि बुबाको निधन भएको हो। उनका भाइ पनि विदेशमै छन्।

२०३५ सालमा जन्मेका राजुको उमेरले साढे चार दशक नाघिसक्यो। डेढ दशक त परदेशमै बिताइसके। परिवारकै खुसीका लागि उनी आफ्नो उमेरको समेत ख्याल नराखी काम गरिरहेका छन्।

आफ्नो जीवनको समय हिसाब गर्दै भने, ‘ओहो! उमेर त साढे चार दशक भएछ। दसैं सम्झिँदा जीवनको उत्तरार्द्धतिर पुगेको सम्झना पो गरायो। तर वर्ष त गन्नका लागि नम्बर मात्रै हो। मनोबल उच्च बनाएर काम गर्ने हो।’

कतार जानुअघि उनी नेपालमै गाडी चलाउँथे। २०६३ भदौ २० गतेको कुरा, चलाइरहेको गाडी पल्टियो। गाडीमा साहुसहित १२ जना थिए। गाडीमा सवार एक जनाको हात भाँचियो। अर्कोको टाउकोमा चोट लाग्यो। राजुसहित अरू सामान्य घाइते भए।

मानवीय क्षति नभए पनि गाडी बिग्रियो। त्यो दुर्घटनाले गाडी साहु र उनलाई नोक्सान पुर्‍यायो। राजुकी आमा र श्रीमतीले गाडी नचलाउन भने। त्यसपछि दुःखका दिन सुरू भए। अनि राजुको परदेशको कथा सुरू भयो।

सुरूमा उनी साधारण कामदार भिसामा कतार गएका थिए। गाडी चलाउने सीप भएकाले पछि क्रेन चलाउन थालेका हुन्।

‘मलाई यहाँसम्म बहिनीज्वाइँले ल्याउनुभएको हो। सुरूमा केही महिना भिसाअनुसारकै काम गरेँ। पछि आफ्नो सीपअनुसारको काम गर्न थालेँ,’ उनले सुनाए।

भर्खरै उनले कम्पनी परिवर्तन गरेर काम गरिरहेका छन्। पुरानो कम्पनीले तलब नदिएका कारण कम्पनी फेर्नुपरेको हो। पुरानो कम्पनीले उनलाई लगभग २५ लाख रूपैयाँ तलब दिन बाँकी छ। यसबारे त्यहाँको श्रम अदालतमा एक वर्षदेखि मुद्दा चलिरहेको पनि उनले बताए।

यसको सुनुवाइ कहिले हुन्छ, उनलाई थाहा छैन। तर आफ्नो पसिनाको कमाइ सम्झिँदा भावुक हुन्छन्।

परदेशका अनेक दुःखले भन्दा बढी छटपटी भने उनलाई चाडबाडको समयमा घर जान नपाउँदा हुन्छ।

भन्छन्, ‘परदेश नै घर भएको छ। घर चाहिँ छुट्टी मनाउने स्थान जस्तै भएको छ। तर चाडबाडमै जान नपाउँदा साह्रै नरमाइलो लाग्छ। १५ वर्ष भयो राम्ररी दसैं मनाउन नपाएको!’

सेताेपाटी पाेस्ट बाट

  • ५ कार्तिक २०८०, आईतवार १४:१३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU