सानेपामा जारी बीपी साहित्य सम्मेलनको कार्यक्रम तथा झलकहरु
काठमाडौं। नेपाली कांग्रेसको आयोजनामा तथा नेपाली लेखक संघ,नेपाल सांस्कृतिक महासंघ, फाइन आर्ट र निरन्तर शनिबारको आयोजनामा आज आईतवारदेखि ‘बीपी साहित्य सम्मेलन –२०८०’ शुरु भएको छ।

नेपाली साहित्यका शिखर पुरुष महामानव बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपा ललितपुरमा आयोजना भएको महोत्सवमा १५ वटा शीर्षकमा कार्यपत्र पेश हुँदैछन् । त्यसका अतिरिक्त डकुमेन्ट्री, कविता, गजल र सांगीतिक प्रस्तुतिहरु रहेका छन्।

महोत्सवको पहिलो दिन ‘हाईज्याकिङ फर डेमोक्रेस’ डकुमेन्ट्री प्रस्तुत गरिएको छ। त्यस लगत्तै महोत्सवको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महोत्सवको भव्य समारोहबीच उद्घाटन गरेका छन्।

महोत्सवको पहिलो दिन प्रा।डा। अभि सुवेदीको ‘बीपी साहित्य सृजना र जीवन दर्शन’ विषयमा सम्भाषण प्रस्तुत भएको छ। त्यसपछिको सत्रमा ‘बीपीका दृष्टिमा बीपी’ विषयमा साहित्यकार भुवन ढुंगाना, प्राध्यापक कृष्ण खनाल, लेखक सीके लालको प्रस्तुति सकिएको छ ।

त्यस्तै आजकै अर्को सत्रमा साहित्यकारहरू राम लोहनी, कोमल फुयाल र साधना प्रतिक्षाले ‘बीपीका आख्यानमा मनोविश्लेषण’ विषयमा भनाइ राखिरहेका छन् ।

यसपछि ‘साहित्यमा पर्यावरण’ विषयमा अम्मराज लोहनी, तीर्थबहादुर श्रेष्ठ र संगीता रायामाझीको प्रस्तुति हुनेछ। आइतबारको अन्तिम सत्रमा बमकुमार वुढामगर, अमृत योञ्जन र चन्द्र किशोरले ‘नेपालको मातृभाषा साहित्य’ विषयमा विचार राख्ने छन् । आज साँझ २० जना कवि र कवयित्रीले कविता वाचन गर्नेछन् ।

महोत्सवको पहिलो दिन कार्यक्रमको संचालन सहमहामन्त्री बद्री प्रसाद पाण्डेले गरेका छन् ।
महोत्सवको दोस्रो दिन बिहान ९ बजे ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरिने भएको छ। त्यसपछि प्रख्यात प्राध्यापक आनन्दकुमारले ‘मार्क्स, गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गर्नेछन्।

सोमबार नै हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा मन्तव्य राख्ने छन्। सोमबार दिउँसो २ बजे पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्वमन्त्री डा। नारायण खड्का, प्रदीप ज्ञवाली र ईन्द्र अधिकारीले ‘अन्तराष्ट्रिय राजनीति र कुटनीतिमा बीपी’ विषयमा मन्तव्य राख्ने कार्यक्रम रहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन्।

त्यसपछि सोमबारको अन्तिम प्रस्तुतिको रुपमा साहित्यकारहरू बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा, सुविन भट्टराईले ‘युवा स्रष्टामा बीपी पठन’ विषयमा प्रस्तुति हुनेछ । सोमबार साँझ ३० जना गजलकारहरूले गजल साँझमा जोडदार प्रस्तुति दिनेछन्।

महोत्सवको तेश्रो तथा अन्ति दिन बिहान ९ बजे ‘तीन घुम्ती’ चलचित्र प्रस्तुति गरिने भएको छ। तेस्रो दिनको पहिलो सत्रमा प्रा।डा। केदारभक्त माथेमाले बीपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा सम्भाषण दिनेछन् ।

दिउँसो १२ बजे चित्रलेखा यादव, आहुति र मोहना अन्सारीले ‘समावेशिता, सामाजिक रुपान्तरण र बीपी’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। ‘समय र सवाल्र्टन’ विषयमा शिव रिजाल, तारालाल श्रेष्ठ र धनकुमारी सुनारले मन्तव्य राख्ने कार्यक्रम छ। दिउँसो साढे २ बजे ‘बीपीका आख्यानमा नारी’ विषयमा नारायण चालिसे, रेणुका थापा, ज्ञानु अधिकारी र उमा सुवेदीले आफ्नो भनाई प्रस्तुत हुनेछ ।

महोत्सवको अन्तिम दिन ‘परिवारले बुझेका बीपी’ विषयमा डा।शेखर कोइराला, सुजाता कोइराला र डा। शशांक कोइरालाले भनाई राख्नेछन्। महोत्सवको अन्तिम दिन कुटुम्ब व्याण्डले सांगीतिक प्रस्तुति दिने भएको छ ।
महोत्सवको बीचमा मुकेश मल्ल, सुनिता राणा, प्रमिला परियार, भीषण राजभण्डारी, किरण सिगु, किरण मानन्धर, नगेनसिंह ठकुरी, विजय थापा, जजुकाजी श्रेष्ठ, रविन कोइराला, धनबहादुर याख्खा र महेश आचार्यले वक्ताहरूको लाईभ आर्ट गर्नेछन्। महोत्सव सम्पन्न गर्न पार्टीले सहमहामन्त्री बद्री प्रसाद पाण्डेको संयोजकत्वमा महोत्सव तयारी समिति गठन गरेको छ ।

महोत्सवलाई सफल बनाउन पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले विभागका ११ जना सदस्यहरूलाई संयोजकको जिम्मेवारी तोकेको छ । ‘बीपी साहित्य महोत्सव –२०८०’को पार्टी सभापति शेरबहादुर देउवाले गमलामा रोपिएको फुलमा जल चढाएर उद्घाटन गरेका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया